
जेठ १३ गतेदेखि निरन्तर अवरोध हुँदै आएको संसद् सञ्चालनका विषयमा सभामुख देवराज घिमिरेले विपक्षी दलका नेतासँग छलफल गरेका छन् ।
प्रतिनिधिसभामा विपक्षी दलका नेता एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सभामुख घिमिरेले छलफल गरेका हुन् ।
नयाँ बानेश्वरस्थित संसद् भवनमा रहेको सभामुखको कार्यकक्षमा सभामुख र विपक्षी दलका नेताबीच छलफल चलिरहेको सभामुखको सचिवालयले जनाएको छ ।
छलफलमा उपसभामुख इन्दिरा राना मगर र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे पनि सहभागी छन् ।
सदन खुलाउने विषयमा यसअघि बिहीबार नै सत्तारूढ एमाले, कांग्रेसका नेताहरूले माओवादी नेताहरूसँग छलफल गरेका थिए ।
प्रचण्डले पनि प्रतिपक्षी दलहरूसँग छलफल गरे । उनले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग सिंहदरबारमा छुट्टै भेटवार्ता समेत गरेका थिए ।
प्रतिनिधिसभाले विपक्षी दलको निरन्तरको अवरोध झेलिरहेको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने भन्दै विपक्षी दलले जेठ १३ देखि संसद्मा अवरोध कायम राखेका छन् ।
सत्तारुढ नेकपा एमाले र कांग्रेसले भने गृहमन्त्रीमाथि छानबिन आवश्यक नभएको बताउँदै आएका छन् ।
पछिल्लो समय विपक्षी दल गृहमन्त्रीको राजीनामाको अडान छाडेर उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने प्रस्तावमा पुगेका छन् । तर, यसमा पनि विपक्षी र सत्तारूढ दलबीच सहमति जुट्न सकेको छैन ।
जेठ १३ गतेदेखि अवरोध गरेका विपक्षी दलले १५ गते बजेट ल्याउन दिए पनि त्यसपछिका बैठक अवरुद्ध गर्दै आएका छन् । संसद् बैठक अवरुद्ध हुँदा नयाँ बजेटमाथिको छलफल अलपत्र बनेको छ ।
यसअघि बुधबार सहमति नजुटेपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठक आज बिहीबार दिउँसो ३ बजेसम्मका लागि स्थगित गरेका थिए ।
बुधबार दिउँसो १ बजेका लागि तय भएको बैठक निर्धारित समयमा बस्न सकेन । शुरूमा सूचना टाँस गरेर ३:१५ बजेलाई सारिएको बैठक सभामुखले ढिलागरी शुरू गरेका थिए । तर, विपक्षीको अवरोध कायमै रहेपछि बिहीबार दिउँसो ३ बजेका लागि सारिएको थियो ।