
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३१ अर्ब ९७ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
आइतबार प्रदेश सभा बैठकमा अर्थमन्त्री डा. टंकराज गुरुङले ३२ अर्ब नजिकको बजेट सार्वजनिक गर्दै प्रदेशको समावेशी तथा दिगो विकासमा केन्द्रित योजना प्रस्तुत गरेका हुन् ।
प्रस्तावित बजेटमध्ये १२ अर्ब ६३ करोड रुपैयाँ (३९.५ प्रतिशत) चालुतर्फ विनियोजन गरिएको छ भने पुँजीगत खर्चका लागि १९ अर्ब ९ करोड रुपैयाँ (५६.७ प्रतिशत) छुट्याइएको छ ।
वित्तीय व्यवस्थातर्फ २५ करोड रुपैयाँ छुट्याइएको मन्त्रालयले जनाएको छ ।
प्रदेशले सङ्घीय सरकारबाट समानीकरण अनुदानको रूपमा ७ अर्ब ९३ करोड, राजस्व बाँडफाँटमा ९ अर्ब ७९ करोड र रोयल्टीबाट ४९ करोड रुपैयाँ प्राप्त गर्ने अनुमान गएको छ ।
यस्तै, ससर्त अनुदान ३ अर्ब ३५ करोड, समपूरक अनुदान ६३ करोड र विशेष अनुदान ४९ करोड रहने बताइएको छ ।
आन्तरिक स्रोतबाट गण्डकी प्रदेशले ५ अर्ब ४५ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ ।
अर्थमन्त्री गुरुङले प्रस्तुत गरेको बजेटले भौतिक पूर्वाधार, पर्यटन, कृषि, स्वास्थ्य र शिक्षा क्षेत्रमा प्राथमिकता दिने उल्लेख गरिएको छ ।