०५ साउन २०८३, मंगलबार

बाजुराको मुक्तिकोटमा भारतको सहयोगमा कृषि प्रवद्र्धन केन्द्रको शिलान्यास

जेठ १४, २०८२
काठमाडौं
बाजुराको मुक्तिकोटमा भारतको सहयोगमा कृषि प्रवद्र्धन केन्द्रको शिलान्यास

 भारत सरकारको आर्थिक सहयोगमा बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–१ स्थित मुक्तिकोटमा कृषि प्रवद्र्धन केन्द्रको भवन निर्माण कार्य सुरु भएको छ। भवन निर्माणको शिलान्यास सोमबार गाउँपालिका अध्यक्ष भरत बहादुर रोकाया र नेपालस्थित भारतीय राजदूतावासका काउन्सिलर अविनाश कुमार सिंहले संयुक्त रूपमा गरेका हुन्।

नेपाल–भारत विकास सहकार्य कार्यक्रमअन्तर्गत भारत सरकारले ३ करोड १४ लाख १० हजार रुपैयाँ बराबरको आर्थिक सहयोगमा उक्त भवन निर्माण गर्न लागेको हो।

यो केन्द्र खाद्यान्न सङ्कलन तथा वितरणका लागि प्रयोग गरिनेछ। भवनमा अन्न भण्डारण, वितरण डेस्क, रेकर्ड रुमसहितका संरचनाहरू निर्माण गरिने जनाइएको छ। परियोजना स्वामीकार्तिक खापर गाउँपालिकामार्फत कार्यान्वयन हुनेछ।

शिलान्यास कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी तथा स्थानीय समुदायका सदस्यहरूको उल्लेखनीय उपस्थिति थियो। कार्यक्रममा बोल्दै स्थानीय प्रतिनिधिहरूले भारत सरकारले गर्दै आएको विकास सहकार्यप्रति कृतज्ञता व्यक्त गरे। उनले उक्त केन्द्रले दुर्गम हिमाली क्षेत्रमा कृषि उत्पादनको उचित सङ्कलन र दीर्घकालीन भण्डारणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

भारतले सन् २००३ यता नेपालभर ५७३ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइसकेको छ, जसमध्ये ४९५ वटा सम्पन्न भइसकेका छन्। सुदूरपश्चिम प्रदेशमा मात्रै ४३ वटा परियोजनाहरू कार्यान्वयन भइरहेका छन् भने बाजुरामा २ वटा परियोजनाहरू छन्।

यसबाहेक, भारत सरकारले नेपालभरका स्वास्थ्य तथा शैक्षिक संस्थालाई १००९ एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहारस्वरूप प्रदान गरिसकेको छ। बाजुरामा मात्रै ३ वटा एम्बुलेन्स र १ वटा स्कुल बस भारतले उपहारस्वरूप प्रदान गरेको छ।

भारत र नेपालबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने क्रममा उच्च प्रभाव सामुदायिक विकास परियोजनाले नेपाली जनताको जीवनस्तर उकास्न मद्दत पु-याउने भारतीय पक्षको विश्वास छ। भारतले नेपालको प्राथमिकतामा आधारित विकास प्रयासहरूमा सधैँ सहकार्य गर्ने प्रतिबद्धता समेत दोहोर्‍याएको छ।

salt training

कमेन्ट गर्नुहोस्