
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौं महानगरपालिकाद्वारा आयोजित ‘काठमाडौं महानगर सीप मेला २०८२’मा संस्थागत साझेदारी गरेको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्त्व अन्तर्गत मेलामा सहभागिता जनाएको हो ।
महानगरपालिकाले सञ्चालनमा ल्याएको ‘सीप मेला २०८२’को मुख्य उद्देश्य सिप नभएकाहरूलाई सिप सिकाउने र आधारभूत सीप भएकाहरूलाई थप दक्ष बनाउने हो । मेलामा रोजगारी र आय वृद्धिको माध्यमबाट काठमाडौंको समृद्धि हासिल गर्ने लक्ष्य लिएको छ । मेला अन्तर्गत १० विधामा ३७ पेसासँग सम्बन्धित तालिम पूर्ण रूपमा निःशुल्क प्रदान गरिँदैछन् ।
काठमाडौं महानगरपालिकाको यस अभियानमा सहभागी हुन पाउँदा खुसी लागेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताए । उनले भने ‘जब सीप मेला २०८२ को प्रस्ताव नेपाल लाइफमा आयो, हामीले यसलाई अवसरमात्र नभई युवालाई सशक्त बनाउन र स्वरोजगारको बाटो देखाउन सकिने महत्त्वपूर्ण अभियानका रूपमा लियौं। यो मेलाले ३० भन्दा बढी विभिन्न तालिममार्फत् युवा जनशक्तिको माग र आपूर्तिको सन्तुलन कायम गर्न सहयोग पुर्याउनेछ ।
‘हामीले यो प्रस्तावलाई संस्थागत साझेदारको रूपमा स्वीकार गर्यौं । किनभने यसले युवालाई मार्गदर्शन, सीप र सुरक्षा दिने मात्र होइन, उनीहरूको भविष्य निर्माण गर्ने सम्भावनाको ढोका खोल्दछ’, उनले भने ।
सीप मेलामा नेपालभरिका युवाहरू सहभागी छन् । कोही पहिलोपटक अवसर खोज्दै, कोही जीवनलाई नयाँ दिशा दिँदै छन् । मेलाले उनीहरूलाई चाहिएको सीप, अवसर, हौसला र संरचना प्रदान गर्न केन्द्रित छ ।
हाल कम्पनीले आफ्ना सेवाग्राही तथा ग्राहकका लागि देशभर कार्यालय सञ्जालमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । कम्पनीमा हालसम्म वैदेशिक रोजगार समेत गरि ३० लाख भन्दा बढी बीमितहरू रहेका छन् ।
ग्राहकहरूको हितलाई ध्यानमा राखी कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधासमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।