
बहुप्रतिभाशाली साहित्यकार रामप्रसाद पन्तको ४६ औं पुस्तकका रूपमा ‘उत्कृष्ट सत्ताइस स्रष्टा’ संस्मरण सङ्ग्रह प्रकाशित भएको छ ।
लेखक पन्तले उत्कृष्ट सत्ताइस स्रष्टाभित्र प्रस्तुत गरेका स्रष्टाहरू कुनै न कुनै रूपबाट राष्ट्रसेवामा इमान्दार भएर लागेका नेपाल आमाका सुपात्रका रूपमा अगाडि सारेका छन्। यस्ता महत्त्वपूर्ण स्रष्टाबारे आफ्नो साहित्यशिल्पी क्षमता प्रदर्शन गरी लेखकले स्रष्टाको यथार्थ रूपमा वर्णन गर्दै संस्मरणको रुपमा यस पुस्तकलाई निकै न्याय गरेका छन्।
जुनसुकै पेसा र व्यवसायमा छरिएको भए तापनि सिर्जना शक्तिले ओतप्रोत भएका साहित्यिक अनुरागीलाई लेखक पन्तले इतिहासमा अमर रहने गरी नवपुस्तालाई बहुमूल्य चिनो प्रदान गरेका छन्।
जीवन र जगतलाई केन्द्रविन्दुमा राखेर साहित्य सिर्जनामा निरन्तर लाग्ने साहित्यकार युद्धप्रसाद मिश्रबारे ‘जीवनयोद्धा युद्धप्रसाद मिश्र’ शीर्षक दिएर उत्कृष्ट सत्ताइस स्रष्टाको शुरूआत गरेका छन् (पृष्ठ १७)।
‘अथक भाषासेवीको सम्झनामा’ शीर्षकभित्र नेपाली राष्ट्रभाषाको सेवामा समर्पित गोपाल पाँडेको शिक्षा र साहित्यमा योगदानको चर्चा गरिएकोछ (पृष्ठ २१)। नेपाली साहित्यका चन्द्र हृदयचन्द्रसिंह प्रधानको छोटो जीवनकालमा नेपाली साहित्यलाई ठूलो हुन लगाएको बताएका छन् (पृष्ठ २४)।
लौहपुरुष गणेशमान सिंहको पर्यायवाची शब्द त्याग भएको जसले प्रधानमन्त्रीको पद पनि परित्याग गर्न सक्ने शालीन नेताको रूपमा चिनेको उल्लेख गरेको छन् (पृष्ठ ३०)। काले राईबाट डा. स्वामी प्रपन्नाचार्यलाई, ‘विद्वान् सर्वत्र पुज्यते’को भूमिकामा लेखक पन्तले उजागर गरेका छन् (पृष्ठ ३४)।
सन्तनेता कृष्णप्रसाद भट्टराईका बारेमा नातावाद, कृपावाद र अवसरवादको विरोधीका रूपमा रहेका एक सच्चा राजनीतिज्ञका रूपमा भट्टराईको समग्र जीवनवृत्त उतारेका छन् (पृष्ठ ४०)। कीर्तिनिधि विष्टको देशभक्तिको वर्णन गर्दै जनताको उन्नति र प्रगतिका निम्ति मरिमेट्ने व्यक्तित्वका रूपमा चित्रित गरेका छन् (पृष्ठ ४३)।
केही शब्दपुष्पः डा. हर्षबहादुर बुडामगरमा भन्ने शीर्षकमा एउटा सैनिक पछि साहित्यकारको रूपमा परिवर्तन भएको चाखलाग्दो वर्णन गर्दै उँहाको जीवनबाट नयाँ पुस्ताले प्रेरणा लिन सक्ने बताएका छन् (पृष्ठ ५०)।
निबन्धकारिताका अद्भूत शिल्पी शीर्षकमा शंकर लामिछानेले मानिस भगवान बन्दै गर्दा मानिसको गुण हराउन भने नहुने भनेका कुरा सान्दर्भिक लाग्दछन् (पृष्ठ ५५)। जीवनमा देशका नौ जना प्रधानमन्त्रीसँग संगत गर्ने अवसर पाएका वरिष्ठ पत्रकार भैरव रिसालको लेखकीय इमानदारिताको चित्रण गरिएको छ (पृष्ठ ६१)।
कर्मलाई भगवान ठान्ने लक्ष्मण राजवंशीलाई नेपालको शैक्षिक जागरणमा पुर्याएको योगदानका बारेमा चर्चा गरेका छन् (पृष्ठ ६३) । सबैका मनमा बस्न सफल बहुमुखी प्रतिभाशाली भैरव अर्यालका हास्यव्यङ्ग्य निबन्ध जयभुँडी र काउकुतिको विशेष सम्झना यस पुस्तकमा गरिएको छ (पृष्ठ ६६)।
शालिन र विनम्रताका उदारहणका रूपमा वैरागी काइँलालाई उभ्याउँदै राम्रो र असल लेखक बन्न धेरै लेख्न नपर्ने कुरा बताइएको छ (पृष्ठ ६९) । सामाजिक जागरणकी अभियन्ता,नारी हस्ताक्षरका रूपमा आफ्नो सशक्त पहिचान बनाएकी पीताम्बरा पीयूषलाई लेखक पन्तले उच्च स्थान दिएका छन् (पृष्ठ ७५)।
सबैले बुज्ने खालको साहित्य सरल हुनु पर्ने बताउने मनुजबाबु मिश्र सफल कलाकार तथा निबन्धकार भएको स्मरण गरेका छन् (पृष्ठ ७७)। वरिष्ठ आख्यानकार गीता केशरीलाई पन्तले नेपाल प्रज्ञा प्रतिष्ठानको पहिलो महिला सदस्य सचिवको रूपमा पाउँदा गर्व गरेका छन् (पृष्ठ ८३)।
नेपाली साहित्यको विशिष्ट अन्वेषक शिव रेग्मीको कल्याणकारी स्वभावको चर्चा गरिएको छ (पृष्ठ ८७)। १००८ स्वामी चन्देशजी महाराजले मानव जीवनलाई केन्द्रविन्दुमा राखेर शङ्खघोष किताबमार्फत् जनमानसमा महत्त्वपूर्ण चेतना फैलाउने प्रयास गरेका छन् (पृष्ठ ९५)।
अंग्रेजी विषयको अध्यापक तथा बहुआयमिक प्रकृतिको लेखकका रूपमा उभ्याएका मोहन सिटौलाले देशको जल्दोबल्दो युवाशक्ति विदेशतिर पलायन भएको अवस्थाबारे लेख- निबन्धहरूबाट आममानिसलाई सुसूचित गराएको चर्चा गरिएको छ (पृष्ठ ९९)। आधुनिक नेपाली गीतको संसारमा गायिका अरुणा लामाले करुण रसकै गीत गाएको परिचय लेखकले दिएका छन् (पृष्ठ १०५)।
राष्ट्रवादी व्यक्तित्वका रूपमा गणेश रसिकको प्रशंसा गरेका पन्तले अन्त्यमा एक स्रष्टालाई ईश्वरले कतिसम्म पीडा दिने रहेछ भन्दै उनको बारेमा जीवनका भोगाइले पाठकलाई भावुक बनाउँछ (पृष्ठ १०८)। कर्मशील र धर्मशील व्यक्ति समाजसेवी हिमलाल ज्ञवालीको सामाजिक, सांस्कृतिक, साहित्यिक, सञ्चार र स्वास्थ्यको क्षेत्रमा पुर्याउनु भएको योगदानको चर्चा गरिएको छ (पृष्ठ १११)।
पन्तले नेपाल सरकारको एक असल र इमान्दार राष्ट्रसेवक र नेपाली कवि व्यक्तित्व राधेश्याम भट्टराईको सशक्त प्रतिभाको वर्णन गरेका छन् (पृष्ठ ११८)। लेखकले आफ्ना बालसखा स्वामी सत्यदेवको विलक्षण प्रतिभाको परिचय दिएका छन् (पृष्ठ १२१)।
वाङ्मयसेवी शेषराज सिवाकोटी शीर्षकको लेखमा न्यानसेवाबाट बचेको समय साहित्यमा लगाएका उनलाई कर्मयोगी साहित्य साधकको रूपमा पाठकलाई चिनाएका छन् (पृष्ठ १२७)।
राजनीति समाजसेवा र कृति सम्पादन जस्ता सेवाका तीनवटा पाटामा खरो उत्रेका सफल व्यक्तित्व जीवनचन्द्र कोइराला जस्तो इमान्दार, मिलनसार, लगनशील सफल व्यक्तित्वको कोरोनाको कहरले जीवनलाई गुमाएका क्षणले पाठकलाई कोरोनाको डरलाग्दो क्षणको पुन: सम्झना गराउँछ (पृष्ठ १३४)।
जेपी प्रतिष्ठानका संस्थापक अध्यक्ष मित्रसेन दाहाललाई उत्कृष्ट सत्ताइस स्रष्टाको अन्त्यमा राखेका पन्तले यस कृति प्रकाशन गर्ने क्रममा स्रष्टाहरूको उमेरअनुसार क्रमबद्ध गरेर व्यक्तिपूजन गरेका छन्। अल्पायुमानै यस संसारबाट बिदा हुन पुगेका कर्मयोगी मित्रसेनको सामाजिक, राजनीतिक, शैक्षिक, व्यवसायिक, साहित्यिक सबै क्षेत्रबाट प्रशंसा आर्जन गरेका बहुआयामिक स्रष्ट्राका रूपमा उभ्याएका छन् (पृष्ठ १३७)।
सत्ताइस स्रष्टा आफैंमा उत्कृष्ट छन्, जसका कारण यस पुस्तकको शीर्षकले सार्थकता पाएको महसुस हुन्छ। कसैप्रति आग्रह र पूर्वाग्रह नराखिएको यस पुस्तकमा लेखक पन्तको लेखकीय इमानदारी छचल्किएको छ। लेखकले आफूलाई काम गरिरहन मन लाग्ने बताउँदै सबैको स्नेहले साहित्यमा क्रियाशील हुन सम्भव भएको उल्लेख गरेका छन्। दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष समेत रहेका रामप्रसाद पन्तको पुस्तक पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले लोकार्पण गर्ने क्रममा साहित्यकार र पाठकबीच अन्योन्याश्रित सम्बन्ध रहने हुँदा साहित्य विशिष्ट सेवा भएको बताएका छन् ।
पन्तले यस पुस्तकमा सत्ताइस जना स्रष्टाहरूका कथाव्यथाहरूलाई जीवन्तता प्रदान गर्ने जमर्को गरेका छन् । नेपाली समाज, विद्यार्थी, साहित्यनुरागी, नेपाली राजनीति साथै नेपालको साहित्यमा चासो राख्ने हरकोहीका निम्ति यो पुस्तक उपयोगी हुने देखिन्छ ।
३५० रूपैयाँ मूल्य रहेको यस पुस्तकमा १४४ पृष्ठ छन् । अन्तिम ६ पृष्ठमा लेखक परिचय राखेका बहुमुखी प्रतिभाका धनी, सिर्जनशीलताका प्रतिमूर्ति लेखक पन्तको निजीस्तरबाट लामो समयसम्म साहित्य सेवामा लागिरहनु ठूलो त्याग मान्न सकिन्छ। साहित्यलाई जीवनको एउटा अभिन्न अंगको रूप मान्ने लेखकलाई यस महत्त्वपूर्ण पुस्तक पाठकसमक्ष ल्याउनुभएकोमा धेरै धेरै शुभकामना !
पुस्तकको नाम : उत्कृष्ट सत्ताइस स्रष्टा
विधा: संस्मरण
लेखकट : रामप्रसाद पन्त
प्रकाशक : दायित्व वाङ्मय प्रतिष्ठान, नेपाल (२०८१) काठमाडौं।
मूल्य : रू. ३५०।–
[कनौजे बैंकिङ क्षेत्रमा कार्यरत छन्।]