१९ असार २०८३, शुक्रबार

दैलेखमा भेटियो ११२ अर्ब घनमिटर ग्यास, करिब ६० वर्षसम्म नेपालको खपत धान्ने

असार ५, २०८२
काठमाडौं
दैलेखमा भेटियो ११२ अर्ब घनमिटर ग्यास, करिब ६० वर्षसम्म नेपालको खपत धान्ने

दैलेखमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्यास रहेको पत्ता लागेको छ । दैलेखको भैरवी गाउँपालिका-१ जलजलेमा ११२.१ अर्ब घनमिटर प्राकृतिक ग्यास रहेको प्रारम्भिक अध्ययनले देखाएको हो ।

सन् २०१९ देखि अध्ययन गरिरहेको चाइना जिओलोजिकल सर्भेको अध्ययनले दैलेखमा ठूलो मात्रामा प्राकृतिक ग्यास रहेको देखाएको हो । चीनले ११३ मिलियन आरएमबी अर्थात् करिब २ अर्ब १७ करोडको लगानीमा यो अध्ययन गरेको हो । जुन करिब ६ वर्षमा सम्पन्न भएको छ । 

प्रारम्भिक अध्ययनले वातावरणमैत्री ठूलो मात्रामा प्राकृतिक ग्यास भेटिएको खानी तथा भूगर्भ विभागका उपमहानिर्देशक तथा प्रवक्ता दिनेशकुमार नापितले लोकान्तरलाई बताए । 

‘हामीले पेट्रोलियम नै अथवा लिक्विड ओयल भेटेको होइन । ठूलो मात्रामा ग्यास भेटिएको हो । जसमा करिब ९० प्रतिशतभन्दा बढी मिथेन ग्यास रहेको देखिएको छ’, उनले भने, ‘सीएनजीको रूपमा हामीले यो ग्यास प्रयोग गर्न सक्छौं । जुन एलपीजी ग्यासभन्दा बढी वातावरणमैत्री रहेको छ । यसले एलपीजीलाई विस्थापित गर्न सक्छ ।’

प्रारम्भिक अध्ययन प्राप्त भएसँगै परीक्षणका लागि विभागले प्रक्रिया अघि बढाइरहेको छ । चीनले अध्ययनसँगै ग्यासको परीक्षण पनि आफैंले गर्नका लागि प्रस्ताव समेत गरेको छ । परीक्षणको लागत करिब ६५ करोड लाग्ने अनुमान गरिएको छ ।

ग्यासको परीक्षणपछि मात्रै यसको उत्पादन नेपाल सरकार स्वंले पनि गर्न सक्नेछ भने, यसका लागि कुनै निजी कम्पनीलाई पनि दिन सक्ने विभागको भनाइ छ । 

अबको एक वर्षभित्रै ग्यासको उत्पादन गर्ने लक्ष्यसहित अगाडि बढ्ने उद्योग, वणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बताए । नेपालका लागि यो सबैभन्दा ठूलो फड्कोको रूपमा रहेको उनको भनाइ छ ।

‘हामीले यसलाई छिटोभन्दा छिटो उत्पादन प्रकृयामा लैजाने प्रयास गरिरहेका छौं । एक वर्षभित्रै उत्पादनमा जानेगरी हामी तयारी गरिरहेका छौं’, मन्त्री भण्डारीले भने, ‘हाम्रो लागि ठूलो कुरा हो । यसले पक्कै पनि हाम्रो आयातलाई काम गर्न ठूलो भूमिका खेल्ने छ । मन्त्रालय यसमा सकारात्मक छ ।’

दैलेखमा भेटिएको ग्यास करिब ११७ खर्ब रूपैयाँ बढी मूल्यको रहेको अध्ययनले देखाएको छ । यसका साथै अहिले नेपालमा ग्यासको खपतलाई आधार मान्दा करिब ६० वर्षसम्म नेपालमा ग्यासको खपत धान्न सक्ने प्रतिवेदनले देखाएको छ ।

हालसम्म ४ हजार १३ मिटर ड्रिल गरिएको छ । जहाँ करिब ९० प्रतिशत भन्दाबढी मिथेन ग्यास रहेको पाइएको छ । सन् २०१६ मा चीन भ्रमणका क्रममा नेपालमा पेट्रोलियम पदार्थको सम्भाव्यता अध्ययन गरिदिने समझदारी भएको थियो । सन् २०१७ अगस्तमा चीनसँग पेट्रोलियम पदार्थ अध्ययनका लागि सहयोग गर्ने सम्झौता भएको थियो । 

अर्थात् चीनले आफ्नै लगानीमा ग्यासको अध्ययन गर्ने सम्झौता गरेको थियो । तर, सन् २०१९ फेब्रुअरीमा कार्यान्वयनका लागि सम्झौता भएको थियो । यो सम्झौता खानी तथा भूगर्भ विभाग र चाइना फिजियोलोजी सर्भेसँग भएको थियो । 

सर्भेले प्रारम्भिक अध्ययनको प्रतिवेदन बुझाउने अवधि सन् २०२५ को डिसेम्बरसम्म । तर, केही दिनअघि मात्रै विभागलाई उक्त अध्ययनको प्रतिवेदन पठाइसकिएको छ । 

अब विभागले प्राप्त गरेको अध्ययन प्रतिवेदनमा मन्त्रालयबाट प्रक्रिया अगाडि बढाएर परीक्षणको काम गरिनेछ । परीक्षणका लागि करिब ७५ दिन लाग्ने जनाइएको छ । चीनले परीक्षण पनि आफैं गर्नका लागि मन्त्रालयलाई प्रस्ताव गरेको छ । 

यसका साथै नेपालका तीन स्थानमा पनि ठूलो मात्रमा ग्यास रहेको अनुमान गरिएको छ । दाङ, पाल्पा र सुनसरीमा करिब ४३० अर्ब घनमिटर ग्यास रहेको विभागको अनुमान छ । यद्यपि, यसको अध्ययन हुन बाँकी छ ।

 


 

salt training

कमेन्ट गर्नुहोस्