बराहक्षेत्र नगरपालिकाले बराहक्षेत्र नगरपालिका–६ र ९ श्रीलङ्का टापुका कृषकलाई अनुदान स्वरुप आधुनिक कृषि उपकरण सामग्री वितरण गरेको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालन गरिएको मकै पकेट क्षेत्र विकास कार्यक्रम तथा कोशी प्रदेश सरकारअन्तर्गत उद्योग, कृषि तथा सहकारी मन्त्रालयको वित्तीय हस्तान्तरण कार्यक्रमअन्तर्गत विद्युतीय मोटर, डेलिभरी पाइप तथा त्रिपाल वितरण गरिएको बराहक्षेत्र नगरपालिकाका नगरप्रमुख रमेश कार्कीले जानकारी दिए । कृषकलाई ४३ थान विद्युतीय मोटर, ६० बन्डलडेलिभरी पाइप र एक सय ५५ थान त्रिपाल वितरण गरिएको छ । नगरपालिकाको बार्षिक कार्यक्रमअनुसार सूचना जारी गरी कृषकहरुको आवेदन सङ्कलनपछि छनोट गरिएका लाभग्राहीलाई गरैया कृषि सहकारी संस्थाको समन्वयमा आधुनिक कृषि प्रणाली अपनाउन सहयोग पुग्ने अपेक्षासहित कृषकलाई ५० प्रतिशत अनुदानमा उपकरण सामान विरण गरिएको उनले बताए ।