
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापासहित १४ जना र २ कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
पशुपति क्षेत्र विकास कोषको सम्पत्ति हिनामिना गरेको आरोपमा उनीहरूविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।
प्रवक्ता पौडेलका अनुसार, पशुपतिमा विद्युतीय शवदाह गृहको मशिन खरिद तथा जडान प्रक्रियामा मिलेमतो गरी भ्रष्टाचार गरेको अभियोगमा उनीहरूविरुद्ध १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ बिगो मागदाबी गरिएको छ ।
आयोगले सदस्य सचिव डा. थापाका साथै तत्कालीन सदस्यसचिव एवं हाल परिषद् सदस्य राजुकुमार खत्री, तत्कालीन कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा, उपनिर्देशक रेवतीरमण अधिकारी, इन्जिनियर पशुपति ठाकुर, निमित्त उपनिर्देशक सीताराम रिसेल, इन्जिनियर पशुपति ठाकुर, इन्जिनियर डेनिस उप्रेती, कोषका लेखा अधिकृत चन्द्रप्रसाद खनाल, पुल्चोक क्याम्पस, इलेक्ट्रिकल विभाग प्रमुख युवराज अधिकारी, इन्जिनियर रमेश पुरी, कोषका कानूनी सल्लाहकार लैनबहादुर थापालाई प्रतिवादी बनाएको छ।
त्यस्तै, आयोगले म्याप इन्टरप्राइजेजका साथै सञ्चालकहरू मनोज पुरी र यदुनन्दन भट्टराई तथा एप्पल इन्जिनियरिङ प्रोफेसनल कन्सलटेन्सी प्रालि र यसका सञ्चालक सुरज चापागाईंलाई पनि प्रतिबादी बनाएको छ ।