२० असार २०८३, शनिबार

नेपालको लगातार दोस्रो जीत

जेठ २२, २०८२
काठमाडौं
नेपालको लगातार दोस्रो जीत

आइसीसी विश्वकप लिग-२ अन्तरगत स्कटल्याण्डमा जारी श्रृंखलामा नेपालले लगातार दोस्रो जित हात पारेको छ । स्कटल्यान्डको डुन्डेस्थित फोर्थहिल क्रिकेट मैदानमा भएको खेलमा नेपालले नेदरल्यान्डसलाई पाँच विकेटले पराजित गरेको हो । 

नेदरल्यान्डसले दिएको २२६ रनको लक्ष्य नेपालले ४७ दशमलव एक ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा आरिफ शेखले महत्वपूर्ण अर्धशतक बनाए । ९९ बलमा सात चौका र दुई छक्काको सहयोगमा उनले सर्वाधिक ७८ रनको योगदान गरे । आरिफले ४०औं ओभरमा भिभिएन किङ्माको बलमा छक्का प्रहार गर्दै ८१ बलमा आफ्नो अर्धशतक पूरा गरेका थिए ।

आरिफले ५९औं एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दै आफ्नो आठौं अर्धशतक बनाएका हुन् । साथै उनको यो उच्च स्कोर पनि हो । यसअघि ६६ रन उनको व्यक्तिगत उच्च स्कोर थियो । 

उपकप्तान दीपेन्द्र सिंह ऐरीले ५१ बलमा ‘नट आउट’ ३८ रन बनाए । पाँचौँ विकेटका लागि आरिफ र दीपेन्द्रले ८९ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । आरिफले यसअघि कप्तान रोहित पौडेलसँग चौथो विकेटमा ५५ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए । 

ओपनर कुशल भुर्तेलले ४२ बलमा २५ रन जोडे । कप्तान रोहित पौडेल ३९ बलमा २३ रनमा आउट भए । अर्का ओपनर आसिफ शेखले २२ बलमा १९ रन बनाए । भीम सार्की २६ बलमा ११ रन बनाएर आउट भए ।

नेदरल्यान्डसका लागि माइकल लेभिटले दुई विकेट लिए भने भिभियन किंग्मा र पल भान मेकरेनले समान एक/एक विकेट लिए । 

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेदरल्यान्डस ४९ दशमलव एक ओभरमा २२५ रन बनाउँदै अल आउट भएको थियो । नेदरल्यान्ड्सका लागि नोहा कोर्सले ५५ बलमा सर्वाधिक ४८ रन बनाए ।

यसैगरी,  कप्तान स्कट एडवार्डसले ७१ बलमा ४६ रन जोडे । विक्रमजित सिंहले ३८ रन बनाए । ज्याक लायन ३४ बलमा २७ रन बनाएर आउट भए ।

नेपालका लागि सोमपाल कामीले तीन विकेट लिए भने करण केसी, ललित राजवंशी र सन्दीप लामिछानेले समान दुई–दुई  विकेट लिए ।

जितसँगै  नेपाल १४ खेलमा १० अङ्कका साथ लिगको सातौँ स्थानमा छ । पराजित  नेदरल्यान्डस २१ खेलमा २६ अङ्कसहित अङ्क तालिकाको दोस्रो स्थानमा यथावत् छ ।

salt training

कमेन्ट गर्नुहोस्