
परराष्ट्रमन्त्री एवं कांग्रेस नेतृ आरजु राणा देउवाले फोन संवादलाई तोडमोड गरी धम्की दिएको भाष्य बनाइएको भन्दै गुनासो गरेकी छिन् ।
नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीसँग भएको टेलिफोन कुराकानीलाई धम्की दिएको भन्दै प्रकाशित समाचारले आफू आश्चर्यमा परेको बताएकी हुन् ।
‘हाम्रो परिवारलाई बदनाम गराउने दूषित मनसायसहित सामाजिक सञ्जालमा आएको एक तथ्यहीन र भ्रामक भिडियो तथा त्यसको न्यायिक निरुपणमा बारेमा उहाँसँग कुराकानी भएको हो,’ आरजुले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘उक्त भ्रामक र तथ्यहीन भिडियो प्रसारण गने संस्था कुनै पनि सरकारी निकायमा दर्तासमेत नभएको थाहा पाएपछि प्रेस काउन्सिलमार्फत प्रक्रिया शुरू गर्न नमिलेर हामीले राज्यको कानूनअनुसार नै न्याय खोजेका हौं ।’
उक्त भ्रामक भिडियो पोष्ट गने विरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको र कानूनले जे सजाय दिन्छ भन्ने कुरालाई अनुसरण गरेको उनले बताएकी छिन् ।
‘यसै विषयमा मैले उहाँलाई जानकारी गराएको थिएँ । बरु मैले म आफू नियमित पाठक रहेको न्युयोर्क टाइम्सजस्तो मिडियाको सहयात्री प्रकाशनले पनि सोही भ्रामक भिडियोलाई स्रोत मानेर समाचार प्रकाशन गर्नुभन्दा सत्य तथ्य बुझेर मात्र समाचार प्रकाशन गर्नुपर्ने सुझाव दिएकी हुँ,’ उनले भनिन्, ‘तर हामीबीच भएको फोन संवादलाई तोडमोड गरेर उहाँले आफूलाई धम्की आएको भनेर आफ्नै पत्रिकामा समाचार प्रकाशन गरेको देख्दा मलाई अचम्म लागेको छ ।’
नेपालमा लोकतन्त्र, नागरिक अधिकार र प्रेस स्वतन्त्रताका लागि सबैभन्दा बढी संघर्ष गरेको नेपाली कांग्रेसको योगदानलाई नबिर्सन पनि उनले आग्रह गरेकी छिन् । सोही पार्टीको एक जिम्मेवार सदस्य भएकाले आफूलाई प्रेस स्वतन्त्रताका बारेमा राम्ररी थाहा भएको उनले बताएकी छिन् ।
तर मिडियाले जिम्मेवारीबोध र विश्वसनीयता गुमाउन नहुने उनको भनाइ छ ।