
अमेरिकी रक्षामन्त्री पिट हेगसेथले अमेरिकाले इन्डो-प्यासिफिक क्षेत्रमा चीनको बढ्दो सैन्य र आर्थिक दबाबको सामना गर्न भारत लगायत अरू देशको पनि साथ रहने बताएका छन् ।
गत शनिबार सिंगापुरमा आयोजित एक कार्यक्रममा उनले चीनविरुद्ध साझा सुरक्षा र रणनीतिक सन्तुलन कायम गर्न क्षेत्रीय देशहरूलाई पनि आफ्नै रक्षा क्षमतामा थप लगानी गर्न आग्रह गरे ।
शाङ्ग्री-ला संवाद सम्मेलनमा मन्तव्य दिँदै हेगसेथले भने, 'चीन अब केवल आफ्नो सेना विस्तारमा सीमित छैन, ऊ दैनिक रूपमा ताइवानलाई नियन्त्रणमा लिन प्रशिक्षण गर्दैछ । चीनले ताइवानमाथि नाकाबन्दी कसरी गर्न सकिन्छ भनेर लगातार सैन्य अभ्यास गरिरहेको छ ।'
चीनले सन् २०२७ सम्ममा ताइवानलाई बलपूर्वक अधीनमा ल्याउने तयारी गरिरहेको लक्ष्य राखेको उनको दाबी थियो ।
अमेरिकी रणनीतिक प्रतिक्रिया
हेगसेथले अमेरिकाले पनि इन्डो-प्यासिफिक क्षेत्रमा आफ्नो सैन्य क्षमता थप मजबुत बनाउने तयारीमा रहेको बताए । विशेषतः चीनको हाइपरसोनिक हतियार विकास, कृत्रिम टापुहरूमा सैनिक अड्डा स्थापना र अन्तरिक्ष क्षमता विस्तारका कारण अमेरिकाले पनि गोल्डेन डोम मिसाइल रक्षा प्रणालीजस्ता नयाँ प्रविधि विकास गरिरहेको छ ।
उनले भने, 'चीनले ल्याएको चुनौती वास्तविक हो र त्यो चुनौती निकट भविष्यमै आउन सक्छ ।'
हेगसेथले भारतसँगको सुरक्षा साझेदारी विस्तार गर्ने प्रतिबद्धता दोहोर्याउँदै भने, 'हामी भारतसँगको सम्बन्धमा नयाँ उचाइमा पुग्न चाहन्छौं । साझा सुरक्षा चिन्ताहरूका बीच भारत हाम्रो महत्वपूर्ण रणनीतिक साझेदार हो ।'
भारतलाई इन्डो-प्यासिफिक रणनीतिक सन्तुलनमा एक प्रमुख मुलुकका रूपमा हेर्ने अमेरिकाले हालैका वर्षहरूमा क्वाड गठबन्धन तथा द्विपक्षीय सैन्य अभ्यासमार्फत सहयोग विस्तार गरेको छ ।
क्षेत्रीय देशहरूलाई रक्षा खर्च बढाउन आग्रह
हेगसेथले इन्डो-प्यासिफिक देशलाई युरोपेली देशले जस्तै आन्तरिक सुरक्षा बजेटलाई जीडीपीको ५ प्रतिशतसम्म बढाउन आग्रह गरेका छन् ।
तर, युरोपेली संघकी उच्च प्रतिनिधि काजा कलासले अमेरिकी धारणा अस्वीकार गर्दै भनिन्, 'युरोप र एशियाको सुरक्षा अब छुट्टाछुट्टै छैन । उत्तर कोरियाली फौज रुसका लागि लडिरहेका छन्, चीनले मस्कोलाई समर्थन गरिरहेको छ । त्यसैले सुरक्षा सम्पूर्ण रूपमा जोडिएको छ ।'
हालैका महिनामा अमेरिकी सरकारले इन्डो-प्यासिफिक क्षेत्रमा तैनाथ प्याट्रियट मिसाइल रक्षा बटालियनलाई हटाएर मध्यपूर्व पठाएको छ । कोस्ट गार्डका जहाजहरू समेत अमेरिका–मेक्सिको सीमा सुरक्षा गर्न फर्काइएको छ ।
यसबारे प्रश्न सोध्दा हेगसेथले भने, 'हुथी मिसाइल आक्रमण र अवैध आप्रवासनको जोखिमका कारण त्यस्तो निर्णय लिनु परेको हो ।'
चीनको प्रतिक्रिया
चीनको राष्ट्रिय रक्षा विश्वविद्यालयका उपाध्यक्ष रियर एडमिरल हु गाङफेङले हेगसेथका आरोपलाई 'गलत, तथ्यविहीन र उक्साहटपूर्ण' भनी प्रतिक्रिया दिएका छन् । तर, उनले त्यसको विशेष खण्डन भने गरेनन् ।
हेगसेथको आरोप थियो, 'चीन तटस्थ देखिन खोजिरहेको छ तर, उसले क्षेत्रीय संसाधनमा कब्जा जमाउने र छिमेकीलाई दबाबमा पार्ने नीति अख्तियार गरेको छ । चीनसँग आर्थिक रूपमा निर्भर हुनु भनेको सुरक्षा निर्णयमा बाधा पुर्याउनु हो ।'
अमेरिकी राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकालमा शुरू भएको उच्च व्यापार शुल्कका कारण चीनले उक्त सम्मेलनमा सम्मेलनमा रक्षामन्त्री डोङ जुनलाई पठाएन ।
अष्ट्रेलियाका रक्षामन्त्री रिचार्ड मार्लेसले इन्डो-प्यासिफिक क्षेत्रमा अमेरिकाको भूमिका उल्लेख्य रहेको भन्दै अमेरिकाको प्रसंशा गरेपनि ट्यारिफ नीतिको भने विरोध गरेका थिए ।
हेगसेथका अनुसार अमेरिका अब केवल पारम्परिक साझेदारहरूसँग सीमित रहने छैन, नव–साझेदारहरूसँग पनि सहयोग विस्तार गर्नेछ । 'हामी सांस्कृतिक वा जलवायु एजेन्डामा जोड दिने छैनौं, हाम्रो ध्यान साझा सुरक्षा लक्ष्यमा केन्द्रित हुनेछ,' उनले भने ।