२२ जेठ २०८३, शुक्रबार
रित्तिँदै खेलकुदको सर्वोच्च निकाय

२९ वर्षदेखि स्थायी नियुक्ति नहुँदा रित्तिँदै राखेप, प्रशिक्षक अभावले खेलाडी उत्पादनमा समस्या

असार ८, २०८२
काठमाडौं
२९ वर्षदेखि स्थायी नियुक्ति नहुँदा रित्तिँदै राखेप, प्रशिक्षक अभावले खेलाडी उत्पादनमा समस्या

नेपाली खेलकुदको विकास र उत्थानको जिम्मेवारी पाएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) पछिल्लो समय आफैं थलिने अवस्थामा पुगेको छ ।

पुराना कर्मचारी सेवा निवृत्त हुने र नयाँ कर्मचारी नियुक्तिको प्रक्रिया लामो समयदेखि अवरुद्ध भएपछि नेपाली खेलकुदको नेतृत्वदायी निकायको भविष्य संकटमा परेको हो । 

‘राष्ट्रिय खेलकुद परिषद् कर्मचारीविहिन बन्ने अवस्थामा पुगिसकेको छ । प्रत्येक वर्ष ठूलो संख्यामा कर्मचारी सेवानिवृत्त हुने क्रम जारी छ । नयाँ कर्मचारीको नियुक्ति प्रक्रिया अवरुद्ध छ । यसको प्रत्यक्ष असर देशको खेलकुद गतिविधिमा पर्ने निश्चित छ,’ राखेपअन्तर्गत कर्मचारी प्रशासन विभागका प्रमुख सारंगिन निरौला भन्छन् । 

कर्मचारी प्रशासन शाखाका अनुसार, राखेपमा एक हजार कर्मचारीको स्थायी दरबन्दी रहेको छ । यसमा प्रशासनिक र प्राविधिक (प्रशिक्षकहरू) दुबै क्षेत्रका कर्मचारी पर्छन् । यही जनशक्तिले देशभरको खेलकुद चलायमान बनाउने गर्छन् । 

देश संघीय स्वरूपमा गएपछि अहिले जिल्ला खेलकुद विकास समितिहरू सम्बन्धित प्रदेशको अधीनमा पुगेका छन् । सातवटै प्रदेशमा प्रदेश खेलकुद विकास समिति सक्रिय छन् । तर, प्रदेशमा आफ्नो कर्मचारी भने छैनन् ।

त्यसैले राखेपले नै जिल्ला खेलकुद विकास समिति र प्रदेश खेलकुद विकास समितिमा आफ्ना कर्मचारी खटाउँदै आएको छ । एक हजार दरबन्दी रहेको राखेपमा अहिले कुल चार सय स्थायी कर्मचारी मात्र कार्यरत छन् ।

बाँकी कर्मचारी भने विभिन्न समयमा सेवानिवृत्त भएर बाहिरिइसकेका छन् । राखेपमा कर्मचारी नियुक्तिको प्रक्रिया अवरुद्ध भएको २९ वर्ष बितिसकेको छ । २०५३ सालदेखि राखेपमा प्रशासनिक कर्मचारी स्थायी नियुक्ति भएर आएका छैनन् । 

कर्मचारी प्रशासन शाखाका प्रमुख निरौलाका अनुसार, पछिल्लोपटक २०६१ साल भदौ १ गते प्रशिक्षणतर्फ केही कर्मचारी नियुक्त भएर आएका थिए । त्यो पनि २१ वर्ष बितिसकेको छ । यो अवधिमा प्रशिक्षणतर्फका पनि धेरै कर्मचारी सेवानिवृत्त भइसकेका छन् । 

राखेपमा स्थायी कर्मचारीको चरम अभाव देखिएपछि करार र मासिक ज्यालादारीमा कर्मचारी नियुक्त गरिएको थियो । अहिले राखेपमा २ सय ६६ जना कर्मचारी करार र मासिक ज्यालादारीमा कार्यरत छन् । करार र मासिक ज्यालादारीमा कार्यरत कतिपय कर्मचारी त स्थायी हुने आशै–आशमा सेवानिवृत्त समेत भइसकेका छन् ।

राखेपका स्थायी कर्मचारीमध्ये हाल ८४ जना प्रशासनतर्फ, ४२ जना लेखातर्फ, आठजना प्राविधिकतर्फ (पूर्वाधार निर्माण) र दुई सय ६९ जना प्रशिक्षणतर्फ कार्यरत छन् । करारका कर्मचारीमध्ये एक सय ४४ जना प्रशासनतर्फ, दुईजना लेखातर्फ, ४४ जना प्राविधिकतर्फ र ७७ जना प्रशिक्षणतर्फ कार्यरत छन् ।

करार सेवाका अधिकांश कर्मचारी १६ वर्षभन्दा पनि लामो समयदेखि कार्यरत रहेको प्रशासन शाखाले जनाएको छ । ‘अवस्था यही रहने हो भने छिट्टै राखेप रित्तिने अवस्थामा पुग्नेछ । प्रत्येक वर्ष ४० देखि ५० जना कर्मचारी सेवा निवृत्त भएर बाहिरिने अवस्था छ,’ निरौला भन्छन् । 

उनका अनुसार, २०८४ को असार मसान्तसम्म थप ८० जना स्थायी कर्मचारी सेवा निवृत्त हुँदैछन् । त्यसपछि राखेपमा स्थायी कर्मचारीको संख्या ३ सय २० मात्र रहनेछ । ‘अवस्था सन्तोषजनक छैन । यसतर्फ समयमै सम्बन्धित निकायको ध्यान जानु आवश्यक छ,’ उनी भन्छन् ।

राखेपका एक बोर्ड सदस्यका अनुसार, कर्मचारीको विषयमा पटक–पटक कुरा उठाउँदा पनि सम्बन्धित निकायबाट कुनै सुनुवाइ हुन सकेको छैन । ‘हामीले यस विषयमा पटक–पटक कुरा उठाएका छौँ । मन्त्रालयमा पनि जानकारी गराएका छौँ । तर, समस्या भने जस्ताको त्यस्तै छ,’ उनले गुनासो गरे ।

अवस्था यस्तै रहने हो भने अबको पाँच–सात वर्षमा स्थायी कर्मचारीको संख्या दुईभन्दा पनि तल झर्ने उनी बताउँछन् । ‘सिंगो नेपाली खेलकुद हाँक्ने जिम्मेवारी पाएको राखेपलाई लिएर सरकार किन यति धेरै उदासीन बनेको हो, हामीलाई थाहा भएन,’ उनी भन्छन् ।

राखेपमा हाल कर्मचारीको अवस्था र भविष्यमा आवश्यक पर्ने जनशक्तिको विषयमा अध्ययन गर्न राखेपले केही समयअघि तत्कालीन उपाध्यक्ष शिव कोइरालाको संयोजकत्वमा कर्मचारी व्यवस्थापन सर्वेक्षण (ओएनएम) कमिटी बनाएको थियो । 

त्यो कमिटीले देशभरको खेलकुदलाई चलायमान बनाउन चार हजार तीन सय कर्मचारी आवश्यक रहेको प्रतिवेदन बुझाएको थियो । यसमा संघ, प्रदेश, जिल्ला र स्थानीय तहमा आवश्यक कर्मचारीको संख्यालाई पनि समेटिएको थियो । तर, त्यो कमिटीले केन्द्रमा भने एक हजार कर्मचारी आवश्यक नरहेको सुझाव दिएको थियो । 

‘हामीले सबै पक्षसँग सल्लाह गरेर प्रतिवेदन तयार पारेका थियौं । केन्द्रदेखि प्रदेश र स्थानीय तहसम्मलाई आवश्यक कर्मचारीको विषयमा प्रतिवेदनमा उल्लेख गरेका थियौं । प्रतिवेदन बुझाएपछि मैले व्यक्तिगत रूपमा मन्त्रीज्यूलाई पनि सुझाव दिएको थिएँ । प्रतिवेदनका विषयमा अहिले के हुँदैछ, मलाई जानकारी छैन,’ कोइराला भन्छन् । अहिले उनको पदावधि सकिइसकेको छ ।  

पछिल्लो समय राखेप बोर्डले निर्णय गरेर आवश्यक कर्मचारी माग गर्दै युवा तथा खेलकुद मन्त्रालयमा पठाएको छ । यस विषयमा अध्ययन गर्न युवा तथा खेलकुद मन्त्रालयका सहसचिव सुवाषचन्द्र सिवाकोटीको संयोजकत्वमा सम्बद्ध पक्षका प्रतिनिधिलाई समेट्दै एउटा समिति पनि गठन गरिएको छ । 

‘समितिले आफ्नो काम गरिरहेको छ । हामीले करिब–करिब काम टुंग्याइसकेका छौँ । अब यो विषयलाई मन्त्रिपरिषदमा लगिनेछ । बाँकी काम मन्त्रिपरिषद्को निर्णयमा भर पर्ने विषय हो,’ उक्त समितिका सदस्य सरोज पोखरेलले भने । उनी राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रमुख पनि हुन् ।

००००

सबैभन्दा ठूलो समस्या खेलाडी उत्पादनमा

राखेपअन्तर्गतको तालिम तथा प्रशिक्षण विभाग सबैभन्दा महत्त्वपूर्ण निकाय हो । देशभरका खेलाडीहरूको सीप तिखार्ने जिम्मेवारी यही विभागको हो ।

हाल भएका खेलाडीहरूको क्षमता अभिवृद्धि गराउने र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडीलाई प्रशिक्षण दिने जिम्मेवारी यही विभागमा निहित रहेको हुन्छ । 

यसका अतिरिक्त, नयाँ र प्रतिभाशाली खेलाडी उत्पादनमा पनि यो विभागले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । राखेपअन्तर्गत देशभर रहेका विभिन्न खेलका प्रशिक्षकहरूलाई तालिम तथा प्रशिक्षण विभागले दिन्छ । 

तर, तालिम तथा प्रशिक्षण विभाग आफैं अहिले दक्ष प्रशिक्षकको अभाव खेपिरहेको छ । राखेपमा देखिएको कर्मचारी अभावको मार यो विभागलाई सबैभन्दा नराम्ररी परेको छ । कतिपय खेलमा त प्रशिक्षकसमेत छैनन् । 

‘प्रशिक्षकको चरम अभाव छ । भएका दक्ष प्रशिक्षकहरू सेवानिवृत्त भइसकेका छन् । लामो समयदेखि नयाँ प्रशिक्षक नियुक्त हुन सकेको छैन । अवस्था यस्तै रहे भविष्यमा समस्या झनै चर्को बन्ने देखिन्छ,’ विभागका प्रमुख विष्णुबहादुर सिंहले भने ।

नेपाली खेलकुद भर्खर बामे सर्ने अवस्थामा रहँदा देशका लागि ओलम्पिक समेत खेलिसकेका सिंह तालिम तथा प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारीमा आएको लामो समय भएको छैन । तर, विभागको हालको अवस्थालाई लिएर उनी खासै सन्तुष्ट छैनन् । 

‘नेपाली खेलकुदका लागि यो निकै संवेदनशील विभाग हो । खेलाडीलाई प्रशिक्षण दिने र विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि तयार पार्ने जिम्मेवारी पनि यही विभागमा छ । तर, विभागमा दक्ष प्रशिक्षकको अभावमा छ,’ उनी भन्छन् । 

उनका अनुसार, कराँते र तेक्वान्दोको प्रशिक्षकमा खासै समस्या नरहे पनि अन्य खेलमा अवस्था सन्तोषजनक छैन । कुनै समय देशलाई सबैभन्दा बढी अन्तर्राष्ट्रिय पदक जिताउने खेलका रूपमा परिचित भारोत्तोलनमा समेत प्रशिक्षकको अभाव देखिएको उनी बताउँछन् । 

यसका अतिरिक्त, कबड्डी, जुडो, देशको राष्ट्रिय खेल भलिबल, उसु, हकीलगायतका खेलमा पनि प्रशिक्षकको चरम अभाव छ । कुनै पनि अफिसियल अन्तर्राष्ट्रिय प्रतियोगितामा अनिवार्य खेलका रूपमा हेरिन एथलेटिक्स र पौडीका प्रशिक्षक पनि निकै कम छन् । विभाग स्रोतका अनुसार, कतिपय जिल्ला त अहिले प्रशिक्षकविहीन अवस्थामा पुगिसकेका छन् ।  

विभागीय प्रमुख सिंह राखेपमा नयाँ कर्मचारी भर्ना गरिए पनि दक्ष प्रशिक्षक कहाँबाट ल्याउने भन्ने समस्या रहेको बताउँछन् । ‘प्रशासनिक कर्मचारी पाउन समस्या छैन । तर, प्रशिक्षक भनेका प्राविधिक कर्मचारी हुन् । दक्ष प्रशिक्षक बन्न तालिम र अध्ययन आवश्यक पर्छ । त्यसैले दरबन्दी पूर्ति हुने भए पनि क्षमतावान प्रशिक्षक पाउन गाह्रो छ,’ उनले भने ।

लामो समयदेखि विदेश अध्ययनमा पठाउने प्रक्रिया र एनआईएस कोर्ष अवरुद्ध भएकाले पनि प्रशिक्षक उत्पादनमा समस्या भएको उनको बुझाइ छ । ‘हाम्रो समयका धेरै प्रशिक्षकले भारतको पटियालाबाट अध्ययन गरेका थिए । सरकारले नै अध्ययनका लागि पठाउँथ्यो । सहायक प्रशिक्षकका लागि देशभित्रै एनआईएस कोर्ष पनि हुन्थ्यो । तर, अहिले दुबै अवरुद्ध भएको छ,’ उनले भने ।
 

salt training

कमेन्ट गर्नुहोस्