०३ साउन २०८३, आइतबार
इरानमा अमेरिकी हमला

के हुन् इरानमाथि आक्रमण गर्न प्रयोग गरिएका बी-२ र जीबीयू-५७ एमओपी ?

असार ८, २०८२
काठमाडौं
के हुन् इरानमाथि आक्रमण गर्न प्रयोग गरिएका बी-२ र जीबीयू-५७ एमओपी ?

अमेरिकी सेनाले इरानको आणविक केन्द्रमा आक्रमण गर्न बी-२ स्टिल्थ बमवर्षक विमान प्रयोग गरेको समाचारले विश्वको ध्यान खिचेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गए राति इरानको तीनवटा आणविक केन्द्रमा हमला गरिएको बताएका छन् । यो आक्रमणमा १३ टन वजनको बंकर भेदी बम (जीबीयू-५७, म्यासिभ अर्डन्यान्स पेनेट्रेटर) प्रयोग भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यो बम विशेष रूपमा जमिनमुनिका किल्ला र सुरक्षित संरचना नष्ट गर्न डिजाइन गरिएको हो । इरानमा अमेरिकाले आक्रमण शुरू गरेपछि मध्यपूर्वमा पहिल्यैदेखि चलिरहेको तनाबलाई थप जटिल बनाएको छ । 

के हो बी-२ बमवर्षक ?
स्टिल्थ बमवर्षकका रूपमा चिनिने बी-२ स्पिरिट अमेरिकी वायुसेनाको सबैभन्दा उन्नत र गोप्य विमानमध्ये एक हो ।

नर्थरोप ग्रुमानद्वारा निर्मित यो विमानले रेडारलाई छल्न सक्छ । यसको त्रिकोणीय आकार र विशेष कोटिङले रेडार तरंगलाई शोषण गर्छ ।

रेडार तरंगलाई शोषण गरेर फिर्ता नपठाउने यस प्रकारको विमान शत्रुको हवाई रक्षा प्रणालीको नजरबाट बच्न सक्छ । 

बी-२ ले १३ टनसम्मको भारी बम बोक्न सक्छ । इरानले भूमिगत रूपमा आणविक कार्यक्रम सञ्चालन गरेको फोर्डोमा यही बम प्रयोग भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

यो विमान ५० हजार फिटको उचाइमा उड्न सक्छ भने निरन्तर ११ हजार किलोमिटरसम्म उडान भर्न सक्छ । यो विश्वको कुनै पनि स्थानमा आक्रमण गर्न सक्ने गरी बनाइएको विमान हो । 

यसले १९८९ मा पहिलो उडान भरेको थियो । यसमा रहेको विशेष कोटिङ र इन्जिनको ताप न्यूनीकरण प्रणालीले इन्फ्रारेड डिटेक्शनबाट पनि बचाउँछ ।

यसले आकाशमै इन्धन भर्न पनि सक्छ । यसको अधिकतम गति १ हजार १० किलोमिटर प्रतिघण्टा छ । 

यसको लागत प्रतिविमान २ बिलियन डलर भन्दा बढी रहेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् । अमेरिकासँग हाल २० वटा बी-२ छन् । यिनीहरूलाई मिसुरीको व्हाइटम्यान एयर फोर्स बेसमा तैनाथ गरिएका छन् । 

यसको स्टिल्थ क्षमताका कारण शत्रुले तुरुन्त प्रतिक्रिया दिन नसक्ने हुनाले शुरूमै निर्णायक हमला गर्न सक्ने बताइन्छ ।

बी-२ को पहिलो प्रयोग १९९९ मा कोसोभो युद्धमा भएको थियो । त्यतिबेला यसले जेडीएएम बम प्रयोग गरी सर्बियामा हमला गरेको थियो । 

त्यसपछि यसलाई अमेरिकाले अफगानिस्तान, इराक, लिबिया र सिरियामा प्रयोग गर्‍यो । पछिल्लो समय इरानमा यही विमानमार्फत् आणविक संरचना ध्वस्त गर्न विश्वको सबैभन्दा ठूलो गैर-पारमाणविक बम खसालिएको हो । 

पछिल्लो आक्रमणमा राष्ट्रपति ट्रम्पले फोर्डो, नतान्ज र इस्फानका आणविक संरचनामा निशाना बनाएको बताएका छन् । 

ट्रम्पले यो हमलालाई इरानको आणविक महत्त्वाकांक्षालाई रोक्ने निर्णायक कदम’ भनेका छन् । इजरायलसँगको सहकार्यमा भएको यो आक्रमणले इरानी आणविक कार्यक्रममा ठूलो क्षति पुर्‍याएको अनुमान छ ।

आक्रमणपछि इरानले कडा प्रतिक्रिया दिने चेतावनी दिएको छ । इरानी विदेशमन्त्री अब्बास अराघ्चीले यो आक्रमणलाई ‘आत्मरक्षाको अधिकार’माथिको उल्लंघन भन्दै अन्तर्राष्ट्रिय समुदायसँग समर्थन मागेका छन् ।
 
अमेरिकाले कस्तो बम प्रहार गरेको हो ?
जीबीयू-५७, म्यासिभ अर्डन्यान्स पेनेट्रेटरलाई सामान्य भाषामा ‘बंकर बस्टर’ बम भनिन्छ । यो अमेरिकी सेनाको सबैभन्दा शक्तिशाली गैर-परमाणु हतियार मध्ये एक हो । 

यो बम बोइङ कम्पनीद्वारा निर्मित टाढाबाट निर्देशित गर्न सकिने एक निर्देशित बम हो । यसले गहिरा र सुरक्षित भूमिगत संरचना नष्ट गर्न सक्छ । 

यसको तौल करिब १३ हजार ६०० किलोग्राम हुन्छ । यो अमेरिकी सेनाको सबैभन्दा गह्रुङ्गो गैर-परमाणु बम पनि हो ।

यसको लम्बाइ २० दशमलव  ५ फिट र व्यास ३१ दशमलव  ५ इन्च रहेको बताइएको छ । यसमा लगभग २४ सय किलोग्राम उच्च विस्फोटक पदार्थ हुन्छ । यो बम भूमिगत संरचनामा पुगिसकेपछि विष्फोट हुन्छ । 

यसले ६० मिटर (२०० फिट) गहिराइसम्म पुग्न सक्छ । यसलाई जीपीएस आधारित प्रणाली र लेजर निर्देशन प्रणालीमार्फत नियन्त्रण गर्न सकिन्छ ।

यो बम बोक्न अहिलेसम्म अमेरिकी बी-२ विमानबाहेक संसारका कुनै पनि अन्य विमान सक्षम नरहेको बताइएको छ । यो बमको विकास सन् २००० मा शुरू भएको थियो । विशेष गरी इरान र उत्तर कोरियाका भूमिगत आणविक सुविधालाई निशाना बनाउने उद्देश्य राखेर यसलाई अमेरिकाले गोप्य रूपमा निर्माण गरेको थियो । 

इरानको फोर्डो जस्तै उत्तर कोरियाको योङ्ब्योन पहाडभित्र पनि आणविक संरचना रहेको अमेरिकी खुफिया रिपोर्ट छ । यी संरचनाहरूलाई परम्परागत बमले नष्ट गर्न सम्भव छैन । 

यो बमको पहिलो परीक्षण सन् २००९ मा गरिएको थियो । परीक्षण सफल भएलगत्तै यसलाई अमेरिकी सेनाका लागि उपलब्ध गराइएको हो । 

यो बम बनाउन करिब ४०० मिलियन डलर खर्च भएको अनुमान अमेरिकी सञ्चारमाध्यमहरूले गरेका छन् । यो बम सन् २०१० मै इरानको आणविक कार्यक्रमविरुद्ध हुन लागेको भनी चर्चा भएको थियो । तर, हालसम्मको कुनै पनि युद्धमा यसको प्रयोग भएको पुष्टि भएको थिएन । 

salt training

कमेन्ट गर्नुहोस्