०५ साउन २०८३, मंगलबार

संकटमा ट्रम्पको परराष्ट्र नीति, हचुवामा निर्णय गर्दै पछि हट्दै

जेठ १८, २०८२
काठमाडौं
संकटमा ट्रम्पको परराष्ट्र नीति, हचुवामा निर्णय गर्दै पछि हट्दै

अमेरिकाका हरेक राष्ट्रपतिलाई लाग्छ- उनीहरूले विश्वलाई बदल्न सक्छन्। तर, डोनाल्ड ट्रम्पलाई आफ्ना पछिल्ला पूर्ववर्तीहरूभन्दा अझ बलियो रूपमा यो भ्रम लागेको देखिन्छ।

अमेरिकाका ४७औं राष्ट्रपति ट्रम्पका लागि अहिलेका घटनाक्रमहरू अनुकूल छैनन्। ट्रम्पले प्रविधि उद्योगका धनीहरूलाई धम्क्याएर आफ्नो लाइनमा ल्याउन सक्छन्, विश्वविद्यालयहरू (जस्तै; हार्वर्ड) र न्यायाधीशहरूमाथि सरकारी शक्ति प्रयोग गर्न सक्छन्, तर केही विश्व नेताहरू यति सजिलै धम्क्याउन सकिने खालका छैनन्।

उनी बारम्बार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबाट उपेक्षित र अपमानित भइरहेका छन्। पुटिन अमेरिकाको युक्रेन युद्ध अन्त्य गर्ने प्रयासको अवज्ञा गरिरहेका छन्। रुसी सञ्चारमाध्यमहरूले अब ट्रम्पलाई यस्तो पात्रका रूपमा चित्रण गर्न थालेका छन्, जो केवल कडा बोल्छन् तर कहिल्यै परिणाम लागू गर्दैनन्।

ट्रम्पले सोचेका थिए कि चीनका राष्ट्रपति सी जिनपिङलाई व्यापार युद्धमार्फत दबाबमा पारेर आफूअनुकूल बनाइनेछ। तर, उनले चिनियाँ राजनीति बुझेनन्। बेइजिङका एक अधिनायकवादी शासकले अमेरिकी राष्ट्रपतिका अगाडि झुक्नु राजनीतिक रूपमा असम्भव छ। अमेरिकी अधिकारीहरू अहिले असन्तुष्ट छन् कि चीनले व्यापार द्वन्द्व न्यूनीकरण गर्न गरिएका प्रतिबद्धताहरू पालना गरेको छैन।

युरोपेली संघसँगको व्यापार कर (ट्यारिफ) युद्धमा पनि ट्रम्प पछि हटे। त्यसपछि फाइनान्सियल टाइम्सका टिप्पणीकार रोबर्ट आर्मस्ट्रङले ट्रम्पलाई झस्काउने गरी एउटा संज्ञा दिए- ट्रम्प जहिल्यै पछि हट्छन्। 

पहिलो कार्यकालमा ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई झण्डै सबै कुरा दिएका थिए। त्यसैले सबैले सोचेका थिए- दुई नेताहरू एकै लहरमा छन्। तर, अहिले ट्रम्पले मध्यपूर्वमा शान्ति स्थापनाको प्रयास गर्दा नेतन्याहुको लागि गाजामा युद्ध जारी राख्नु राजनीतिक रूपमा अस्तित्वको प्रश्न बनेको छ, जस्तै पुटिनका लागि युक्रेन। 

यसका साथै, ट्रम्पको इरानी आणविक सम्झौताको प्रयासले इजरायलले त्यो योजना विफल बनाइरहेको छ, जसअनुसार उनीहरू इस्लामिक गणतन्त्र इरानको कमजोर अवस्थाको फाइदा उठाएर त्यसका आणविक केन्द्रहरू ध्वस्त पार्न चाहन्छन्।

सशक्त नेताहरू आफ्ना स्वार्थहरूलाई आफ्नै ऐतिहासिक र रणनीतिक सन्दर्भमा अघि बढाइरहेका छन्, जुन अमेरिकी राष्ट्रपतिहरूको छिटो परिणाम खोज्ने प्रवृत्तिबाट बिल्कुलै भिन्न छन्। यस्ता नेताहरू व्यक्तिगत अपीलबाट प्रभावित हुँदैनन्- विशेषगरी जब त्यसको सट्टामा केही प्रतिफल हुँदैन। ट्रम्पले जब युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसालाई ओभल अफिसमा अपमान गरे, तबदेखि ह्वाइट हाउसको आकर्षण धेरै राष्ट्रपतिहरूका लागि घटेको छ।

पछिल्लो वर्ष ट्रम्पले चुनाव प्रचारका क्रममा बारम्बार दाबी गरेका थिए- पुटिन वा सी जिनपिङसँगको ‘धेरै राम्रो सम्बन्ध’का कारण आफूले विश्वका जटिल समस्या सजिलै समाधान गर्न सक्छु। तर, ती समस्या जादूले सुल्झने खालका थिएनन्।

यसरी भ्रम पाल्ने ट्रम्प मात्र होइनन्। राष्ट्रपति जर्ज डब्ल्यू बुसले कहिल्यै पुटिनको आँखामा हेरेर ‘उनको आत्माको अनुभव’ गरेको दाबी गरे। बराक ओबामाले रूसलाई क्षयतर्फ उन्मुख एक क्षेत्रीय शक्ति भने र पुटिनलाई ‘कक्षाको पछाडि बसेको बोर केटो’को संज्ञा दिए। तर, त्यो बोर केटाले पछि क्रिमिया नै कब्जा गर्‍यो।

समग्रमा हेर्दा, २१औं शताब्दीका सबै अमेरिकी राष्ट्रपतिहरूले आफू नियतिको पात्र भएको सम्झे। बुसले साँच्चैमा विश्वको प्रहरी नबन्ने अठोटका साथ कार्यभार सम्हालेका थिए। तर, २००१ को सेप्टेम्बर ११ को आक्रमणपछि उनी त्यसै बने। 

उनले अफगानिस्तान र इराकमा युद्ध शुरू गरे- अमेरिकाले लडाइँ जिते पनि शान्ति गुमायो। अनि उनले दोस्रो कार्यकालमा अघि सारेको अरब विश्वमा लोकतन्त्र फैलाउने योजना कहिल्यै सफल भएन।

बराक ओबामाले ‘ग्लोबल वार अन टेरर’ (आतंकविरुद्धको विश्वव्यापी युद्ध)का त्रुटिहरू सुधार्ने प्रयासस्वरूप इजिप्ट पुगेका थिए र त्यहाँ मुस्लिमहरूसँग ‘नयाँ शुरूवात’को अपिल गरेका थिए। उनको प्रारम्भिक कार्यकालमा यस्तो विश्वास भरिएको थियो कि उनको करिश्मा र अनौठो पृष्ठभूमि नै विश्वको समस्याको औषधि बन्न सक्छ।

त्यसपछि जो बाइडनले ट्रम्पलाई ह्वाइट हाउसबाट हटाएर सन्देश दिए-‘अमेरिका फर्किएको छ।’ उनले विश्वभर घुमेर यो नारा दोहोर्‍याए। तर, चार वर्षपछि, आंशिक रूपमा दोस्रो कार्यकालमा उम्मेदवारी दिने आफ्नै विफल निर्णयका कारण, कम्तीमा दोस्रो विश्वयुद्धपछिको उदार अन्तर्राष्ट्रिय भूमिकामा रहेको अमेरिका फेरि गुमेको छ। अनि ट्रम्प फेरि फर्किएका छन्।

ट्रम्पको ‘अमेरिका फर्स्ट’ जनवादी नारा यस्तो मान्यतामा आधारित छ कि अमेरिका दशकौंदेखि ठगिँदै आएको छ। यद्यपि ऐतिहासिक रूपमा उसका गठबन्धन र उसले निर्माण गरेको विश्वव्यापी पूँजीवादको ढाँचाले अमेरिकालाई संसारकै सबैभन्दा शक्तिशाली राष्ट्र बनाएको हो। 

अहिले उनी आफूलाई बलशाली शासकको भूमिकामा देखाउन चाहन्छन्- जहाँ सबैले उनकै आज्ञा पालन गर्नुपर्छ। यसैक्रममा उनले अमेरिकी मूल्य अधारित ‘सफ्ट पावर’ अर्थात् छलफल, कूटनीति र प्रभावमार्फत विश्वलाई प्रभावित गर्ने शक्ति पनि धम्की र कठोरताले च्यात्दैछन्।

ट्रम्पको दोस्रो कार्यकालको प्रारम्भिक चार महिनामा व्यापार कर (ट्यारिफ)को धम्की, क्यानडा र ग्रीनल्यान्डतर्फ अमेरिकी भूमि विस्तारको चेतावनी र विश्वव्यापी मानवतावादी सहायता कार्यक्रमहरूको कटौतीजस्ता गतिविधिले प्रस्ट देखाउँछ- अब विश्वका अन्य राष्ट्रहरूले पनि निर्णय प्रक्रियामा भूमिका खेल्न थालेका छन्।

हालसम्म चीन, रुस, इजरायल, युरोप र क्यानडाका नेताहरूले अनुमान गरेका छन्- ट्रम्प त्यति शक्तिशाली छैनन् जति उनी आफूलाई सम्झन्छन्। उनलाई अवज्ञा गर्दा कुनै ठोस परिणाम हुँदैन भन्ने बुझाइ बनिसकेको छ। वा, उनीहरूको आन्तरिक राजनीतिक बाध्यताले ट्रम्पविरुद्ध उभिनै पर्ने अवस्था बनाएको छ।-सीएनएनबाट

salt training

कमेन्ट गर्नुहोस्