
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्ना तीन जना सांसदको व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) फिर्ता बोलाइएको भनेर असन्तुष्टि जनाएको छ ।
राप्रपाका अनुसार प्रमुख सचेतक ज्ञानबहादुर शाही, पूर्वाधार विकास समिति सभापति दीपक सिंह र पूर्वकानूनमन्त्री ध्रुवबहादुर प्रधानका पीएसओ फिर्ता बोलाइएको उनीहरूको भनाइ छ ।
तर, प्रहरीले भने उनीहरूलाई फिर्ता बोलाएको नभएर नियमित ब्रिफिङका लागि बोलाइएको जनाएको । प्रहरी प्रवक्ता, एसएसपी रमेश थापाले भने, ‘उहाँहरूलाई नियमित ब्रिफिङका लागि बोलाइएको हो । यो सामान्य प्रक्रिया हो ।’
गृह मन्त्रालयका दलका सचेतक, ससंदीय समितिका सभापति र केही पूर्वमन्त्रीहरूलाई पीएसओ दिने गर्छ ।
बिहीबार राप्रपा लगायतका राजावादी दल र समूहले काठमाडौंमा प्रदर्शन गर्ने तयारी गरेका छन् । त्यसैको पूर्वसन्ध्यामा प्रहरी प्रधान कार्यालयले पीएसओहरूलाई ब्रिफिङमा बोलाएको हो ।