
बुटवलको प्रादेशिक अस्पताल अगाडि स्वास्थ्य मापदण्डविपरीत सञ्चालित ६ वटा मेडिकल क्लिनिकलाई जिल्ला प्रशासन रुपन्देहीको अनुगमन टोलीलाई बन्द गराएको छ ।
डाक्टर राखेर चेकजाँच तथा उपचारसमेत गराउने फार्मेसी दर्ताविना चलेको प्रदेश स्वास्थ्य निर्देशनको आग्रहपछि प्रशासनले अनुगमन गरेको हो ।
बिहीबार अनुगमन टोलीले विभिन्न ११ वटा क्लिनिकमा अनुगमन गर्दा ६ वटा क्लिनिक दर्ताविना नै सञ्चालन गरेको भेटिएपछि बन्द गराइएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले जानकारी दिए ।
टोलीले अस्पताल लाइनमा रहेको रुचिका क्लिनिक, मंगलम स्वास्थ्य क्लिनिक, पूनम मेडिकल एन्ड क्लिनिक, चन्दन स्वास्थ्य क्लिनिक एन्ड फार्मेसीको कलेक्स प्रयोगशाला बन्द गराइएको सहायक प्रजिअ रानाले बताए ।
त्यस्तै बरदान क्लिनिक प्रालि र शिला मेडिकल हलको क्लिनिक पनि बन्द गरिएको छ ।
अनुगमन टोलीले अस्पताल लाइनकै बुटवल डेन्टल प्रालिलाई पनि बन्द गरेको छ ।
अनुगमनका क्रममा अधिकांश मेडिकलहरूले क्लिनिक सञ्चालन गरेको भए पनि दर्ता नगरेको भेटिएको थियो ।
अनुगमन अब निरन्तर भइरहने रानाको भनाइ छ ।
बन्द गरिएका सबै क्लिनिक सञ्चालकहरूलाई दर्ताको प्रमाणपत्र लिएपछि मात्र सञ्चालनका लागि अनुमति दिइने बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले जानकारी दिए । ‘उहाँहरूलाई समय दिएर सम्पूर्ण मापदण्ड पूरा गरेपछि मात्र बल्ल बन्द गरिएका क्लिनिक खुल्ने छन्,’ पाण्डेले भने ।
उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसीले फार्मेसीमार्फत उपभोक्तालाई भ्रम छरेर क्लिनिकहरू चलिरहेको भेटिएको बताउँदै स्वास्थ्य जस्तो जिम्मेवार क्षेत्रलाई धेरै सुधारको खाँचो देखिएको बताए ।