१० असार २०८३, बुधबार
रौतहट घटना

आलमलाई सफाइ दिन उच्च अदालतले लिएका ३ आधार– बम विस्फोटको वारदात नै पुष्टि हुन सकेन !

जेठ १४, २०८२
काठमाडौं
आलमलाई सफाइ दिन उच्च अदालतले लिएका ३ आधार– बम विस्फोटको वारदात नै पुष्टि हुन सकेन !

कांग्रेस नेतासमेत रहेका पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई सफाइ दिने क्रममा उच्च अदालतले वारदात नै पुष्टि हुन नसकेको विषयलाई प्रमुख आधार मानेको पाइएको छ ।

आलमको घरमा बम विस्फोट भएको भन्ने कुरा वस्तुनिष्ठ आधार तथा प्रमाणले पुष्टि हुन नसकेको अदालतको ठहर छ ।

उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीशद्वय खुशीप्रसाद थारू र अर्जुन महर्जनको स‌ंयुक्त इजलासले बुधबार आलमका अलावा उनका भाइ मोहम्मद महताब आलम, शेख सेराज भन्ने शेख सराज र बद्री सहनीलाई बुधबार सफाइ दिएको हो ।

उच्च अदालत वीरगञ्ज इजलासका रजिस्ट्रार दीपक भण्डारीका अनुसार सफाइ दिने क्रममा मुख्यरूपमा तीनवटा आधार लिइएको छ ।

‘२०६४ चैत २७ गते मोहम्मद अफताब आलमको घरमा बम विस्फोट भएको वारदात नै वस्तुनिष्ठ प्रमाणले पुष्टि हुन नसकेको, वम विस्फोटका घाइते भनिएका पिन्टु भनिने त्रिलोकप्रताप सिंह र ओसी अख्तरलाई ट्याक्टरमा हाली राजा इँटा भट्टामा लगेर पोलेको भन्ने ठोस प्रमाण पेश गर्न नसकेको र विधि विज्ञान परीक्षण प्रतिवेदनबाट मृतकलाई  इँटा भट्टामा पोलिएको दाबी पुष्टि हुन नसकेको भन्ने मुख्य ३ वटा आधार लिइएको छ,’ रजिस्ट्रार अधिकारीले फैसलाको राय किताब पढेर लोकान्तरसँग भने ।

२०६४ को संविधानसभा निर्वाचनताका आफ्नै घरमा भएको बम विस्फोटका घाइते कार्यकर्तालाई इँटाभट्टामा जिउँदै जलाएको अभियोग आलममाथि थियो ।

चुनावको अघिल्लो दिन बुथ कब्जाको तयारी स्वरूप बम बनाउँदै गर्दा विस्फोट भएको दाबी वादी नेपाल सरकारको थियो ।

त्यसको पोल खुल्ने डरले घाइतेहरूलाई इँटा भट्टामा हालेर जलाएको जिकिर अभियोग पत्रमा गरिएको थियो ।

२०८१ वैशाखमा रौतहट जिल्ला अदालतले आलमलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो ।

अहिले उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले आलमसहित ४ जनाको हकमा रौतहट जिल्ला अदालतको फैसला उल्ट्याएको हो ।

पढ्नुहोस्, यो पनि :

सरकारी वकिलसामु आलमका ५ घण्टा : ३४ प्रश्न, जवाफ एउटै – केही भएकै छैन !

अदालतमा जे देखियो : इजलासमै आलमले सोधे – यो न्यायाधीश कस्तो हो ?

salt training

कमेन्ट गर्नुहोस्