२९ जेठ २०८३, शुक्रबार

प्याजले उचित मूल्य पाएन, लागत पनि नउठ्ने भएपछि किसानले बोरामा थन्क्याए

असार ६, २०८२
चितवन
प्याजले उचित मूल्य पाएन, लागत पनि नउठ्ने भएपछि किसानले बोरामा थन्क्याए

चितवनमा उत्पादित प्याजले उचित मूल्य पाउन सकेको छैन । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत व्यावसायिक प्याज प्रवर्द्धन कार्यक्रमअन्तर्गत लगाइएको प्याजले उत्पादनपछि उचित मूल्य पाउन नसकेको हो ।

तीन पालिकामा लगाइएको प्याज उत्पादन भएर मूल्य नपाउँदा कतिपय किसानले सस्तोमा बेच्न बाध्य भएका छन् । भरतपुर महानगरपालिका–२१ का कृषक बाबुराम धमलाले १६ कट्ठामा लगाएको प्याजले बजार मूल्य नपाएर बोरामा थन्काउन बाध्य भएका हुन् । 

'मैले १८ क्विन्टल प्याज उत्पादन गरेको छु । तर बजारमा मूल्य पाउन सकिनँ,' उनले भने । बजारमा मूल्य नपाएर विगत एक महिनादेखि बोरामा राख्न बाध्य भएको उनकव भनाइ छ । व्यवसायीले प्रतिकिलो २५ भन्दा कममा प्याजको माग गर्ने गरेका धमलाले बताए । लागत मूल्य पनि नउठ्ने भएकाले उचित मूल्य आएपछि बिक्री गर्ने योजना बनाएको उनले बताए । 

भरतपुर महानगरपालिका–२५ की गीता रानाभाट उत्पादन गरेको प्याज प्रतिकिलो २० देखि ३० मा बेच्न बाध्य भएको बताइन् । उनले भनिन्, 'भण्डारण गरेर राख्न समस्या भएकाले सस्तोमा बेच्न बाध्य भएका छौँ ।'
 
जिल्लाका २२ वटा समूह, सहकारी र फर्ममार्फत कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो । ती फर्ममा उत्पादित प्याजले बजार भाउ पाउन नसकेको कार्यालयका सूचना अधिकारी रविकिरण अधिकारीले जानकारी दिए । उनले भने, 'चितवनको १२ हेक्टर क्षेत्रफलमा करिब १२० टन प्याज उत्पादन भएको छ । यहाँ बजार पाउन कठिन भयो ।'
 
आयातित प्याजभन्दा यहाँ उत्पादित प्याजको मूल्य कम हुने, यहाँको प्याजको दाना सानो हुने, फुस्रो हुने हुँदा यहाँ उत्पादित प्याजले बजार र मूल्य पाउन नसकेको उनको भनाइ छ । नेपालमा हुने प्याज आयातलाई न्यूनीकरण गर्न कार्यक्रम गरिएको उल्लेख गर्दै सूचना अधिकारी अधिकारीले यसलाई भण्डारण गर्नसके अन्य समयमा उचित मूल्यसहित बजार पाउन सक्ने बताए । 

'अहिले तरकारी बजारदेखि कुनै पनि व्यवसायीले नेपाली प्याज लिन मानेका छैनन्,' उनले भने । प्याज बिक्री नहुँदा कुहिने, उम्रनेजस्तो समस्या देखिन थालेको उनले बताए । अहिले देखिएको समस्या समाधानका लागि आगामी वर्षको कार्यक्रममा योजना बनाउनेगरी काम भइरहेको अधिकारीले बताए । 

यहाँको भरतपुर महानगरपालिका, खैरहनी नगरपालिका र राप्ती नगरपालिकामा कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रम लागू गरिएको ठाउँमा रेडक्रियोल र नासिक ५३ जातको प्याजलाई व्यावसायिक खेतीमा प्रयोग गरिएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्