
सरकारले कृषि क्षेत्रमा गुणस्तर र उत्पादन सुधार गर्न विषादी परीक्षणलाई सशक्त बनाउने योजना अघि सारेको छ।
सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले विषादी परीक्षणका लागि थप जनशक्ति परिचालन गरिने र मोबाइल टोली सञ्चालन गरिने जानकारी दिए ।
उनका अनुसार माटोको स्वास्थ्य परीक्षणका लागि घुम्ती टोलीमार्फत् परीक्षणको दायरा बढाइनेछ । स्थानीय तहमा आधारित रैथाने जातका तरकारीहरूको संरक्षण तथा प्रवर्द्धन गरिने तथा प्राङ्गारिक मलमा सहुलियत दिइने कार्यक्रमसमेत बजेटमा समावेश गरिएको छ ।
खेतीबालीमा बाँदर, बँदेल र निलगाईबाट हुने नोक्सानी न्यूनीकरणका लागि आवश्यक उपाय अवलम्बन गरिने सरकारको योजना छ।
कृषिमा आधारित जनजीविकामा प्रत्यक्ष प्रभाव पार्ने यस्ता कार्यक्रमले कृषि उत्पादन वृद्धि र किसानको आयस्तर उकास्ने विश्वास व्यक्त गरिएको छ ।