
त्रिभुवन विश्वविद्यालय (त्रिवि) कीर्तिपुरस्थित केन्द्रीय कार्यालयमा भएको तोडफोड र तालाबन्दी घटनाप्रति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
सोमबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा मन्त्रालयले विश्वविद्यालय जस्तो शैक्षिक तथा प्राज्ञिक संस्था भित्र यस्ता हिंसात्मक र अनुशासनहीन गतिविधि कुनै पनि हालतमा स्वीकार्य नहुने जनाएको छ। "विद्यार्थीको भविष्य निर्माणका लागि निरन्तर पठनपाठनमा संलग्न रहने निकायमा शैक्षिक क्यालेन्डरलाई नै बाधा पुर्याउने यस्ता कार्य निन्दनीय र भर्त्सनायोग्य छन्," विज्ञप्तिमा उल्लेख छ।
त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा १७(३) बमोजिम शिक्षा मन्त्री सहकुलपतिका हैसियतमा घटनाको सूक्ष्म अध्ययन गरिरहेको जानकारी दिइएको छ। मन्त्रालयका प्रवक्ता तथा सहसचिव शिवकुमार सापकोटाका अनुसार, दोषी जो कोही भए पनि उनीहरूको पहिचान गरी कानूनी कारबाहीको प्रक्रिया अघि बढाउन गृह मन्त्रालयसँग आवश्यक परामर्श भइसकेको छ।
मन्त्रालयले भविष्यमा यस्ता घटनाहरू पुनः नदोहोरियोस् भनी सम्बन्धित सबै पक्षलाई उच्च सतर्कता अपनाउन आग्रह समेत गरेको छ। साथै, शैक्षिक संस्था भित्र शान्तिपूर्ण वातावरणमा शिक्षण–अधिगम प्रक्रिया निरन्तर चलिरहने सुनिश्चित गर्न सामूहिक उत्तरदायित्व बोध गर्न पनि मन्त्रालयले आह्वान गरेको छ।