
तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीस्थित पृथ्वी राजमार्गमा भएको सडक दुर्घटनामा परी एक युवकको ज्यान गएको छ।
बुधबार दिउँसो करिब ३ः३० बजे थर्पुबाट दमौलीतर्फ जाँदै गरेको ग १ ख ९३९९ नम्बरको यात्रुवाहक बस र विपरीत दिशाबाट आइरहेको ग १७ प ५१४६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए।
जिल्ला कास्कीको माछापुछ्रे गाउँपालिका–४ निवासी २४ वर्षीय सरोज पौडेल घाइते अवस्थामा उपचारका लागि प्रदेश अस्पताल दमौली ल्याइएका थिए। तर उपचारकै क्रममा करिब ३ः५० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
दुर्घटनामा संलग्न बस चालक तनहुँ शुक्लागण्डकी नगरपालिका–१० का ३४ वर्षीय तारापति शर्मा प्रहरी नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए।