
लुम्बिनी प्रदेश सरकार, मन्त्रिपरिषद् बैठकले विभिन्न विषयमा महत्त्वपूर्ण निर्णयहरू गरेको छ ।
बुधबार सम्पन्न बैठकले जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालनसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रदेशसभा समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
त्यसैगरी, स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधासम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक पनि प्रदेशसभा समक्ष पेश गर्न स्वीकृति दिइएको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए ।
साथै, बैठकले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमार्फत जीवनासक विषादी निरीक्षकहरूको कार्यक्षेत्र हेरफेर तथा थप गर्ने निर्णय गरेको छ ।