२६ असार २०८३, शुक्रबार

रसालको निर्देशनमा सुशीलका एकसाथ दुई गीतका भिडियो सार्वजनिक

जेठ १९, २०८२
काठमाडौं
रसालको निर्देशनमा सुशीलका एकसाथ दुई गीतका भिडियो सार्वजनिक

गायक तथा संगीतकार सुशील विश्वकर्माले नेपाल आएको बेला दुईवटा गीत रेकर्ड गरेर एक साथ दर्शकमाझ ल्याएका छन् । काठमाडौंमा विशेष कार्यक्रमगरी वरिष्ठ गायिका मीरा राणा र वरिष्ठ संगीतकार दीपक जंगमले दुवै गीतको पोष्टर सार्वजनिक गरेका हुन् । 

सो अवसरमा दुई गीत पछ्यौरीको छेउ...र भुतुक्क भएँ नि...को भिडियो पनि सार्वजनिक गरिएको थियो । दुवै गीतको भिडियोलाई गायक एवं संगीतकार सुशीलले आफ्नै अफिसियल च्यानलमार्फत् सार्वजनिक गरेका हुन् । 

कार्यक्रममा विमोचित गीत ‘भुतुक्कै भएँ नि’मा राजेश गुरुङको रचना र महेश थुलुङको स्वर छ । रोमाञ्चक भावको यो गीतको भिडियोमा अभिनेता यसराज गराच र मोडल सुस्मिता बुढाथोकीको अभिनय छ । यो गीतको संगीत सुशील विश्वकर्माले नै गरेका हुन् ।

यस्तै, अर्को गीत पछ्यौरीको छेउमालाई सुशीलले नै गाएका छन्  । यो गीतमा उनलाई गायनमा बिबी अनुरागीले साथ दिएका छन् । यो गीतलाई हेमन्त विवशले लेखेका हुन्। नदी किनारमा गिट्टी कुटेर जीवन यापन गरिरहेका मजदुरहरूको व्यथामा यो गीत आधारित छ । 

null

गीतको भिडियोमा गोविन्द प्रभात, निरु खडका, कृष्ण रसाल, रोशन श्रेष्ठ, श्रेया नापितले अभिनय गर्नुभएको छ । यी दुवै गीतको भिडियोलाई कृष्ण रसालले निर्देशन, केशव कोइरालाले कोरियोग्राफी, राजेन्द्र पाण्डेले छायांकन एवं सम्पादन गरेका हुन् । 

गीत सार्वजनिक कार्यक्रममा सबैलाई स्वागत गर्दै भिडियो निर्देशक कृष्ण रसालले दुई फरक शैलीका गीतको निर्देशन गर्दा फरक अनुभव भएको सुनाए । विगत चार दशकदेखि गायन, संगीत र बाँसुरी वादनमा क्रियाशील रहँदै आएका सुशीलले निकै राम्रो गीत गाएको पनि उनको भनाइ थियो ।

null

गायक एवं संगीतकार सुशीलले सबैलाई धन्यबाद दिँदै केही समय यताबाट आफू अमेरिकामा रहँदै आए पनि त्यहाँ रहेका नेपालीलाई गीत संगीत नयाँ पुस्तालाई सिकाउँदै आएको बताए । आफू जहाँ रहे पनि संगीत सिर्जना र गायनलाई निरन्तरता दिने उनले बताए ।

कार्यक्रममा गायिका लोचन भट्टराईले सुशीलको गायनको प्रशंसा गरेका थिए । गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापाले सुशीलको संगीत र गायन दुवै राम्रो भएको बताए । संगीतकार दीपक जंगमले सुशीलले सुन्दा आनन्द आउने गीत बजारमा ल्याएको भन्दै उनलाई यस्ता संगीत सिर्जनालाई निरन्तरता दिन सुझाब दिए । भिडियो निर्देशक रसालले पनि गीतलाई भिडियोमा जीवन्तसँग ढालेको जंगमले बताए ।

गायिका मीरा राणाले रेडियो नेपालमा समूहमा गीत गाउने गरेका सुशीलले एकल रूपमा पनि राम्रो गीत गाएको बताइन् । सुशीलको गायन पछिल्लो समय राम्रो हुँदै गएको उनले जिकिर गरिन् । संगीत सृजनासँगै उनले सुशीललाई गाउन पनि सल्लाह दिइन् । 

salt training

कमेन्ट गर्नुहोस्