
सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेटप्रति सकारात्मक प्रतिक्रिया दिंदै नेपाल चेम्बर अफ कमर्स लुम्बिनीले स्वागत गरेको छ । बजेट रोजगारी सिर्जना र लगानी प्रवर्द्धनमा केन्द्रित रहेको भन्दै चेम्बरले खुसी व्यक्त गरेको हो
चेम्बर लुम्बिनीका अध्यक्ष टंक पोखरेलद्वारा जारी वक्तव्यमा निजी क्षेत्रले दिएका अधिकांश सुझाव समेटिएको यो पहिलो बजेट भएको उल्लेख गर्दै सरकारलाई धन्यवाद दिइएको छ ।
आर्थिक मन्दिलाई हटाएर अर्थतन्त्र चलायमान बनाउन बजेटले भूमिका निर्वाह गर्ने अपेक्षा वक्तव्यमा गरिएको छ ।
बजेटले कृषि, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिंदै विदेशी तथा स्वदेशी लगानी आकर्षण गर्न उपाय अवलम्वन गरेकोले यस्ता कार्यक्रमबाट उत्पादन बढाउने, आयात प्रतिस्थापन गर्ने र निर्यात प्रवर्द्धन गर्ने अपेक्षा गरिएको अध्यक्ष पोखरेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
वक्तव्यमा दीर्घकालीन आर्थिक वृद्धि र स्वदेशी उत्पादन विस्तारमा टेवा पुग्ने अपेक्षा गरिए पनि कार्यान्वयन हुनेमा आशंका व्यक्त गरिएको छ । राजश्व संकलनका कतिपय योजनाहरू महत्वाकांक्षी देखिएकाले बजेट कार्यान्वयनमा चुनौती रहेको आशंका गरिएको छ ।
मूलतः युवा लक्षित स्टार्टअप कार्यक्रम, इतिहासमा पहिलो पटक छुट्याइएको शिक्षा र स्वास्थ्य क्षेत्रमा पूर्वाधार लगानीको ठूलो बजेटका साथै अनुत्पादक क्षेत्रमा हुने लगानीलाई निरुत्साहित गरेकोप्रति खुसी व्यक्त गरिएको छ ।