
काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियनाका संयोजक दुर्गा प्रसाईलाई थुनामा पठाउने आदेश गरेको छ ।
चैत १५ गते राजधानीको तीनकुनेमा भएको राजावादी प्रदर्शनमा हिंसा भड्काएको आरोपमा पक्राउ परेका उनलाई बिहीबार न्यायाधीश ध्रुवराज कार्कीको इजलासले थुनामा पठाउने आदेश गरेको हो ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले ५० जनाविरूद्ध जिल्ला अदालत काठमाडौंमा जेठ ११ गते मुद्दा दायर गरेको थियो।
५० जनाविरूद्ध आपराधिक उपद्रव, राज्यविरूद्धको कसुर र संगठित अपराध कसुरमा मुद्दा दायर भएको थियो। त्यसमध्ये दुर्गा प्रसाईंसहित ८ जनाविरूद्ध कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग समेतमा मुद्दा दायर भएको थियो।
प्रतिवादीहरुसँग उनीहरूको जेठ १२ गतेदेखि २० गतेसम्म बयान लिइएको थियो। त्यसपछि थुनछेक भएर बिहीबार राति आदेश आएको हो ।