
मधेश प्रदेश सभा सदस्य सरोज कुमार सिंहमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ। आयोग टंगाल काठमाडौँबाट खटिएको टोलीले बिहीबार सिंहमाथि सरकारी रकम दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरेको आरोपमा नियन्त्रणमा लिएसँगै अनुसन्धान थालेको हो ।
अख्तियारले प्राप्त उजुरीका आधारमा सिंहले बिभिन्न उपभोक्ता समितिहरु गठन गरेको देखाई ती समितिहरुको खातामा जम्मा भएको रकम आफ्नो निजी सचिव बिनोद कुमार लाल कायस्थमार्फत झिकाई, आफू र आफ्नी श्रीमतीको व्यक्तिगत खातामा दाखिला गराएको आरोप लागेको छ। साथै, निजी सचिव कायस्थकै खातामा पनि सरकारी रकम जम्मा गराइएको विवरण उजुरीमा उल्लेख गरिएको छ।
यही उजुरीको आधारमा सिंहलाई काठमाडौँ महानगरपालिका वडा नं. १०, रत्नराज्य स्कूल नजिकबाट पक्राउ गरिएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।
सिंह महोत्तरी जिल्ला, मनराशिसवा नगरपालिका–६ सरपल्लो स्थायी घर भई हाल जनकपुर उपमहानगरपालिका–९, धनुषामा बसोबास गर्दै आएका छन्। उनी महोत्तरी निर्वाचन क्षेत्र नं. ४ (ख) बाट निर्वाचित मधेश प्रदेश सभा सदस्य हुन्।
अख्तियारका अनुसार अनुसन्धान जारी रहेको छ र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइनेछ।