
अन्तर्राष्ट्रिय क्रिकेटमा सधैँ अभागी सावित हुँदै आएको दक्षिण अफ्रिकाले अन्ततः सन् २०२५ मा आफूमाथि लागेको त्यो दाग मेटायो । दक्षिण अफ्रिकाले आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको चौथो संस्करणको उपाधि जितेर आफूलाई अब्बल सावित गर्यो ।
टेस्ट च्याम्पियनसिपको फाइनलमा दक्षिण अफ्रिकाले बलियो प्रतिद्वन्द्वी अस्ट्रेलियालाई पाँच विकेटले हराएको थियो । दक्षिण अफ्रिकाले २७ वर्षपछि आईसीसीको कुनै पनि ठूलो ट्रफी जितेको हो ।
यसैबीच, दक्षिण अफ्रिकाका प्रभावशाली क्रिकेटर एबी डे भिलियर्सले विश्व टेस्ट च्याम्पियनसिपको ढाँचालाई लिएर असन्तुष्टि व्यक्त गरेका छन् । उनले प्रतियोगिताको ढाँचामा सुधार ल्याउनु पर्ने सुझाव अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) लाई दिएका छन् ।
४१ वर्षीय डे भिलियर्सले विश्व टेस्ट च्याम्पियनसिपको फाइनल प्रत्येक चार–चार वर्षमा आयोजना हुनुपर्ने सुझाव आईसीसीलाई दिएका हुन् । उनले नयाँ पुस्तामा टेस्ट क्रिकेटप्रति उदासिनता बढ्दै गएकाले पनि टेस्ट च्याम्पियनसिपलाई सीमित ओभरको विश्वकपकै हाराहारीमा उभ्याउनु पर्ने बताए ।
‘लामो ढाँचाको क्रिकेट जोगाउने हो भने टेस्ट च्याम्पियनसिपलाई पनि सीमित ओभरको प्रतियोगिताकै स्तरमा पुर्याउनु पर्छ । यसलाई पनि एकदिवसीय विश्वकपको बराबर लोकप्रिय बनाउनु पर्छ । त्यसैले टेस्ट च्याम्पियनसिपको फाइनल चार–चार वर्षमा गराउनु पर्छ,’ उनले भनेका छन् ।
उनले टेस्ट च्याम्पियनसिपमा टेस्ट खेल्ने राष्ट्रलाई बराबरको अवसर प्रदान गर्नुपर्ने र अन्य राष्ट्रलाई पनि क्रमशः समेट्दै लैजानु पर्ने धारणा व्यक्त गरेका छन् । ‘टेस्ट च्याम्पियनसिपको फाइनल जित्ने टोलीले पनि गौरवको अनुभूति गर्ने वातावरण बनाउनु पर्छ,’ डे भिलियर्स भन्छन् ।
उनले पछिल्लो समय टेस्ट क्रिकेट आफ्नो अस्तित्व जोगाउन संघर्षरत रहेको पनि बताएका छन् । ‘टेस्ट क्रिकेट संकटमा छ । चाहेर पनि सबै राष्ट्रले टेस्ट आयोजना गर्न सकिरहेका छैनन् । आईसीसीले पनि सबैलाई समान अवसर दिएको छैन । दक्षिण अफ्रिकाले पनि सन् २०२६ को अक्टोबरसम्म टेस्ट आयोजनाको अवसर पाएको छैन, यो दुर्भाग्य हो,’ उनले भनेका छन् ।
विश्व टेस्ट च्याम्पियनसिपको शुरूआत सन् २०१९ बाट भएको हो । हालको ढाँचामा टेस्ट च्याम्पियनसिपको फाइनल प्रत्येक दुई वर्षमा हुन्छ । हालको ढाँचा अनुसार दुई वर्षको अवधिमा प्रत्येक टोलीले कम्तीमा ६ वटा टेस्ट खेल्छ । त्यसमध्ये तीनवटा शृंखला घरेलु मैदानमा र तीनवटा शृंखला विपक्षीको मैदानमा खेलिन्छ ।