१९ असार २०८३, शुक्रबार
भिजिट भिसा प्रकरण

संसद्‌को गतिरोध अन्त्य गर्न माओवादीले अधिकतम प्रयास गर्ने

जेठ २२, २०८२
काठमाडौं
संसद्‌को गतिरोध अन्त्य गर्न माओवादीले अधिकतम प्रयास गर्ने

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले संसद्‌को गतिरोध अन्त्य गर्न अधिकतम सकारात्मक प्रयास गर्ने भएको छ । बिहीबार बिहान बसेको माओवादी पदाधिकारी बैठकले गतिरोध अन्त्य गर्न सरकार र विपक्षी दलहरूसँग सिर्जनात्मक र रचनात्मक ढंगले छलफल गर्ने निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । 

उनका अनुसार भिजिट भिसा प्रकरणमा छानबिन गर्नुपर्छ भन्ने माओवादीको मुख्य माग छ । त्यसका लागि सरकारले कस्तो वातावरण बनाउँछ, त्यसअनुसार अघि बढ्ने उनले बताए ।

‘हामी जिम्मेवार प्रतिपक्ष भएकाले निकास निकाल्न हाम्रो तर्फबाट रचनात्मक हिसाबले अधिकतम जोड रहने छ,’ बैठकपछि पार्टी प्रवक्ता अग्नि सापकोटाले भने, ‘निकास निकाल्न सिर्जनात्मक र रचनात्मक ढंगले लाग्नेछौं । सरकार र विपक्षी दलहरूसँग छलफल हुन्छ । मुख्य कुरा छानबिन हो, व्यक्ति विशेषमा हाम्रो त्यति धेरै ध्यान छैन । आज पनि सरकारसित र अर्कोतिर विपक्षी पार्टीहरूसित पनि कुराकानी गर्नुपर्ने छ । सकेसम्म छानबिनका लागि वातावरण बनाउनुपर्छ र सदनमा छलफलको वातावरण पनि हुनुपर्छ भन्ने विषयमा आजको छलफलमा निष्कर्ष निक्लेको छ ।’

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकसमेत मुछिएको भन्दै उनको राजीनामा माग्दै माओवादीसहित रास्वपाले संसद् अवरुद्ध गर्दै आएका छन् । संसदको गतिरोध नहट्दा बजेटमाथिको छलफल शुरू हुन सकेको छैन ।

आफूविरूद्ध सर्वोच्च अदालतले दिएको उत्प्रेषण आदेशबारे अहिले नै टिप्पणी गर्ने बेला नभएको उनले बताए । अदालतको पूर्णपाठ आएपछि पुरै अध्ययन गरेर मात्रै यसबारे बोल्न सकिने उनको भनाइ छ ।

सर्वोच्च अदालतले बुधबार द्वन्द्वकालीन घटनामा माओवादीका उपाध्यक्ष सापकोटाविरूद्ध परेको उजुरीमाथि अनुसन्धान अघि बढाउन आदेश दिएको थियो । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुँडालको संवैधानिक इजलासले उक्त आदेश जारी गरेको थियो।

salt training

कमेन्ट गर्नुहोस्