२३ असार २०८३, मंगलबार

यूके र लिथुआनिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ

असार ४, २०८२
काठमाडौं
यूके र लिथुआनिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी यूके र लिथुआनिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने धनुषा जनकपुरधाम उपमहानगरपालिका-४ घर भएकी २६ वर्षीया सुजनी कुमारी साह, काठमाडौं महानगरपालिका-३ बस्ने सुनसरी धरान उपमहानगरपालिका-३ घर भएका ३४ वर्षीय दीपक कुमार उदास र भक्तपुर चाँगुनारायण नगरपालिका-१ बस्ने २३ वर्षीया रेशिका हमाल न्यौपाने रहेका छन् । 

पक्राउ परेकामध्ये सुजनी कुमारीले यूके पठाइदिन्छु भन्दै १ जना पीडितबाट १७ लाख ४ हजार रूपैयाँ, दिपक कुमारले यूके पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ३४ हजार रूपैयाँ र रेशिकाले लिथुआनिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख ८ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुजनी कुमारी र रेशिकालाई काठमाडौं महानगरपालिका-३२ बाट तथा दीपक कुमारलाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको  छ ।     
 

salt training

कमेन्ट गर्नुहोस्