
काठमाडौं, १९ मंसिर —अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानी बनाउनका लागि एकतर्फी फैसला लिनसक्ने भन्दै फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंले चिन्ता व्यक्त गरेका छन् ।
यसरी राजधानी निर्धारित गर्ने फैसला इजरायल र प्यालेस्टाइनका मानिसबीचको कुराकानीपछि मात्र गर्नुपर्ने म्याक्रों बताउँछन् ।
केही अरब र मुसलमान देशले अमेरिकाको प्रस्तावको विरोध गरिसकेका छन् ।
राष्ट्रपति ट्रम्पले बुधवारको सम्बोधनमा जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिन सकिने घोषणा गर्नसक्ने अनुमान गरिएको छ ।
यो घोषणा भएपनि अमेरिकी दूतावासलाई जेरुसेलम लैजाने काम चाहिँ अलि पछि मात्र हुन सक्छ ।
अरब लीगका मुलकहरू टर्की, जोर्डन र प्यालेस्टाइनका नेताहरूले यसको ‘गम्भीर परिणाम’ आउने चेतावनी दिएका छन् ।
इजरायल र अरब मुलुकहरूका बीच जेरुसेलमको भविष्यका सम्बन्धमा तीव्र मतभेद छ । ट्रम्पको सम्भावित घोषणामाथि इजरायल सरकारले कुनै टिप्पणी गरेको छैन ।
अमेरिकी दूतावासलाई अहिलेको राजधानी तेल अभिभबाट जेरुसेलम लगिनका भएको मस्यौदाको म्याद सोमवार सकिएपछि त्यसमा ट्रम्पको हस्ताक्षर हुनुपर्नेछ ।
दूतावासलाई जेरुसेलम लग्नका लागि अमेरिकी कंग्रेसले सन् १९९५ मा एउटा कानून पारित गरेको थियो । त्यसबेलादेखि सबै राष्ट्रपतिले हरेक ६ महिनामा ढिलाइको अनुमति दिइरहेका छन् ।
ट्रम्पले आफ्नो चुनावी अभियानमा दूतावासलाई जेरुसेलम लाने वाचा बारम्बार गरेका थिए । आफ्नो कुरामा अडिएपछि उनले यो कारवाही भने अहिलेसम्म चलाएका छैनन् ।
बीबीसीबाट