
६२८औं कवीर प्रकट अर्थात् सन्त कवीर जयन्तीका अवसरमा १५ नवजोडीको एउटै मञ्चमा दाइजोमुक्त विवाह सम्पन्न भएको छ ।
विवाहित मध्ये नौ जोडी नेपालका तथा छ जोडी भारतका छन् ।
दाइजो प्रथाले गहिरो प्रभाव जमाएको मधेश प्रदेशमा यो आदर्श विवाहले समाजमा सकारात्मक उदाहरण स्थापित गरेको आश्रमका असुर निकन्द रमैणीले बताए ।
मिथिला नगरपालिका–२ वेलाचापीस्थित सतलोक आश्रममा कवीर प्रकट दिवसका अवसरमा विगत तीन दिनदेखि सञ्चालित समारोहमा सामाजिक, धार्मिक तथा सेवामूलकका साथै विशाल भण्डारा, रक्तदान, निःशुल्क भोजनलगायत कार्यक्रम गरिएका छन् ।
वैदिक उच्चारणसहित विवाह कार्यक्रम १७ मिनेटमा सम्पन्न भएको थियो । कार्यक्रममा सहभागी नवजोडी तथा तिनका अभिभावकले यस किसिमको विवाहले समाजमा सकारात्मक सन्देश प्रवाह हुने प्रतिक्रिया दिए ।
सतलोक आश्रमले आगामीदिनमा सामाजिक उत्थानका यस्ता कार्यक्रमलाई अझै अगाडि बढाउनुपर्ने पर्साको बहुदरमाई नगरपालिकाकी उपप्रमुख सुष्माकुमारी कुशवाहाले बताइन् ।
मधेश प्रदेशमा सन्त कवीर दिवसका अवसरमा सार्वजनिक विदासमेत दिइएको छ ।