
भारत र इङ्ल्यान्डबीच लिड्समा पहिलो टेस्ट क्रिकेट जारी छ । पहिलो टेस्टको तेस्रो दिनको खेल समाप्त हुँदासम्म भ्रमणकारी टोली भारतले ९६ रनको अग्रता लिएको छ । इङ्ल्यान्ड पहिलो पालीमा चार सय ६५ रनमा अलआउट भएको थियो । तेस्रो दिनको खेल सकिँदासम्म भारतीय टोली दोस्रो पालीमा दुई विकेट गुमाएर ९० रन बनाउँदै क्रिजमा छ । पहिलो पालीमा भने भारतीय टोलीले चार सय ७१ रन बनाएको थियो । पहिलो पालीमा इङ्ल्यान्डको टोली भारतसँग ६ रनले पछि परेको थियो ।
तेस्रो दिनको खेलका क्रममा एउटा रमाइलो घटना देखिएको थियो । भारतविरुद्धको खेलमा इङ्ल्यान्डको तर्फबाट टोलीमै नरहेका एक खेलाडी फिल्डिङ गर्न मैदानमा ओर्लिएका थिए । टोलीमै नरहेका यी खेलाडीलाई मैदानमा देखेर धेरै समर्थक अन्योलमा परेका थिए ।
संयोगले ती खेलाडी भारतीयमूलकै हुन् । बेन स्टोक्सको स्थानमा इङ्ल्यान्डले यश वागडियालाई फिल्डिङका लागि मैदानमा ओरालेको थियो । इङ्ल्यान्डमै जन्मिएका यश योर्कशायरको तर्फबाट काउन्टी क्रिकेट खेल्छन् । उनको परिवार भारतको गुजरातबाट इङ्ल्यान्डमा बसाइ सरेको हो ।
यश दायाँहाते ब्याट्सम्यान हुन् । उनी अफ–स्पिन बलिङ पनि गर्छन् । उनले इङ्ल्यान्डको राष्ट्रिय टोलीबाट हालसम्म ‘डेब्यू’ गरेका छैनन् । तर, यसअघि पनि अन्तर्राष्ट्रिय खेलमा फिल्डिङ भने धेरैपटक गरिसकेका छन् ।
इङ्ल्यान्डले काउन्टी क्रिकेट खेलिरहेका प्रतिभाशाली खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा फिल्डिङका लागि मौका दिने गरेको छ । यसले नयाँ खेलाडीको आत्मविश्वास बढाउन मद्दत गर्छ ।