०८ साउन २०८३, शुक्रबार
इरान-इजरायल युद्ध

इजरायली आक्रमणले तेहरानमा त्रासको माहोल– बजार सुनसान, राजधानी छाड्न नाकाहरूमा भीड

असार ४, २०८२
काठमाडौं
इजरायली आक्रमणले तेहरानमा त्रासको माहोल– बजार सुनसान, राजधानी छाड्न नाकाहरूमा भीड

इजरायली युद्धक विमानले इरानको राजधानी तेहरानमा मंगलबार रातभर र बुधबार बिहानसम्म आक्रमण गरेपछि स्थिति थप जटिल बन्दै गएको छ ।

इजरायली सेनाका अनुसार आक्रमणमा युरेनियम सेन्ट्रिफ्युज बनाउने कारखाना र मिसाइलका पुर्जा उत्पादन हुने केन्द्रमा क्षति पुगेको छ ।

इजरायलले शुक्रबार आकस्मिक रूपमा शुरू गरेको यो सैन्य कारबाही निरन्तर जारी छ ।

वाशिङ्टनस्थित एक मानवअधिकारवादी संस्थाले दिएको जानकारीअनुसार, अहिलेसम्म ५८५ जनाको मृत्यु भइसकेको छ, जसमा २३९ जना सर्वसाधारण रहेका छन् । घाइते हुनेको संख्या १,३०० नाघिसकेको छ ।

तेहरानमा त्रासदीको माहोल

राजधानी तेहरानभर पसलहरू बन्द छन् । प्रसिद्ध ग्रान्ड बजारसमेत सुनसान देखिएको छ । मानिसहरू ग्यासको लाइनमा उभिएका छन् भने थुप्रै राजधानी छाड्न प्रमुख नाकाहरूमा लाम लागेका छन् ।

इरानले इजरायलमाथि करिब ४०० मिसाइल र सयौं ड्रोन आक्रमण गरिसकेको छ । ती आक्रमणमा कम्तीमा २४ जना इजरायलीको मृत्यु भएको छ भने सयौं घाइते छन् ।

केन्द्रीय इजरायलमा केही मिसाइल अपार्टमेन्ट भवनमा खसेका छन्, जसले व्यापक क्षति पुर्‍याएको छ । बारम्बार साइरन बज्दा मानिसहरू सुरक्षित स्थानमा भागिरहेका छन् ।

बुधबार केही सीमित मिसाइल प्रहार भए पनि इजरायली पक्षले इरानी प्रक्षेपक उपकरणहरूलाई लक्षित गर्दै आक्रमणलाई जारी राखेको छ ।

इजरायली रक्षामन्त्री इजरायल काट्जले सामाजिक सञ्जालमार्फत लेखेका छन्, 'तेहरानमाथि आँधी चलेको छ । यस्तैगरी तानाशाहीहरू ढल्छन् ।'

इजरायली सरकारले भनेको छ, 'इरानलाई आणविक हतियार बनाउनबाट रोक्नु नै मुख्य उद्देश्य हो ।'

दुई महिनादेखि चलिरहेको अमेरिका–इरान वार्ता निष्कर्षमा नपुगेपछि इजरायली आक्रमण शुरू भएको बताइएको छ ।

इरानले भने आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण रहेको दाबी गर्दै आएको छ । तर, हाल उसले युरेनियमलाई ६० प्रतिशतसम्म प्रशोधन गरिरहेको छ, जुन हतियार-स्तरको ९० प्रतिशतबाट निकै नजिकको प्रविधि हो ।

अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत इरानलाई 'शर्तविहीन आत्मसमर्पण' गर्न चेतावनी दिएका छन् ।

उनले इरानी सर्वोच्च नेता आयातोल्लाह अली खमेनी कहाँ लुकेका छन् भन्ने जानकारी अमेरिकासँग रहेको दाबी गरेका छन् । यद्यपि, अहिलेका लागि उनलाई लक्षित गर्ने योजना नरहेको ट्रम्पको प्रस्टोक्ति छ ।

ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूबीच टेलिफोन संवाद भएको सञ्चार माध्यमहरूले जनाएका छन् । उता, इरानी सैन्य अधिकारीहरूले थप आक्रमणको चेतावनी दिँदै इजरायललाई सजाय दिने अभियान चाँडै शुरू हुने बताएका छन् ।

बुधबार बिहान ५ बजेतिर तेहरानमा शक्तिशाली विस्फोटका आवाजहरू सुनिएका छन् ।

ती विस्फोटहरू हकीमियेह क्षेत्रमा केन्द्रित देखिएका छन्, जहाँ इरानी ‘रिभोल्युशनरी गार्ड’ को एकेडेमी रहेको छ । अधिकारीहरूले यी आक्रमणबारे कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन् ।

द्वन्द्व शुरू भएयता बन्द रहेको इजरायलको अन्तर्राष्ट्रिय विमानस्थल बुधबार बिहानदेखि पुनः सञ्चालनमा आएको छ । साइप्रसको लारनाका शहरबाट आएका दुईवटा विमान तेलअवीवको बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।

विमानस्थलका प्रवक्ता लिसा डभिरका अनुसार, इजरायलले ब्यालेस्टिक मिसाइल आक्रमणको जोखिमका कारण व्यावसायिक उडानहरू स्थगित गरेको थियो, जसका कारण हजारौं इजरायली नागरिक विदेशमै अड्किएका थिए । हाल युद्धका कारण सम्पूर्ण क्षेत्रको हवाई यातायात प्रभावित भएको छ ।

एपीको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्