२२ जेठ २०८३, शुक्रबार
बैंककबाट काठमाडौं हुँदै गाँजा तस्करी

त्रिभुवन विमानस्थललाई 'ट्रान्जिट' बनाउँदै गाँजा तस्कर, चैतयता मात्र १२ वटा घटना

जेठ २९, २०८२
काठमाडौं
त्रिभुवन विमानस्थललाई 'ट्रान्जिट' बनाउँदै गाँजा तस्कर, चैतयता मात्र १२ वटा घटना

पछिल्लो समय थाइल्यान्ड हुँदै नेपालतर्फ गाँजा तस्करी गर्ने क्रम निकै बढेको पाइएको छ ।

विमानस्थलस्थित सुरक्षा कार्यालय र भन्सार कार्यालयको संयुक्त टोलीले गत चैतयता मात्रै १२ पटक गाँजा तस्करी गर्ने व्यक्तिहरूलाई पक्राउ गरेको छ ।

पछिल्लोपटक यही जेठ २३ गते शुक्रबार राति एक कोलम्बियन र एक भारतीय नागरिकलाई ६ सय ४५ ग्राम गाँजासहित नियन्त्रणमा लिइएको थियो ।

नेपाल एयरलाइन्सको उडानद्वारा बैंकक हुँदै काठमाडौं ओर्लिएका कोलम्बियाका नागरिक टटियाना बौतिस्ट लोपेज र भारतीय नागरिक सुनिल कुमारलाई विमानस्थल भन्सार क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको हो । 

सुनिल कुमारलाई भारतकै एक गाँजा कारोबारीले बैंकक घुम्न पठाएर उताबाटै अर्का कारोबारीमार्फत गाँजा बोकाएर काठमाडौं पठाएको खुलेको छ ।

दुवै अहिले लागूऔषध नियन्त्रण ब्यूरोको हिरासतमा छन् । 

जेठ १९ गते राति नेपाल एयरलाइन्सकै उडानद्वारा बैंककबाट काठमाडौं उत्रिएका थाई नागरिक सोम्सक पत्च र भारतीय नागरिक पेरिअ गिफ्फिन १० किलो ४ सय २० ग्राम गाँजासहित पक्राउ परेका थिए ।

सुटकेसमा फल्सबटम बनाएर गाँजा ल्याएको खुलेको थियो । जेठ ११ मा भारतीय नागरिकद्वय मोहम्मद असरफ मोहम्मद र मोहम्मद सफ्वन ५ किलो ९० ग्राम गाँजासहित पक्राउ परेका थिए ।

बैंककबाट काठमाडौं आएका उनीहरूले पनि सुटकेसमा फल्सबटम बनाएर गाँजा ल्याएको पाइएको थियो ।

लागुऔषध नियन्त्रण ब्यूरो (एनसीबी) का प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) जनकबहादुर शाहीका अनुसार पक्राउ परेका अधिकांश भारतको केरला र हैदरावादका हुन् । उनीहरू सबै भरिया मात्रै भएको खुलेको छ ।

‘चिनजान भएको ५/६ महिनामै थाइल्यान्ड घुमाइदिने र खर्च दिने भनेर बेरोजगारलाई बैंकक पठाउने गरेको देखियो,’ शाहीले भने, ‘तीन दिन घुमघाम र खानपिन गरेपछि कारोबारीले ३०/४० हजार रुपैयाँ खल्तीमा हालिदिएर काठमाडौं आउने टिकट काटिदिने रहेछन् । नेपाल उत्रिएपछि बसमार्फत भारत जाने उनीहरूको योजना रहेको देखिन्छ ।

एसपी शाहीका अनुसार कतिपय कारोबारीले ‘हाम्रो संस्थाले तपाईंलाई ‘फ्री’मा थाइल्यान्ड पठाइदिने भयो, घुमेर आउनुस्, पैसा पर्दैन,’ भनेर समेत पठाएको देखिन्छ । पक्राउ परेकाले बयान दिएअनुसार बरामद भएको १० किलो गाँजाको हैदरावाद र केरलामा १० लाख भारुसम्म पर्ने गरेको छ । तर, बैंककमा जम्मा २ लाखमा सहजै किन्न पाइने भएकाले तस्करी हुने गरेको खुलेको छ ।

‘पक्राउ परेकाले बयानमा बताएअनुसार कतिपय कारोबारीले नेपाल उड्नै लाग्दा विमानस्थलमै सुटकेस दिन्छन् र यसलाई  भारतसम्म पुर्‍याइदेऊ भन्ने गरेको देखिन्छ,’ एसपी शाहीले भने, ‘गाँजा हो भन्ने थाहा पाएको भए ल्याउँदैनथ्यौं भन्ने उनीहरूको कुरा हुन्छ ।’

जेठमा मात्रै ८ पटक विमानस्थलबाट गाँजा बरामद भएको छ । गाँजा बोकेर आउने अधिकांश भारतको केरला छन् । 

एसपी शाहीका अनुसार गत चैत २४ मा भारत केरलाकै २८ वर्षीय सन्दीप कुभाट्टुमुला उन्नी पक्राउ परेका थिए । उनले थाई एयरको उडानमार्फत बैंककबाट ८ किलो ८ सय ५५ ग्राम गाँजा बोकेर ल्याएका थिए । एक्सरे मशिनमा उनको ब्याग स्क्रिनिङ गर्ने क्रममा गाँजा देखिएपछि नियन्त्रणमा लिइएको थियो । 

चैत १४ मा मुम्बइका मोहम्मद अनवर, मोहम्मद बाकर मिर्जा र राजिवानो साइद ५ किलो गाँजासहित पक्राउ परेका थिए । थाई एयरबाटै नेपाल उत्रिएका उनीहरूलाई अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार एयरियाबाट नियन्त्रणमा लिइएको थियो । 

‘थाइल्यान्डको बैंककका केही बजारमा गाँजा कानूनी रूपमै बिक्री गर्न पाइन्छ । त्यही मौका छोपेर त्यहाँका कारोबारीले भारतको केरला र हैदरावादका कारोबारीसँग मिलेमतो गरेर गाँजा तस्करी गरेको देखिन्छ,’ ब्यूरोका एक अनुसन्धान अधिकृतले भने, ‘नेपालको विमानस्थलबाट पटक–पटक पक्राउ गर्दा पनि कारोबारीले नजरअन्दाज गरिरहेको देखिन्छ ।’ 

श्रीलंकातर्फ गाँजा लैजान खोज्दा पक्राउ

गत वैशाखमा एकपटक श्रीलंकन नागरिक मोहम्मद सलिम रुमोज ५ किलो २ सय ग्राम गाँजासहित पक्राउ परेका थिए । उनी श्रीलंकन एयरको उडानद्वारा श्रीलंका जाने तयारीमा थिए ।

डिपार्चरको होल्ड ब्यागेज एरियामा झोला चेक गर्ने क्रममा उनले फल्स बटम बनाएर गाँजा लुकाएर लैजान लागेको भेटिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्