
नेपाल विद्यार्थी संघ (नेविसंघ)मा सभापति भइसकेका १० नेता यतिखेर माउ पार्टी कांग्रेसको सभापतिदेखि केन्द्रीय सदस्यसम्म महत्वपूर्ण जिम्मेवारीमा छन् । नेविसंघमा उपसभापति र महामन्त्री भइसकेका नेता पनि केन्द्रीय तहको राजनीतिमा सक्रिय छन् ।
२०२८ सालमा सभापति भएका शेरबहादुर देउवा यतिखेर कांग्रेसको पार्टी सभापति छन् । २०५३ सालमा नेविसंघको सभापति भएका धनराज गुरुङ पार्टीका उपसभापति हुन् । २०५७ सालमा नेविसंघको सभापति चुनिएका विश्वप्रकाश शर्मा कांग्रेसमा कार्यकारी महामन्त्रीको भूमिकामा छन् ।
नेविसंघमा सभापति भएका विमलेन्द्र निधि, प्रदीप पौडेल, एनपी साउद, ज्ञानेन्द्रबहादुर कार्की, बलबहादुर केसी, बालकृष्ण खाँण, गोविन्द भट्टराई, कल्याण गुरुङ, नैनसिंह महरसम्म कांग्रेसको केन्द्रीय नेतृत्वमा छन् ।
नेविसंघमा उप–सभापति भएका खड्का अहिले पार्टीमा उप–सभापति छन् । नेविसंघमा महामन्त्री भएका गगन थापा पार्टी महामन्त्री हुन् ।
नेविसंघमै महामन्त्री भएका डा. प्रकाशशरण महत कांग्रेसको प्रवक्ता र नेविसंघको महामन्त्री भएका बद्री पाण्डे पार्टीको सह–महामन्त्री छन् । त्यस्तै, नेविसंघका महामन्त्री भएका चन्द्र भण्डारी पार्टीको केन्द्रीय तहमा छन् । यीसँगै केन्द्रीय नेतृत्वकै वरिपरि अन्य थुप्रै नेता छन् ।
नेविसंघ कांग्रेसको सबैभन्दा ठूलो भ्रातृ संस्था हो । देशमा निरंकुश शासन हुँदा राजनीतिक आन्दोलनको अग्रपंक्तिमा नेविसंघ हुन्थ्यो । शैक्षिक र सामाजिक मुद्दा उधिन्नेमा पनि नेविसंघ अग्रपंक्तिमा थियो । यसको विगत पार्टी र नेताहरूले गर्व गर्नलायक पनि छ । आजको कांग्रेसका नेताहरूको राजनीति टिकाउने नर्सरी पनि यही नेविसंघ हो । तर, विडम्बना नेविसंघको रापतापबाटै राजनीतिमा छाएका नेताहरूले नै वर्षौंदेखि यसलाई बन्धक बनाएका छन् । गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, गुरुराज घिमिरेजस्ता जुझारु नेता उत्पादन गरेको गर्विलो इतिहास नेविसंघको छ । तर, विडम्बना पार्टी नेतृत्वको लाचारीले गर्दा यी कुनै पनि नेताको हाराहारीमा एउटा पनि नेता नेविसंघले जन्माएको छैन । नेता उत्पादनको नर्सरीलाई कांग्रेस नेतृत्वले नराम्ररी सुकाइदिएको छ ।
अहिलेका केन्द्रीय नेता लगभग सबैलाई नेविसंघले नै पार्टी राजनीतिको ढोका खोलेको र स्थापित गरेको इतिहास छ । तर, यिनै नेताहरू तजबिजीमा चल्दै आएको पछिल्लो दुई दशकयता नेविसंघ भद्रगोल, बेथिति र बदनामीको शिकार भएको छ । वर्षौंसम्म अधिवेशन हुन नसकेपछि पार्टी नेतृत्वले तदर्थवादमा चलाउँदै आएको छ । तदर्थ समितिले समयमा महाधिवेशन पनि गर्न सकेका छैनन् । पार्टी नेतृत्वले पनि महाधिवेशन गर्ने गरी सहजीकरण गरेको छैन ।
निर्वाचित अध्यक्ष नैनसिंह महरले दुई वर्षमा महाधिवेशन गर्न नसकेपछि २०७५ सालमा राजीनामा दिएका थिए । तर, त्यसयताको ८/९ वर्षमा नेविसंघमा महाधिवेशनबाट नेतृत्व चयन हुन नसकेको हो । पटक–पटक तदर्थ समिति बनाउँदा पनि महाधिवेशन हुन सकेको छैन । सभापति देउवाले २०७६ मा राजीव ढुंगानाको नेतृत्वमा तदर्थ समिति बनाए । तर, महाधिवेशन हुन सकेन । फेरि २०७८ मा दुजाङ शेर्पाको संयोजकत्वमा तदर्थ समिति बनाइयो । उनी समितिमा आएको ४ वर्ष बढी भइसक्यो । तर, महाधिवेशन हुने सुनिश्चिता समेत भएको छैन । समयमा महाधिवेशन गर्नु त कता हो कता शेर्पाले नेविसंघमा ७५२ सदस्य पुर्याए । पार्टीका सबै गुटको दबाब र प्रभाव भएपछि गर्विलो इतिहास बोकेको नेविसंघको कार्यसमिति ७५२ सदस्यको जम्बो बनाइएको छ । तैपनि महाधिवेशन गर्ने सुरसार नै छैन ।
कांग्रेस केन्द्रीय सदस्य एवं नेविसंघका पूर्व सभापति एवं नैनसिंह महरले लोकतान्त्रिक पार्टीले लोकतान्त्रिक प्रक्रियालाई आत्मसात नगर्दा नेविसंघ अन्योल र झमेलामा फस्दै आएको बताए ।
‘कांग्रेसभा सभापतिदेखि केन्द्रीय सदस्य सबैको अनुहार हेर्ने हो भने उनीहरूको राजनीतिको जग नेविसंघ नै हो । यही आधारमा टेकेर राजनीतिक उचाइ हासिल गर्नुभएका नेताकै समयमा आज नेविसंघ अन्योलको स्थिति छ,’ महर भन्छन्, ‘नेविसंघलाई यो बेथितिबाट माथि उठाउने चुनावले नै हो । तर, लोकतान्त्रिक पार्टीले चुनाव होइन, तदर्थवादमा संगठनलाई चलाउन खोज्दा आजको नियति भोग्नुपरेको छ । हालीमुहाली भएका नेताले नेविसंघमा आफू नजिककालाई स्थापित गर्न खोज्दा दशौं वर्षसम्म तदर्थवादमा चल्ने र ७५२ सदस्यको जम्बो कार्यसमिति बन्ने अवस्था आएको हो ।’
गर्विलो इतिहास बोकेको ऐतिहासिक संस्थाको शाख फर्काउन महाधिवेशनमार्फत चुनावबाटै नेतृत्व स्थापित गर्नुपर्ने उनी बताउँछन् ।
वर्षौंसम्म महाधिवेशन गर्न नसकेपछि केहीदिन अगाडिसम्म फेरि यस्ता भ्रातृ संस्था भंग गर्नुपर्ने विषय सतहमा आए । तर, सभापति देउवाको निवासमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले दशैंसम्ममा महाधिवेशन गर्ने गरी पार्टीले कार्यतालिका दिने समझदारी गर्यो । यसपछि पनि नेविसंघको विवाद साम्य भएको छैन ।
केन्द्रीय सदस्य एवं नेविसंघका पूर्व सभापति ज्ञानेन्द्र कार्की हिजोको जस्तो आदर्श संगठन नभएको बताउँछन् ।
‘नेविसंघको आदर्श हिजो लोकतन्त्रका लागि थियो । अहिले परिस्थिति बदलिएको छ । त्यो आदर्शलाई आत्मसात गर्न नसकेको स्थिति छ । संगठनमा चरम महत्त्वाकांक्षा छ । अनुशासनको सीमालाई राम्ररी आत्मसात गर्न नसक्दा संगठनले आजको समस्या भोग्नुपरेको छ,’ कार्कीले भने, ‘वर्तमान नेविसंघको दायित्वलाई सही रूप ले ठम्याउन नसक्दा समस्या आएको हो । यसको निदान हिजोका गौरवपूर्ण त्याग, तपस्या भएको नेविसंघलाई फर्काएपछि मात्रै हुन्छ ।’
पार्टी नेतृत्वमा बसेकाले अनावश्यक गिजोल्दा सबैभन्दा ठूलो संगठनमा भद्रगोल र बेथिति आएको उनी बताउँछन् ।
‘हिजो नेविसंघले नेतृत्वलाई प्रेरित गर्थ्यो । पार्टीको कतिपय काम नेविसंघको ब्यानरमा हुन्थे । यसको इतिहासको भूमिकाप्रति हामी गौरव गर्छौं । तर, आज विडम्बना स्थिति त्यस्तो छैन,’ कार्की भन्छन्, ‘जानेर/नजानेर नेविसंघलाई बलियो होइन, आफ्नो मान्छेलाई बलियो बनाउन सबै नेता लाग्यौं, संस्थागत बनाउन लागेनौं । विधानअनुसार अगाडि बढ्नु नै समस्याको समाधान हो ।’
नेविसंघका पूर्व सभापति गुरु घिमिरे पार्टी नेतृत्वले खेलबाड गर्दा नेता उत्पादनको नर्सरी नेविसंघले बदनामी खेप्नुपरेको बताउँछन् ।
‘भविष्यका लागि राम्रा र असल नेता उत्पादन गर्नुपर्छ भन्ने दूरदृष्टिको अभाव देखियो । तर, नेताहरूले निजी र वैयक्तिक स्वार्थका कारण नेता उत्पादनको नर्सरीलाई वर्षौंदेखि सुकाइदिए, रोकिदिए,’ घिमिरे भन्छन्, ‘आउने पुस्ताको चिन्ता नेतृत्वमा देखिएन । अहिलेसम्म नेविसंघको जगले कांग्रेसको राजनीति थेगिएको छ । आउने निर्वाचनसम्म पनि धान्ला । तर, त्यसपछिका हरेक निर्वाचनमा कांग्रेसलाई नेतृत्वको संकट आउँछ । पार्टीले बेलैमा नसोच्दा नयाँ पुस्तामाथि दुर्व्यवहार र राजनीतिक बेइमानी भएको छ ।’
अहिलेसम्म नेविसंघले पार्टीमा शक्ति र ऊर्जा फैलाए पनि अब कांग्रेसका लागि नेतृत्व विकासमा संकटका दिन आउन लागेको उनी बताउँछन् ।
‘अहिलेसम्म जसोतसो नेविसंघ थेगिएको छ । नेविसंघकै ऊर्जा र शक्तिले आजको नेतृत्व स्थापित भएको हो । तर, आउने पुस्तालाई मोटिभेट गर्ने योजना र कार्यक्रम पार्टी नेतृत्वसँग भएन, छैन,’ घिमिरे भन्छन्, ‘यस्तो रिक्तताले गर्दा लोकतान्त्रिक शासन प्रणालीमा ठूलो संकट पैदा गर्छ । काम गर्ने पुस्ता नै तयार हुँदैन ।’
जति समय थपे पनि महाधिवेशन नहुने भन्दै घिमिरे तत्काल विघटन गरेर जानुपर्ने बताए ।
‘सबै भ्रातृ संस्थाको जति समय थपे पनि अधिवेशन हुँदैन । उनीहरूले पनि गर्दैनन् । पार्टीले पनि गर्नमा सकारात्मक भूमिका खेल्दैन,’ घिमिरे भन्छन्, ‘तसर्थ यिनीहरूलाई राख्ने होइन, भंग नै गर्नुपर्छ । त्यसपछि विधि, विधान र पद्धतिमा हिँड्ने नेविसंघ बनाउनुपर्छ ।’
२०७८ फागुनमा सभापति शेरबहादुर देउवाले महाधिवेशन नगरेको भन्दै नेविसंघ, महिला संघ र तरुण दलसहितका १० वटा भ्रातृ संस्थाको कार्यसमिति विघटन गरेका थिए । त्यसपछि ल्याइएका दुजाङले पनि महाधिवेशन गर्न नसकेका हुन् ।
चैत मसान्तभित्रै नेविसंघको महाधिवेशन गर्न समन्वयका लागि किशोरसिंह राठोरको संयोजकत्वमा तीन सदस्यीय निर्देशन समिति पनि बन्यो ।
समितिको सदस्यमा राजीव ढुंगाना र प्रतिमा गौतम छन् । यो समितिले पनि नेविसंघलाई महाधिवेशनउन्मुख गराउन सकेको छैन ।