२५ जेठ २०८३, सोमबार

राँचुलीमा देशकै पहिलो बालमैत्री शासन घोषणा

मंसिर १९, २०७४
राँचुलीमा देशकै पहिलो बालमैत्री शासन घोषणा

कालीकोट, १९ मंसिर - जिल्लामा तिलागुफा नगरपालिकाका वडा नं. २ र ४ लाई देशको पहिलो बालमैत्री शासन भएका वडा घोषणा गरिएको छ । 

जिल्लाको उत्तर–पूर्वमा पर्ने (साविकको राँचुली गाविस) तिलागुफा नगरपालिकामा सोमबार विशेष कार्यक्रमका बीच उक्त घोषणा गरिएको हो । 

जिल्ला समन्वय समिति, कालीकोटका प्रमुख अनिपाल शाहीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा दुईवटा वडामा बालमैत्री शासनका लागि हुनुपर्ने ४१ वटा सूचक पूरा गरेकाले बालमैत्री शासन घोषणा गरिएको हो । 

आयोजकका अनुसार स्थानीय तह सञ्चालन ऐन, २०७४, बालबालिकासम्बन्धी ऐन, २०४८ एवं नियमावली—२०५१ तथा बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति—२०६८, कार्यान्वयन कार्यविधि—२०६८ र घोषणा—२०७० मा भएको व्यवस्थाअनुसार सूचकहरुमा पाँच वर्षमुनिका बालबालिकाको जन्म दर्ता हुनुपर्ने, सबैको घरमा खानेपानीको पहुँच पुगेको, बाल–विवाहको क्रम घटेको हुनुपर्ने, बालबालिकामा बालहिंसा मुक्त हुनुपर्नेलगायतका ४१ वटा सूचकमा पूर्णता कायम गरेपछि बालमैत्री शासन घोषणा गरिएको हो । 

तिलागुफा नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले ४१ वटा सूचकमध्ये केही पूरा भएको र केही पूरा हुन बाँकी रहेकाले यसलाई छोटो समयमा पूर्णता दिने बताउनुभएको छ । 

कार्यक्रमका प्रमुख अतिथि शाहीले देशमा अहिले राजनीतिक परिवर्तनबाट सामाजिक कार्यक्रममा जिल्लाका सरोकारवाला निकायहरु तिलागुफा नगरपालिका प्रमुख रतनबहादुर शाही, खाँडाचक्र नगरपालिका प्रमुख जसीप्रसाद पाण्डे, प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रे, प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुवासचन्द्र बोहरालगायतका प्रमुखहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रममा सूचकहरु पूरा गरेर घोषणा भएपनि आगामी दिनमा सुधारका लागि निरन्तरता दिनुपर्ने बताउँदै तिलागुफा नगरपालिकाका प्रमुख शाहीले कागजमा सीमित रहने होकी भन्ने चिन्ता व्यक्त गर्नुभएको छ । 

त्यसैगरी, खाँडाचक्र नगरपालिकाका प्रमुख जसीप्रसाद पाण्डेले अबका देश बनाउने भनेका बालबालिका भएका कारण उनीहरुको जीवन बनाउने कुरामा आफूहरुले ध्यान नदिए अरू कसैले नहेर्ने बताउनुभयो । कालीकोट जिल्लामा तिलागुफा नगरपालिका दुईवटा वडालाई मात्र नभई नगरपालिकालाई बालमैत्री नगर बनाउनुपर्नेमा उहाँले जोड दिनुभएको छ । 

कालीकोट जिल्लामा यसअघि द्रुतगतिमा खुला दिसामुक्त गाविसहरु घोषणा भएका थिए भने अहिले उपचारको पहुँच, धुवामुक्त गाँउ, शिक्षामा पहुँच पुगेको लगायतका घोषणा गर्ने क्रमले निरन्तरता दिने क्रम जारी रहेको छ । 

यसअघि जिल्लाको जुविथा गाविसलाई देशको पहिलो बालविवाह मुक्त गाविससमेत घोषणा गरिएको थियो भने सरसफाइमा मध्यपश्चिमको पहिलो खुलादिसामुक्त गाँउ भनेर बदालकोट गाविसको जिम्जेडी गाँउलाई चिनिँदै आएको छ । 

बालमैत्री शासन घोषणा गर्नका लागि सेभ द चिल्ड्रेन, किर्डाक नेपाल, जिल्ला शिक्षा कार्यालय, कालीकोटलगायतका निकायहरुको सहयोगमा उक्त कार्यक्रम आयोजना गरिएको हो । 

salt training

कमेन्ट गर्नुहोस्