
कन्सर्ट सकिएपछि नेपथ्यका सदस्यहरूले मञ्चमा लामबद्ध भई अभिवादन गरिरहँदा दर्शकदीर्घामा उथलपुथल चलिरहेकै थियो । हलभरिको जमातले एक स्वरमा आवाज निकालिरहेको थियो, ‘नेपथ्य, नेपथ्य...।’
चर्को आवाजकैबीच सहयोगी कलाकारहरू ध्रुव, सुविन, नीरज, शान्ति र दिनेश झुकेर नमस्ते गर्दै मञ्चबाट बाहिरिए । दर्शकको माया देखेर भावुक गायक अमृत भने केहीबेर अडिएर मात्र बिदा लिए । दर्शकदीर्घामा भने नारा लागिरहेकै थियो ।
शनिबार मञ्च र दर्शकदीर्घा बीचको हार्दिकता उत्कर्षमा पुगेकै क्षण नेपथ्यले नर्थ क्यारोलाइना राज्यको ग्रिन्सबोरो शहर मात्र होइन, यस वर्षको महिनादिन लामो सिंगो अमेरिका यात्राबाट बिदा लिएको छ ।
‘बिसवर्षे अमेरिका बसाइँका क्रममा मैले विशाल रंगशालामा आयोजितदेखि लिएर रङ्गमञ्चहरूका अनेक विश्वप्रसिद्ध प्रस्तुति हेर्दै आएको छु,’ फ्लोरिडाको सेन्ट अगस्टिन सहरबाट सात घण्टा लामो मोटरयात्रा गर्दै सपरिवार आएका पंकजनाथ शर्मा भनिरहेका थिए, ‘आजको नेपथ्य प्रस्तुतिजस्तो कार्यक्रम मैले अमेरिकामा विरलै अनुभव गर्न पाएँ ।’
यस्तै मिल्दोजुल्दो प्रतिक्रिया सामाजिक सञ्जालमा पनि देख्न पाइन्थ्यो । दर्शकमध्येकै चन्द्र गिरी बारम्बार फेसबुकमा लाइभ गरिरहेका थिए । कन्सर्ट उत्कर्षमा पुग्नै लाग्दा उनलाई लाइभ गरिरहेर मात्र चित्त बुझेन र केही लाइन कोरेर पोस्ट गरे, ‘अमृत गुरुङ कवि, संगीतकार, गायक, फोटोग्राफर, फिल्म निर्माता र पैदलयात्री हुन् । नेपथ्यमार्फत उनको संगीतले शान्ति, न्याय र प्रकृतिका पक्षमा उनी भित्रको बलियो आस्थालाई पनि झल्काउँछ ।’ यति लेखिसकेपछि उनले फेरि कन्सर्टका लाइभ दृश्यहरू पोस्ट गर्न थाले ।

फ्लोरिडामै रहेर सूचना प्रविधिको क्षेत्रमा कार्यरत पंकजका अनुसार कन्सर्टले नेपथ्यसँग जोडिएका सम्झना, पहिचानका साझा सरोकार र स्वदेशको मायाजस्ता कुरा उजिल्याएको थियो भने अर्कातर्फ सिङ्गो प्रस्तुति अत्यन्त व्यवस्थित हुनाले दर्शक सन्तुष्ट बनेका थिए ।
‘एकातिर श्यामश्वेत तस्वीरहरू देखाउँदै पुराना गीतहरू सुनाएर भावुक बनाउने क्रम चलिरहेको थियो भने अर्कातिर तीव्र गतिका गीतहरूको प्रस्तुतिलाई अझ प्रभावकारी बनाउन सुहाउँदो हिसाबको झिलिमिली इफेक्ट्सले ऊर्जा थपेको थियो,’ पंकजले भने, ‘यी सब गतिविधिले सांगीतिक माहोलको माधुर्यलाई पटक्कै छायामा नपारेर गीतको भावलाई अझ प्रभावशाली बनाइरहेको महसुस हुन्थ्यो ।’
गीतका बीच-बीचमा गायक अमृतले दिने छोटा मन्तव्यमा पनि दर्शक उत्तिकै रमाएका देखिन्थे । ती शब्दहरूमा आफ्नो भावना मेल खाएको आनन्द उनीहरूको ताली र अनुहारको रङमा प्रतिविम्बित हुन्थ्यो । जस्तो कि ‘यो जिन्दगानी’ गीत गाइसकेपछि अमृतले आह्वान गरेका थिए, ‘महिनामा एक दिनको कमाइ कम्तीमा आफ्नै गाउँठाउँको यस्तो बच्चाको पढाइका लागि छुट्याइदिनुस्, जसले शिक्षाको उज्यालो देख्न पाएको छैन र जसले तपाईंको सानो योगदानबाट भविष्यमा देशका लागि केही गर्न सकोस् ।’
प्रतिक्रियामा हलभरिका दर्शक उत्साहसहित चिच्याएका थिए । यता अमृत पनि थामिँदैन थिए र थप्थे, ‘धन हुनेले थुपार्ने हो, मन हुनेले दिने हो’, दर्शक अझ उत्साहित बन्न पुगे ।
यस्ता मन्तव्यका क्रममा उनले बिदेसिएका आफन्तसँगको अनुभव पनि सुनाए । जस्तो कि शनिबार पनि उनले ‘रेश्शम' गीत सकिने बित्तिकै भने, ‘यहाँ आएको बेला अस्ति एक जना साथीकी छोरीको घर गएको थिएँ । छोरीको सानो बाबुले त अंग्रेजी मात्र बोल्दो रहेछ । छोरीज्वाइँ पनि अंग्रेजीमै कुरा गर्ने । स्कूल जान थालेपछि अलमल बढेर अंग्रेजी मात्र बोल्न लगाएका रे । जबकि बच्चाहरूले त एकैपटकमा धेरै भाषा सिक्न सक्छन् । सकेसम्म मातृभाषा पनि सिकाउनुस् । होइन भने कम्तीमा नेपाली त सिकाउनै पर्छ । हामीलाई एकताबद्ध र मजबुत राख्ने नै राष्ट्रिय भाषाले हो ।’
दर्शकदीर्घामै रहेर ताली पिट्दै झुमिरहेकामा गायक मोहन भुसाल पनि थिए । ‘एउटा संगीतकर्मीका रूपमा मैले यस कार्यक्रमबाट धेरै सिक्न पाएँ । संगीत, मनोरञ्जन, सद्भाव र सन्देशको गज्जबको सम्मिश्रण । यो कार्यक्रम अन्तर्राष्ट्रियस्तरको पाएँ । नेपाली कार्यक्रमको स्तरलाई यसले अर्कै उचाइमा पुर्याएको अनुभव भयो,’ उनी भन्दै थिए, ‘दुई घण्टा बितेको थाहै पाएनौं ।’

कन्सर्टको भव्यता देखेर ग्रिन्सबोरोका दर्शक मात्र होइन, आयोजनास्थल ‘पिडमोन्ट हल’का व्यवस्थापक कारा टायरी पनि दङ्ग थिइन् ।
‘हलभरिका दर्शकलाई त्यस्तरी रमाइलो पार्ने कन्सर्ट ठ्याक्कै भनेकै समयमा शुरू भएर भनेकै समयमा अन्त्य हुनु अझ गज्जब लाग्यो, जुन यहाँ हत्तपत्त देख्न पाइँदैन,’ उनले भनिन्, ‘फेरि आउनुस्, तपाईंहरूलाई स्वागत छ ।’
अमेरिकाको यस राज्यमा नेपथ्यलाई पहिलोपटक प्रस्तुत गराउने आयोजक टोलीका विक्रम श्रेष्ठ पनि शनिबारको भव्य कन्सर्टबाट हौसिएका देखिन्थे ।
यो प्रस्तुतिसँगै नेपथ्यको सातौं अमेरिका यात्रा सम्पन्न भएको छ । यो वर्ष महिनादिन लामो शृंखलाबद्ध यात्रामा ब्यान्ड अस्टिन, सियाटल, लस एन्जलस, पिट्सबर्ग, सिकागो, बोस्टन हुँदै ग्रिन्सबोरो आइपुगेको हो ।
यस यात्रालाई सफलताका साथ सम्पन्न गर्ने कलाकार, व्यवस्थापक, प्राविधिकसहितको १४ सदस्यीय टोली यसै साता स्वदेश फिर्नेछ ।