२३ जेठ २०८३, शनिबार
अमरेशको अभिव्यक्तिले संसद्‌मा हंगामा

७२ जिल्ला अमेरिका, चीन र भारतलाई लीजमा दिऔं भनेपछि संसद्‌मा हंगामा, राष्ट्रघाती अभिव्यक्ति भन्दै एमालेको आपत्ति

असार ८, २०८२
काठमाडौं
७२ जिल्ला अमेरिका, चीन र भारतलाई लीजमा दिऔं भनेपछि संसद्‌मा हंगामा, राष्ट्रघाती अभिव्यक्ति भन्दै एमालेको आपत्ति

प्रतिनिधिसभाका स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले नेपालका ७२ जिल्ला अमेरिका, चीन या भारतलाई लीजमा (भाडामा) दिन सकिने अभिव्यक्ति दिएपछि संसद्‌मा हंगामा भएको छ । 

विनियोजन विधेयकमाथि आइतबार प्रतिनिधिसभामा भएको छलफलका क्रममा अमरेशले ५ वटा जिल्लामा मात्र बजेट गएको भन्दै बाँकी जिल्ला लीजमा दिन प्रस्ताव गरेका थिए । 

त्यसलगत्तै एमालेका मुख्य सचेतक महेश बर्तौलाले नियमापत्ति गर्दै राष्ट्रघाती अभिव्यक्ति दिने सांसदलाई कारबाही गर्नुपर्ने बताए । 

‘देशको नाम तोकेर जिल्ला लीजमा दिने कुरा आपत्तिजनक विषय हो । देशलाई कहीँकतै गाभिदिने भनेर संसद्को रोष्टमबाट अभिव्यक्ति दिनु राष्ट्रघाती र देशद्रोही विषय हो’ बर्तौलाले भने, ‘मुलुकको स्वाभिमानको विरुद्धमा अभिव्यक्ति दिने कुरा कारबाहीको विषय हो । उहाँको अभिव्यक्ति राष्ट्रघाती छ, यस्तो कुरा सुनेर बस्न सक्दैनौं ।’

बर्तौलाको आपत्ति लगत्तै सभमुख देवराज घिमिरेले अमरेशले बोलेको कुरा संसद्को रेकर्डबाट हटाउन निर्देशन दिए । आफ्नो अभिव्यक्ति रेकर्डबाट हटाएकोमा अमरेशले सभामुख घिमिरेसँग सवाल-जवाफ गरे ।

सभामुख एमालेको इसारामा चलेको आरोप लगाएपछि घिमिरेले नियमावली बाहिर गएर बोल्ने भए ड्यास छाड्न चेतावनी दिए । त्यसपछि अमरेशले आफूले पाएको ७ मिनेट रोष्टममै उभिएर बस्ने बताए । 

उनले आफ्नो निर्वाचन क्षेत्रलाई अपमान गरेकोले जिल्ला लीजमा दिन प्रस्ताव गरेको तर, राष्ट्रियताप्रति आफ्नो अटुट विश्वास रहेको बताए । 
 

 

salt training

कमेन्ट गर्नुहोस्