२३ असार २०८३, मंगलबार
राष्ट्रका नाममा ट्रम्पको सम्बोधन

इरानी आणविक स्थलमा अमेरिकी आक्रमण, ट्रम्पको चेतावनी- शान्ति नभए अझ ठूलो कारबाही हुनेछ

असार ८, २०८२
काठमाडौं
इरानी आणविक स्थलमा अमेरिकी आक्रमण, ट्रम्पको चेतावनी- शान्ति नभए अझ ठूलो कारबाही हुनेछ

मेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका तीन प्रमुख आणविक स्थलमा ‘अत्यन्त सफल’ सैन्य आक्रमण सम्पन्न गरिएको घोषणा गरेका छन् । 

इजरायलको आक्रमणमा अमेरिकाले प्रत्यक्ष सहभागिता जनाएपछि ट्रम्पले नेपाली समय अनुसार आइतबार बिहान राष्ट्रका नाममा सम्बोधन गर्दै आक्रमणबारे विस्तृत जानकारी दिएका हुन् ।

ट्रम्पले राष्ट्रका नाममा सम्बोधन गर्दै भने, ‘आज राति विश्वलाई म घोषणा गर्न चाहन्छु कि यी आक्रमणहरू सैन्य हिसाबले अत्यन्त सफल रहे । इरानका मुख्य आणविक प्रशोधन केन्द्रहरू पूर्ण रूपमा ध्वस्त पारिएका छन् ।’

ट्रम्पका अनुसार अमेरिकी बि–टु स्टेल्थ बमवर्षक विमानहरूले इरानको अमेरिकाले फोर्डो, नतांज र इस्फहान‍मा रहेका आणविक पूर्वाधारहरूमा पूर्ण बम आक्रमण गरेका हुन् । 

‘यी सबै ठाउँमा पूर्ण रूपमा बम खसालिएको छ र अहिले सबै विमानहरू इरानी आकाशबाट बाहिर आइसकेका छन्’,  ट्रम्पले भनेका छन् । 

संयुक्त राज्य अमेरिकाले लिएको यो सैन्य कदम इजरायलको सात दिनदेखि चलिरहेको आक्रमणपछि आएको हो । अमेरिकी अधिकारीहरूका अनुसार यी स्थलहरू भुइँभित्र गहिराइमा बनाइएका कारण तीव्र क्षमताको बंकर बस्टर बम प्रयोग गरेर मात्र ध्वस्त पार्न सकिन्थ्यो, जुन अमेरिका मात्र बोक्न सक्षम छ।

ट्रम्पले चेतावनी दिँदै भनेका छन्, ‘यदि शान्ति चाँडै आएन भने हामी बाँकी रहेका लक्ष्यहरूमा पनि सटीक र तीव्र रूपमा कारबाही गर्नेछौं । आज रातिको आक्रमण सबैभन्दा कठिन र सम्भवतः सबैभन्दा घातक थियो ।’

ट्रम्पले सम्बोधनमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई पनि धन्यवाद दिएका छन् । ‘हामीले एक टिमझैं मिलेर इजरायलमाथिको खतरा मेट्यौं’, उनले भने ।

इरानको आधिकारिक प्रतिक्रिया अझै सार्वजनिक भइसकेको छैन । तर, इरानी सरकारी सञ्चार माध्यम फार्स न्यूजका अनुसार तेहरानबाट करिब १४० किलोमिटर दक्षिणस्थित एक शहर नजिकै अवस्थित फोर्डो आणविक केन्द्रको सुरक्षार्थ आकाशीय प्रतिरक्षा प्रणाली सक्रिय पारिएको थियो र केही विस्फोटको आवाज सुनिएको थियो।

यसैबीच, इरानका सर्वोच्च नेता आयतुल्ला अली खामेनीको टेलिग्राम च्यानलमा केही दिनअघिको एक टेलिभिजन सम्बोधन पुनः साझा गरिएको छ । जसमा उनले अमेरिकाले यदि युद्धमा संलग्न भयो भने ‘त्यसको मूल्य इरानले होइन, अमेरिकाले धेरै चुकाउनुपर्ने’ भन्ने चेतावनी दिएका थिए ।

युद्ध झनै चर्किने जोखिमबीच अन्तर्राष्ट्रिय समुदायले संयमता अपनाउन आग्रह गरिरहेको छ । इरानले अमेरिकाको हस्तक्षेपमा कडा प्रतिक्रिया दिने अघोषित तयारी गरिरहेको आँकलन गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्