०१ असार २०८३, सोमबार
लोकान्तर टिप्पणी

प्रमाणविनाका समाचार दिने मिडियामाथि छानबिन हुनुपर्छ, तर साइबर कानूनअन्तर्गत होइन

जेठ २९, २०८२
काठमाडौं
प्रमाणविनाका समाचार दिने मिडियामाथि छानबिन हुनुपर्छ, तर साइबर कानूनअन्तर्गत होइन

युट्युबमार्फत प्रशारण गरिएको ‘एक मिडिया कन्टेन्ट’ सम्बन्धमा पत्रकार दिलभूषण पाठकलाई नेपाल प्रहरीको साइबर ब्यूरोले अनुसन्धानका लागि पक्राउ पुर्जी लिएको विषयलाई लिएर अहिले मिडिया र सामाजिक सञ्जालमा गरमागरम बहस भइरहेको छ । 

काठमाडौंको नक्सालमा रहेको ५ तारे हिल्टन होटलमा पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुरका छोरा जयवीरको लगानी रहेको भनेर पाठकले आफ्नो युट्युब च्यानलमार्फत आरोपित गरेका छन् । 

ठूलो रकम लगानी गरिएको भन्ने संगीन आरोप सम्बन्धमा कुनै तथ्य र प्रमाण पेश गरेका छैनन् ।

जयवीरले दुबई, अस्ट्रेलिया र क्यानडासम्म रियल स्टेटमा लगानी गरेको भनेर पाठकले आरोप लगाएका छन् । प्रमाणको सट्टा उनले ‘बताइन्छ’जस्ता अमूर्त शब्दको सहारा लिएको देखिन्छ ।

मिडिया इथिक्सको कसीमा राखेर हेर्दा पाठकको रिपोर्ट पत्रकारिताको न्यूनतम् सिद्धान्तविपरीतको ‘दन्ते कथा’ हो । 

देउवा परिवार र उनका छोरा समेतका बारेमा समाजमा विभिन्न टिप्पणी, आशंका छन्। तर टिप्पणी र आशंकाका आधारमा समाचार बनाउन पाइँदैन। देउवा पुत्र मात्रै होइन गलत गर्ने जोसुकैमाथि मिडियाले जुनै पनि बेला समाचार लेख्न सक्छन्, पाउँछन् । तर समाचारमा तथ्य हुनुपर्छ, दन्ते कथा होइन।

सामाजिक सञ्जालमा कसैले लगाएको आरोपका भरमा मिडिया कन्टेट बनाएर कसैमाथि संगीन आरोप लगाउनु मिडियाको धर्म होइन ।

पाठकले हिल्टन होटलमा देउवापुत्रको शेयर लगानी रहेको कहीँ कतैबाट प्रमाणित गराएर वास्तविकता बाहिर ल्याउन सके उनलाई नेपाल पत्रकार महासंघ र नेपाल सरकारले अहिलेसम्मकै ठूलो पुरस्कार स्थापना गरेर पुरस्कृत गर्नुपर्छ ।

तर, कसैको सामाजिक प्रतिष्ठामा आँच आउने गरी लेखेबापत कसैले उन्मुक्ति पाउन मिल्छ ? कसैको सामाजिक जीवनको क्षति गरेवापत दण्डित हुनु पर्दैन ? 

‘लगानी रहेको बताइन्छ’ भनेर कसैमाथि यति ठूलो आरोप लगाउन मिल्छ ? अमूर्त व्यक्ति या स्रोत, कसैले बताएकै र आरोप लगाएकै भरमा मिडियाले किटान गर्न सक्छ ? यसका लागि केही तथ्य र प्रमाण चाहिन्छ होला नि ? 

देउवालगातय राजनीतिक दलका नेताप्रति जनतामा आक्रोश छ । के त्यो भन्दैमा मिडिया र पत्रकारले बहकिएर तथ्य र प्रमाणविना कसैको चरित्रहत्या गर्न पाउँछ ? यसलाई ‘प्रेस वा वाक स्वतन्त्रता’को जामा लगाएर छोप्न मिल्छ ?

प्रमाणबेगर कसैलाई आरोप लगाउने कुरालाई पत्रकारिताको जामा लगाएर ढाकछोप गर्न मिल्छ कि मिल्दैन, यसको छिनोफानो यहीबेला गर्नुपर्छ । 

पत्रकारिताको न्यूनतम् मूल्य मान्यता र सिद्धान्तको खिलाफमा कसैलाई लगाइएको आरोप स्थापित भयो भने नेपालको पत्रकारिताको बचेको शाख पनि ध्वस्त भएर जानेछ । 

यति भन्दै गर्दा जसरी उनले प्रस्तुत गरेको ‘मिडिया कन्टेन्ट’लाई लिएर विद्युतीय कारोबार ऐनमा टेकेर साइबर अपराधको मुद्दा लगाउन खोजिँदैछ, यो किमार्थ स्वीकार्य छैन । सामाजिक सञ्जालमा कसैविरुद्ध लेखेबापत कारबाही गर्ने औजारलाई पत्रकार तर्साउने अस्त्र बनाइयो भने त्यो लोकतन्त्र र प्रेस स्वतन्त्रताको खिलाफमा हुन्छ । 

मिडिया कन्टेन्टमाथि चित्त बुझेन भने उजुरी गर्ने ठाउँ प्रेस काउन्सिल हो । काउन्सिलले गरेको निर्णयमा चित्त नबुझे गाली बेइज्जती मुद्दा लिएर जिल्ला अदालतमा जानसक्ने कानूनी व्यवस्था छँदैछ । यो वैधानिक बाटो हुँदाहुँदै साइबर कानूनको आधारमा पत्रकारलाई तर्साउने काम सर्वथा अनुचित र गलत छ । प्रहरीले साइबर कानूनको बाटो होइन, प्रेस काउन्सिल र अदालत जाने बाटो खोजोस् । 

पत्रकारिताको विश्वसनीयता र शाख जोगाऔं

पछिल्ला वर्षहरूमा पत्रकारलाई झुटको खेती गर्ने भनेर बदनाम गर्ने कोशिश भइरहेको छ । पत्रकारिता क्षेत्रमाथि विश्वसनीयताको संकट आउनुमा स्वयं पत्रकार पनि जिम्मेवार छन् । ‘भ्युज र लोकप्रियता’को लोभमा यस्तै तथ्यहीन आरोप लगाउँदा समग्र पत्रकारिता क्षेत्रको शाख घट्ने र विश्वसनीयतामा आँच आउने काम भएको छ ।

पत्रकार/सञ्चारकर्मीको प्रश्न सोध्ने शैली र आचरणबारे समेत बहस भइरहेको छ । तथ्य/प्रमाण र सन्दर्भभन्दा पनि कसैलाई आरोपित गर्ने गरी ठाडो र अमर्यादित प्रश्न सोध्ने होडबाजीले पत्रकारिता क्षेत्रको इज्जत र प्रतिष्ठा कमजोर बन्दै गइरहेको छ । 

देशको प्रधानमन्त्रीलाई ‘तपाईं हिटलर बन्न खोजेको हो ?’ जननिर्वाचित सांसदलाई ‘तपाईं ओलीको हनुमान हो ?’ जस्ता प्रश्न सोधिएका छन्, सार्वजनिक ठाउँमा । पत्रकारले सोधेका प्रश्नबारे संसदमा कुरा उठिरहेका छन् । विवेकशील र स्वाभिमानी पत्रकारहरूका लागि यो गम्भीर चिन्ताको विषय हो । 

टेलिभिजनमा अन्तर्वार्ता र टक–शोमा समेत अतिथिलाई प्रश्नभन्दा पनि पाठ पढाउने, गहिराइमा नजाने, सामाजिक सञ्जालमा आएका कुराका आधारमा प्रश्न सोध्ने प्रवृत्ति देखिन्छ । 

पत्रकारिता क्षेत्रमा देखिएका यी शैलीको निर्मम समीक्षा गर्न ढिला भइसकेको छ । यो तीतो यथार्थलाई समयमै मनन गरेर एउटा निष्कर्षमा नपुग्ने हो भने नेपालको मिडिया क्षेत्रको विश्वसनीयता अझै कमजोर हुनेछ । पत्रकार र पत्रकारिता क्षेत्रलाई हेर्ने समाजको दृष्टि अझ अनुदार बन्नेछ । 

सामाजिक सञ्जाल बेलगाम भयो भन्दैमा पत्रकार र मिडिया स्वेच्छाचारी बन्न मिल्दैन । सामाजिक सञ्जाललाई मर्यादित बनाउन पत्रकार र मूलधारका मिडियाले भूमिका खेल्नुपर्छ । 

टीभीको पर्दामा देखिँदैमा र सेलिब्रेटी हुँदैमा उसले जे पनि बोल्न पाउने भन्ने हुँदैन । लोकप्रियताको भ्रममा कसैले कसैविरुद्ध मिथ्या र कपोलकल्पित आरोप लगाउन पाइँदैन । 

पछिल्ला दिनमा टेलिभिजनमा प्रशारण हुने ‘कमेडी शो’मार्फत व्यक्ति विशेषलाई अपमान गर्ने र खुइल्याउने काम भइरहेको छ । आमसञ्चार माध्यमबाट प्रशारण भएका विषयले मानिसमा एउटा धारणा बन्न पुग्छ । टेलिभिजनका 'टक शो र कमेडी शो'ले समाजमा कसैलाई हिरो र कसैलाई भिलेन बनाइरहेका छन् । 

उदाहरणका लागि हेरौं न– विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई ‘सालो’ भनेर कयौंपटक व्यंग्य वाण हानिएको छ । खुला प्रतिस्पर्धाबाट प्राधिकरणमा छानिएका हितेन्द्रको थर प्रधानमन्त्री केपी ओलीकी पत्नीसँग मिल्दैमा शाक्य सालो भइहाल्ने ? अनि कसैलाई आरोपित गरेको विषयमा अरूले हाँसेर मजाक उडाउने ? के कोही व्यक्तिलाई यसरी अपमान गर्न मिल्छ ? उनको प्रतिष्ठामा धावा बोल्न पाइन्छ ? भोलिको दिनमा शाक्यलाई सालो भनेर उडाउने कलाकारबारे अर्कोले त्यस्तै आरोप लगायो भने त्यसको क्षति कसलाई हुन्छ ? 

विभिन्न कार्यक्रमका नाममा टेलिभिजनबाटै न्यायाधीशले जसरी फैसला गर्ने र कसैलाई दोषी करार गर्ने गलत ‘ट्रेन्ड’ सेट भइरहेको छ । पत्रकारिताको न्यूनतम् मूल्य र मान्यता बिर्सिएको त्यस्तो कुरालाई समाजले वाहवाह गर्‍यो भनेर पत्रकारहरू बहकिन थाले । 

दुर्भाग्य त्यस्ता कन्टेन्ट मोनिटरिङ गर्ने राज्यको निकाय छैन । पत्रकारिताका मूल्य मान्यता र आचारसंहिता पालन गर्ने मिडियाहरू छायाँमा छन् । 

लोकतन्त्र, सुशासन र पारदर्शिताको पहरेदारी गर्ने मिडियाप्रति राज्य अनुदार छ । त्यसैले पनि छाडा मिडियाको बाढी आइरहेको छ । 

मिडिया सम्हालिने बेला

सामाजिक सञ्जाल छाडा भइरहेका छन्, जहाँ हाम्रो समाजमा स्थापित सभ्यता र सामान्य शिष्टाचार समेत देखिँदैन । सामाजिक सञ्जालका कतिपय प्रयोगकर्ताको मनोविज्ञान परपीडक स्वभावको देखिन्छ । 

जस्तो कि आफूलाई मन नपरेको व्यक्ति र पात्रलाई दानवीकरण गर्ने प्रतिस्पर्धा अहिले सामाजिक सञ्जालमा व्याप्त छ । यो जमातले आफूअनुकूल फैसला आए त्यो न्यायाधीशलाई ‘न्यायमूर्ति’ देख्छ, आफूप्रतिकूल हुँदा न्यायाधीशको तस्वीर सञ्जालमा राखेर सराप्छ ।

आदेश गर्ने न्यायाधीशको व्यक्तिगत कुरा ल्याएर सामाजिक सञ्जालमार्फत गाली बेइज्जतीमा उत्रिन्छ । यसले समाजलाई अराजक र असहिष्णु बनाउँदै लगिरहेको छ । 

सामाजिक सञ्जालको यस्तै अराजकताविरुद्ध सर्वोच्च अदालतले आफ्नो आदेशमा लेख्नुपर्ने अवस्था सिर्जना भइसकेको छ । सामाजिक सञ्जाल मात्र होइन, जानी–नजानी पत्रकारले समेत तथ्य र प्रमाण बेगर कसैलाई देवत्वकरण र कसैलाई दानवीकरण गरिरहेका छन् । 

सामाजिक सञ्जाल बेलगाम भयो भन्दैमा पत्रकार र मिडिया स्वेच्छाचारी बन्न मिल्दैन । सामाजिक सञ्जाललाई मर्यादित बनाउन पत्रकार र मूलधारका मिडियाले भूमिका खेल्नुपर्छ । 

समाचार लेख्ने पत्रकारले पत्रकारिताका न्यूनतम् मूल्य, मान्यता र सिद्धान्तलाई अनुशरण गर्नैपर्छ । पत्रकारिता क्षेत्रमा देखिएका विकृति र विसंगति हटाउनका लागि काम गर्नुपर्ने समय आएको छ । 

हामी फेरि पनि भन्छौं– पत्रकार बन्नका लागि एउटा लाइसेन्स जरुरी छ । लाइसेन्स लिएर पत्रकारिता गर्दा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकुचन हुँदैन, झन् परिष्कृत हुन्छ । 

salt training

कमेन्ट गर्नुहोस्