
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री एवं समाजवादी चिन्तक ढुण्डिराज शास्त्रीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
शास्त्रीको काठमाडौं मेडिकल कलेज, सिनामंगलमा उपचारका क्रममा ९० वर्षको उमेरमा सोमबार बिहान निधन भएको हो ।
सभापति देउवाले शोक विज्ञप्तिमार्फत् उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
शास्त्री नेपालको प्रजातान्त्रिक आन्दोलनका एक अथक योद्धा, सरल र निष्ठावान राजनीतिज्ञ, समाजवादी चिन्तक रहेको देउवाले बताएका छन् ।
कांग्रेसले संगठन निर्माण र प्रजातान्त्रिक आन्दोलनमा शास्त्रीले पुर्याएको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहने उल्लेख गरेको छ ।
शास्त्रीको पार्थिव शरीरलाई यही असार ४ गते बिहान ९:०० बजेदेखि ११:०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने कार्यक्रम छ ।
कांग्रेसको राजनीतिमा जननायक वीपी कोइराला, लौहपुरुष गणेशमान सिंह, सन्त नेता कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालालगायतका शीर्ष नेतासँग निकटमा रहेर शास्त्रीले काम गरेका थिए ।
शास्त्री आम निर्वाचन २०४८ र २०५१ मा अर्घाखाँची निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।