२५ जेठ २०८३, सोमबार
नियात्रा

जिसस क्राइस्टको शरीर कोर्पस क्रिस्टीमा

असार ७, २०८२
काठमाडौं
जिसस क्राइस्टको शरीर कोर्पस क्रिस्टीमा

हामी; म र मेरी पत्नी सपना, अमेरिकाको टेक्सस राज्यको एक प्रसिद्ध शहर ह्युस्टनमा थियौं । हामीले टेक्सस राज्यको दक्षिण दिशामा रहेको प्रसिद्ध शहर कोर्पस क्रिस्टी घुम्ने योजना बनायौं । अनेकौं बगरहरूले शोभायमान भएको शहर । त्यहाँका बगर नजिक भएका घर र म्युजियम हेर्न लायक छन् भनेर हामीले पहिले नै सुनेका थियौं । 

एकदिन हामी दम्पती कोर्पस क्रिस्टी शहरको रसरंगमा रमाउने ध्येयले एकाबिहानै रंगिन बाटो लागेका थियौं । कहिले हाम्री छोरी साधनाले गाडी चलाउँथिन्, उनलाई थकाइ लागेपछि गाडीलाई नजिकैको रेस्ट एरियामा लान्थिन् अनि ज्वाइँले गाडी चलाउनुहुन्थ्यो । हाम्रो गाडी साइप्रसबाट फ्राइ रोड हुँदै टु नाइन्टी हाइवेमा गुडिरहेको थियो । अगाडि पछाडी अनगिन्ती गाडी एकनासले गुडिरकेका थिए । ती गाडी देखेर हामी दंग परिरहेका थियौं । त्यहाँ जति पनि गाडी थिए, बडो अनुशासित तवरबाट चलेका देखिन्थे । 

कुनैले कुनैलाई ओभर टेक नगर्ने । एकनासले गाडी गुडाएको देख्दा हामीलाई एकतमास आनन्दको अनुभव हुँदैथियो । यहाँको सडक अनुशासन देखेर हामी आफ्नो देशलाई सम्झन्थ्यौं । जाँदाजाँदै हाम्रो गाडीले टु नाइन्टी हाइवे  छोडेर हाइवे फिप्टी नाइन समात्यो । यो हाइवेले हामीलाई सिधै कर्पस क्रिस्टी शहर पुर्‍याउने रहेछ । एकलास र निर्जन ठाउँ, कतै ससाना बुट्यान र वनजंगल हुँदै हामी आफ्नो गन्तव्यतर्फ बढिरहेका थियौं । बेलाबेला सानी नातिनी शान्भी र नाति प्रशमलाई जिस्काउँदै हामी मनोरञ्जन गर्ने गर्दथ्यौं ।

कतै घुम्न जाँदा झ्याल बाहिरको साइड सिनले एकतमासको छुट्टै खालको आनन्द दिन्छ  मलाई । स-साना वनजंगल, बुट्यान, बस्तीहरूलाई सिसाको झ्यालबाट एकटकले नियाल्दै हामी कोर्पस क्रिस्टी शहरतिर बढिरहेका थियौं । 

गाडीको संख्या कम हुने ठाउँमा हाइवे फिप्टी नाइन पनि सानो, दुई वा तीन लेनको मात्र पनि हुँदो रहेछ । जहाँ आवश्यक हुन्छ त्यस ठाउँमा १०/१२ लेनको हुने रहेछ । जहाँ कम गाडी गुड्छन् त्यहाँ एक/दुई लेन मात्रको हाइवे देख्दा लाग्यो- यहाँ जुनसुकै कुरा आवश्यकताले निर्धारण गर्ने रहेछ । त्यो देख्दा मैले आफ्नो देशमा नेताहरूले ठेकेदारसित कमिसन खानका लागि बाटै नभएका ठाउँमा ठूलो पक्की पुल बनाएको र बस्ती नै नभएको निर्जन ठाउँमा अर्बौं खर्चेर गगनचुम्बी टावर निर्माण गरी  जनताले गाँस काटेर तिरेको करको दुरुपयोग गरेको कुरा चलचित्रका रिलझैं आँखासामु नाच्न थाले । मलाई लाग्यो- त्यो मुलुक त्यसै सप्रेको होइन रहेछ । अनि, हाम्रो देश त्यसै बिग्रेको कहाँ हो रहेछ र ?  

केही बेर साँघुरो हाइवेबाट गुडेपछि फेरि फराकिलो हाइवे टेकेको थियो हाम्रो गाडीले । हाम्रो गाडी कोर्पस क्रिस्टी शहरमा विस्तारै प्रवेश गर्‍यो । हामीले अन्त भन्दा फरक फरक सीप शैलीमा निर्मित भवन देख्यौं ।

कोर्पस क्रिस्टी शब्द ल्याटिन भााषाबाट आएको शब्द रहेछ । जसको  शाब्दिक अर्थ हुँदोरहेछ- जिसस क्राइस्टको शरीर । यो शहर स्पानिस अन्वेषकहरूले स्थापना गरेर उनीहरूले नै यसको न्वारान कोर्पस क्रिस्टी भनेर गरेका रहेछन् । यो टेक्सस राज्यको दक्षिणी किनारामा रहेको यो शहर गल्फ अफ मेक्सिकोका काखमा रहेको छ ।  यहाँ एउटा विश्वप्रसिद्ध विश्वविद्यालय छ जसको नाम कर्पस क्रिस्टी विश्वविद्यालय हो । यो एक प्रसिद्ध अनुसन्धान विश्वविद्यालयका रूपमा प्रख्यात छ ।  

यहाँ एक अति मनोरम समुद्री किनार अर्थात् बिच  छ, जसले संसारभरिका पर्यटकलाई आफूतिर आकर्षित गर्दछ । हामी यस बिचमा पुग्दा त्यहाँ युरोप, अमेरिका, अफ्रिका र एसियाका मानिसको ठूलो भिडभाड लागेको देख्यौं । कोर्पस क्रिस्टी शहरको अर्थव्यवस्था तेल, ग्यास र पर्यटनमा आधारित भएको एउटा आत्मनिर्भर शहर मानिन्छ ।

null

यहाँ भएको एउटा टापुको नाम सुन्दा हामीलाई विशेष आनन्द लाग्यो । त्यस टापुको नाम रहेछ  मुस्ताङ  आइल्यान्ड । यो मुस्ताङ टापु  पर्यटकका लागि  प्रमुख गन्तव्यमध्ये एक पर्दोरहेछ । मुस्ताङ टापुमा गएर समुद्री चरा, समुद्री कछुवा र जातजातका माछालाई हेरेर रमाइलो गर्ने मानिसको यहाँ भिड लाग्दोरहेछ  । यहाँ भएको टेक्सस स्यालेट एक्युरियम साँच्चै हेर्न लायक छ । यहाँ भएको यूएसएस लेग्जिङटन संग्रहणलयमा दिनहुँ हजारौं हजार मानिसले निरीक्षण गरेर विशिष्ट खालको ज्ञान, सीप र धारणाको निर्माण गर्दाछन् ।  

यस शहरको प्रमुख आकर्षण भनेको नै यहाँको बगर वा बिच हो । यस बगरमा विशेष गरी गोरा, गोरी आएर किनारको चर्को घाममा डढेर आफ्नो छाला कालो पार्नका लागि जताततै लडिरहेका हुँदारहेछन् । सन्तान पनि थरी थरीका कालालाई गोरा हुन रहर, गोरालाई डढेर काला बन्ने इच्छा । यहाँको समुद्र किनारका भोजनालयमा विभिन्न खालका सी फुड पाइँदो रहेछ । ती सी फुडको स्वाद लिएर रमाउन पनि यहाँ मानिस ठूलो संख्यामा आउने गर्दारहेछन् । 

यहाँको कर्पस क्रिस्टी आर्ट म्युजियम र टेक्सस राज्य इतिहास संग्रहालय यहाँको इतिहास, कला, संस्कृति, भाषा अध्ययन अनुसन्धान गर्ने प्रमुख ठाउँ मानिँदोरहेछ । हामी त्यहाँ पुगेका बेला कैयौं विद्यालयका विद्यार्थीलाई पनि यहाँको इतिहास पढाउन त्यहाँ ल्याइँदो रहेछ ।

आफ्नो राज्यको जिउँदो जाग्दो इतिहास हेरेर विद्यार्थी निकै रमाएका देखिन्थे । त्यहाँ ठाउँठाउँमा त अझ राम्रोसित बुझाउनका लागि डकुमेन्ट्री पनि देखाइन्थ्यो । विद्यार्थीहरू डकुमेन्ट्री हेरेर निकै रोमाञ्चित देखिन्थे । 

टेक्ससका आदिवासी टेक्सनहरू (मानिस) वीर , पुरुषार्थी तथा युद्ध कुशल हुँदा रहेछन् । उनीहरूले आफ्नो रगत र पसिनाले निर्माण गरेको टेक्सस राज्यका विविध क्रियाकलापप्रति उनीहरू निकै गौरवान्वित  हुँदा रहेछन् । उनीहरू बदमासी नगर्ने, बदमासी गर्नेलाई राम्ररी ठेगान लगाउने स्वभावका भएका हुँदा ठाउँठाउँमा उनीहरूको मोटो यसरी लेखिँदोरहेछ- टेक्सनहरूलाई नजिस्काऊ !

त्यो देख्दा मलाई हाम्रो देशका पूर्वी पहाडका आदिवासी लिम्बूजातिको सम्झना भयो । ‘चार इन्च त ख्यालख्यालमै’ भन्ने प्रसिद्ध ठट्टेउली, चार इन्च काट्दा त ख्यालख्याल हो भने साँच्चै चाहिँ के होला भन्ने ठानेर म गम्भीर सोचाइमा परें ।

यस क्षेत्रमा रमितलाग्दो शहर, सुन्दर समुद्री किनार मात्र छैन यहाँ हरित क्षेत्र पनि प्रसस्त छ । यी हरित क्षेत्र अनेकौं रमितलाग्दा  पार्क र विविध जातका बोट बिरुवाले भरिएका क्षेत्र हुन् । यी पार्क र वन क्षेत्रमा प्रेमिल जोडी मात्र होइन, परिवारसहित अनेकौं मानिस गएर रमाउने र समय बहलाउने गर्दारहेछन् । परिवारसित एकान्तवासका लागि यहाँका पार्क ज्यादै उपयुक्त मानिँदारहेछन् । यी पार्कमा पुगेपछि मैले महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रश्नोत्तर शीर्षक फुटकर कविताका दुई पंक्तिको स्मरण गरेँ–
‘फुल्दो गुलाबबीच ज्ञान, अनेक फुल्छन्,  
उद्यानमा बस गई, सब तत्व खुल्छन् ।’

कर्पस क्रिस्टी माछा मार्नका शौखिनका लागि पनि सुन्दर गन्तव्य रहेछ । बल्छी थापेर माछा मार्ने मानिस पनि त्यहाँ बाक्लै भेटिन्थे । त्यही स्थानका मात्र नभएर माछा मार्नका लागि त्यहाँ टेक्ससका सान एन्टेनियो, केटीदेखि बूढासम्मबाट मानिस पनि यहाँ आउँदा रहेछन् । बल्छीले माछा मार्न आउनेहरू युवा मात्र नभएर यहाँ माछा मार्न अधबैंसे र बूढाहरू पनि उत्तिकै संख्यामा देखिन्थे । 

null

जलक्रिडाका शौखिनका लागि पनि यो कोर्पस क्रिस्टी ज्यादै उपयोगी ठाउँ मानिँदोरहेछ । यहाँ स-सना मोटर बोटदेखि जेट स्कि चलाउनेदेखि पानीमा विविध साहसी खेल देखाउनेका लागि यो सुन्दर स्थान रहेछ । यहाँ समुद्रमाथि माथि दौडिरहेका मानिस यत्रतत्र देखिन्थे । कोही मोटरसाइकल जस्तो साधन लिएर पानी माथि माथि बुर्कुसी मारिरहेका देखिन्थे ।

कोर्पस क्रिस्टीमा स्थानीय मानिस भूतप्रेत र किचकन्नीमा ठूलो विश्वास गर्दारहेछन् । एकजना मानिसले साँझ परेपछि र बिहान उज्यालो हुनुभन्दा पहिले यहाँ भूतप्रेतदेखि निकै डर हुने बताए । एकजना मानिसले बताए, यहाँका समुद्री किनार दिउँसो पनि किचकन्नीहरू यत्रतत्र हिँड्छन् भनेका कुराले हामीले निकै उदेक मान्यौं । 

एकजनाले भने उनी रातको समयमा गाडीमा गइरहेका बेला कुनै युवतीले सडक किनारमा उभिएर हात उठाएर लिफ्ट मागिन् । गाडी रोकिदिएपछि उनी गाडीमा चढिन् । केही पर पुगेपछि पछाडीको सिटमा हेरेको त ती युवती कहिले कहिले निस्केर गइछन् भन्नेजस्ता अनेक कुरा सुनाए । 

अर्का एकजना मानिसले भने कोर्पस क्रिस्टीका एक युवक हिँड्दै जाँदा बाटामा एउटी युवती डाँको छोडेर रुँदै रहिछन् । युवकले सोधे,‘को हौ तिमी किन रुँदैछौ ?’

‘मेरा बा पनि छैनन् । आमा पनि छैनन् । म एक्लै छु । कसरी टाइम पास गर्नु ?’

‘भो नरोऊ, म छु नि’ युवकले भन्यो । 

कुराकुरैमा उनीहरूको प्रेम भयो । त्यसको केही समयमा चर्चमा गएर ती दुईले विवाह गरे । विवाहपछि, युवक पलङमा सुतेर हल्का आँखा चिम्लिरहेको थियो । हल्काहल्का हेर्दै थियो । उसकी पत्नी स्टोनहरूको माला गाँस्दै रहिछ । निकैबेरपछि उसले आफ्ना लोग्नेतिर पुलुक्क हेरी, ऊ निदाएको ठानेर बत्तीको स्विचतिर पुलुक्क हेरी । अनि, उसले बसेका ठाउँबाट हात लम्काई । उसको हात त लामो लामो लामो हुँदै गएर निकै परको भित्तामा भएको स्विच खिटिक थिचेको उसले आफ्नै आँखाले देख्दा श्रीमानले  हतार हतार उठेर बत्ती बाल्यो रे । उसले पत्नीतिर फर्केर भन्यो, ‘भन, अहिले तिमीले ऊ त्यो भित्तामा भएको स्विच यहीँबाट कसरी  थिचेर बत्ती निभायौ ?’

प्रश्न सुनेर उसकी पत्नी रुन थालिछे । 

उसले भनी, ‘तिमीले जे देख्यौ त्यो सही हो । म तिमीलाई खान आएकी थिएँ , तिमीले मलाई यति माया गर्‍यौं मैले तिमीलाई केही गर्न सकिनँ ।’

यति भनेर ऊ बन्द कोठाबाट एक्कासी अलप भई । त्यो युवक हिजोआज अर्धपागल बनेर यही शहरमा  डुल्छ । 

एक स्थानीयले यो कथा सुनाउँदा मेरो आङ जिरिङ्ग भएको थियो । ढक्क फुलेको थियो । यस शहरबाट मेक्सिको २४० किलोमिटरको दूरीमा रहेको छ । मेक्सिकोसित यो शहर सडक यातायातबाटै जोडिएको रहेछ । मेक्सिकोको माटामोरोस र रेनोसा शहरमा यस ठाउँबाट सिधै सडक मार्गबाट गाडी चढेर पुग्न सकिँदोरहेछ । टेक्ससबाट मेक्सिको जान चाहनेका लागि यस कोर्पस क्रिस्टी शहरको बाटो निकै उपयुक्त र छोटो मानिँदोरहेछ ।

nullकोर्पस क्रिस्टी शहर सांस्कृतिक, भाषिक र जातीय विविधताले भरिएको शहर हो । सन् २०२० को जनगनणाका आधारमा यस शहरमा करिब तीन लाख मानिस बस्छन् । यहाँका प्रमुख जातिमा हिस्पानिक/लाटिनो ६० प्रतिशत भन्दा बढी र अन्य ३० प्रतिशत छन् । यहाँ सांस्कृतिक विविधता पाइन्छ । यस क्षेत्रमा अंग्रेजी र स्पानिक दुवै भाषा बोल्ने मानिसको संख्या बढी पाइन्छ । युवा र पौढको संख्या यहाँ उल्लेख्य छ । यस कोर्पस क्रिस्टी शहरमा दिनप्रतिदिन शिक्षा, स्वास्थ्य र रोजगारीका अवस सिर्जना हुँदै गएका छन् । 

यसका नजिकै गुस आइलेन्ड स्टेट पार्क छ । त्यहाँ रहेको एउटा रुख ‘बिग ट्री’का नामले प्रख्यात छ । हाम्रो टोली पनि बिग ट्री हेर्नका लागि त्यस पार्कमा पुग्यौं । बिग ट्री विशेष खालको रुख रहेछ । यसलाई त्यहाँको भाषामा ओक ट्री भन्दा रहेछन् । यसको उमेर एक हजार वर्षभन्दा बढी भएको त्यहाँको लिखतबाट थाहा हुँदो रहेछ । यस रुखको परिधि ४४ फिट (१३.४ मिटर) र ३५ फिटको उचाइमा यो रुख फैलिएको रहेछ । 

बिग ट्री का आसपासमा अनेकौं बोट बिरुवा रहेका छन् । यो गुस आइलेन्ड पार्क निकै शान्त वातावरण छ । त्यसैले शहरको कोलाहल र भिडभाडबाट यस ठाउँमा आएर बस्दा मानिसलाई बेग्लै खालको असीम आनन्दको अनुभूति हुने रहेछ । त्यसैले यो रुखका छेउछाउमा घुम्न आउने, त्यस रुखलाई अचम्म मानेर हेर्नेको संख्या त्यहाँ उल्लेख्य भएपनि कत्राकत्रा बडेमाका रूख देखेर, चढेर, सेउला झारेर आएका हामीलाई त्यसले खासै हाम्रा घैंटामा घाम लगाउन सकेन ।

यसरी कोर्पस क्रिस्टी र त्यसका सेरोफेरोमा दुई दिन घुमेर  हामी भोलिपल्ट त्यस शहरलाई बाइ बाइ गर्दै  आफ्नो निवास ह्युस्टन, साइप्रसतिर लाग्यौं ।

salt training

कमेन्ट गर्नुहोस्