
जिल्ला ट्राफिक प्रहरी कार्यालय, सर्लाहीले ढुवानीका सवारी साधनमा निगरानी बढाएको छ । साथै ट्राफिकले ओभरलोड बोकेका गाडीलाई कारबाहीसमेत गर्न थालेको छ।
निर्धारण गरिएकोभन्दा बढी पराल र भुस बोकेका गाडीलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, सर्लाहीका प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सइ) भानुभक्त नेपालले लोकान्तरलाई जानकारी दिए ।
'ढालाभन्दा माथिसम्म पराल र भुस बोकेका गाडीलाई कारबाही गरिएको हो,' उनले भने, शनिबार मात्रै २१ वटा सवारीसाधनलाई कारबाही गरेर पठाएका हौं ।'
उनका अनुसार ओभरलोडका कारण दुर्घटना निम्तिन सक्ने खतरालाई मध्यनजर गर्दै चेतावनीस्वरूप उनीहरूलाई कारबाही गरिएको हो ।
एक व्यवसायीका अनुसार प्रदेशमा नयाँ प्रहरी प्रमुख सरुवा भएर आउनेबित्तिकै ढुवानीका गाडीलाई कडाइ गर्न थालिएको हो ।
सामान्य लोड बोकेर आएका गाडीलाई पनि ट्राफिक प्रहरीले दु:ख दिने गरेको उनको दाबी छ ।
यता वरिष्ठ सइ नेपालले भने दु:ख दिनेभन्दा पनि दुर्घटना न्यूनीकरणका लागि सचेत मात्रै गराइएको बताए ।