
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले कर घटाउने सम्झौता उल्लङ्घन गरेको भन्दै नयाँ व्यापार तनावको सङ्केत गरेका छन्।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले चीनसँगको व्यापार वार्ता केही हदसम्म अवरुद्ध भएको बताएपछि ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गर्दै बेइजिङप्रति असन्तोष व्यक्त गरेका हुन्।
यसै महिनाको सुरुमा जेनेभामा भएको वार्तापछि अमेरिका र चीनले एकअर्कामाथि लगाइएको उच्च करलाई अस्थायी रूपमा घटाउने सहमति गरेका थिए।
शुक्रबार ट्रम्पले लेखे, “चीनले अमेरिकासँगको सम्झौताको पूर्ण रूपमा उल्लङ्घन गरेको छ।”
पोस्टबारे प्रश्न उठेपछि अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीरले सीएनबीसीसँग प्रतिक्रिया दिँदै भने, “बेइजिङले महत्वपूर्ण खनिजजस्ता वस्तुको आपूर्ति रोक्ने वा ढिलो गराउने काम जारी राखेको छ।”
उनका अनुसार अमेरिका–चीन व्यापार घाटा अझै पनि ठूलो छ, र चीनको व्यवहारमा कुनै उल्लेखनीय सुधार देखिएको छैन।
अर्थमन्त्री बेसेन्टले ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच परिस्थितिबारे प्रत्यक्ष संवाद हुन सक्ने बताएका छन्।