
अर्को वर्ष हुने आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेटका लागि क्यानडा छनोट भएको छ । टी–२० विश्वकपको १०औं सँस्करण सन् २०२६ को फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदैछ ।
उक्त विश्वकपमा छनोट हुने क्यानडा १३औं राष्ट्र बनेको छ । क्यानडा अमेरिकी क्षेत्रबाट विश्वकपमा पुगेको हो । अमेरिकी क्षेत्रबाट एक टोलीमात्र विश्वकपमा छनोट हुने प्रावधान रहेको छ ।
अमेरिकी क्षेत्रको विश्वकप छनोटअन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा बहामसलाई सात विकेटले हराउँदै क्यानडा विश्वकपमा पुगेको हो ।
पहिले ब्याटिङ गरेको बहामसले १९.५ ओभरमा अलआउट हुँदै ५७ रनमा समेटियो ।
जवाफी ब्याटिङमा उत्रिएको क्यानडाले ५.३ ओभरमै केवल तीन विकेट गुमाएर ६१ रन बनाउँदै विजयी लक्ष्य पूरा गर्यो ।
सोही दिन खेलिएको अर्को खेलमा बर्मुडाको टोली कायमन आइल्यान्ड्ससँग नौ विकेटले पराजित भएपछि क्यानडाको यात्रा सहज बनेको हो ।
छनोट प्रतियोगिताको अन्तिम खेलमा अब क्यानडाले बर्मुडाको र बहामसले कायमन आइल्यान्ड्सको सामना गर्नेछन् । तर, अन्तिम खेलको नतिजाले नतिजाले अंक तालिकामा भने कुनै असर पार्ने छैन ।
चार वटै टोलीले एक/एक खेल खेल्न बाँकी रहँदा क्यानडा १० अंकसहित पहिलो स्थानमा छ ।
क्यानडाले हालसम्म खेलिएको पाँच वटै खेलमा जीत हात पारेको छ । समान खेलबाट ६ अंक बटुलेको बर्मुडा दोस्रो स्थानमा छ । त्यसैले अन्तिम खेलमा क्यानडा पराजित र बर्मुडा विजयी भए पनि अंक तालिकामा कुनै अवसर पर्ने छैन ।
तालिकामा कायमन आइल्यान्ड्स चार अंकसहित तेस्रो स्थानमा छ । बहामस भने आफूले हालसम्म खेलेको पाँच वटै खेलमा पराजित भएको छ । अब विश्वकपमा छानिने सात वटा टोलीको टुंगो लाग्न बाँकी छ ।
अब युरोपेली क्षेत्रबाट दुई, अफ्रिकी क्षेत्रबाट दुई र एसिया–प्यासिफिक क्षेत्रबाट तीन राष्ट्रको टुंगो लाग्न बाँकी छ ।
एसिया–प्यासिफिक क्षेत्रबाट नेपाल पनि विश्वकपमा छनोट हुने होडमा छ । एसिया–प्यासिफिक क्षेत्रको छनोट प्रतियोगिता अक्टोबर १ देखि १७ तारिखसम्म ओमानमा आयोजना हुनेछ ।
क्यानडाका अतिरिक्त श्रीलंका, भारत, अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इङ्ल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका, वेस्ट इन्डिज, आयरल्यान्ड, न्युजिल्यान्ड र पाकिस्तान यसअघि नै आगामी टी–२० विश्वकपमा छनोट भइसकेका छन् ।