
कमेडी शो ‘कमेडी नाइट विद च्याम्पियन्स’ का निर्देशक विशाल भण्डारीले आफ्नो सिंहदरबार भ्रमणलाई लिएर सार्वजनिक भइरहेको अनुमान र अफवाहप्रति आपत्ति जनाएका छन्। सामाजिक सञ्जाल फेसबुकमा उनले बिहीबार राति लेखेका छन् — “म आज हैन, हिजो सिंहदरबार गएको हुँ, त्यो पनि नितान्त व्यक्तिगत भेटघाटका लागि मात्र।”
भण्डारीले आफूलाई कुनै आधिकारिक कामका लागि कसैले नबोलाएको स्पष्ट गर्दै, आफ्नो गएको भिडियो क्लिप र इन्स्टाग्राम स्टोरीलाई जोडेर झुटा समाचार बनाइएको भन्दै गहिरो असन्तुष्टि जनाएका छन्।
उनले लेखेका छन्, “बाघ कराउनु र बाख्रा हराउनु” जस्तो अनुमानको भरमा यति अतिरञ्जित कुरा गर्नु कदापि उचित हैन। सत्य लेख्नुपर्छ, लेख्नै नहुने भए धन्यवाद भन्नुपर्छ।
विशाल भण्डारीले गफगाफमा आधारित समाचार समाजमा गलत सन्देश दिन सक्छ भन्दै यसले कहिलेकाहीँ व्यक्तिगत र सामाजिक हानि पुर्याउन सक्ने चेतावनीसमेत दिएका छन्।
भण्डारीले समाचार लेख्ने क्रममा संबन्धित व्यक्तिसँग सोधपुछ गरेर मात्र सत्य र तथ्यमा आधारित समाचार लेख्न अनुरोध गरेका छन्।
ओलीप्रति व्यङ्ग्य गरेकै कारण उनलाई प्रधानमन्त्री कार्यालयले बोलाएको आशयसहितको समाचार फैलिएपछि उनले यस्तो बताएका हुन् ।