
तेहरान/तेलअभिव — इजरायली प्रधानमन्त्री कार्यालयका अनुसार, इरानले चार दिनको अवधिमा इजरायलतर्फ ३७० वटा ब्यालिस्टिक मिसाइल र सयौं ड्रोन प्रहार गरेको छ।
शुक्रबारदेखि सुरु भएको झडपमा सोमबार बिहानसम्म इजरायलमा २४ जनाको मृत्यु भएको छ भने ५९२ जना घाइते भएका छन्। घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको इजरायली अधिकारीहरूले जनाएका छन्। मिसाइल र ड्रोन आक्रमणबाट इजरायलका ३० स्थानमा सटीक रूपमा क्षति पुगेको बताइएको छ।
इरानमा पनि हिंसात्मक घटनाका कारण ठूलो मानवीय क्षति भएको छ। इरानी स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै सरकारी सञ्चार माध्यमहरूले जनाएअनुसार, शुक्रबारदेखि आइतबारसम्म कम्तीमा २२४ जनाको मृत्यु भएको छ।
मध्यपूर्वमा फेरि चर्किएको तनावका कारण दुबै देशमा मानवीय संकट गहिरिँदै गएको छ। विश्लेषकहरूका अनुसार, हालको अवस्था नियन्त्रणबाहिर गए क्षेत्रीय युद्धमा रुपान्तरण हुन सक्ने सम्भावना बढेको छ।