०३ साउन २०८३, आइतबार

सहयोग माग्न रूस पुगेका इरानी विदेशमन्त्रीलाई पुटिनले भने- अमेरिकी आक्रमणको औचित्य छैन

असार ९, २०८२
काठमाडौं
सहयोग माग्न रूस पुगेका इरानी विदेशमन्त्रीलाई पुटिनले भने- अमेरिकी आक्रमणको औचित्य छैन

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार इरानी विदेशमन्त्री अब्बास अराघ्चीलाई भेट गर्दै अमेरिकाले इरानमाथि गरेको बमबारीको कुनै औचित्य नरहेको बताएका छन् । साथै, उनले मस्को इरानी जनतालाई सहयोग गर्न प्रयासरत रहेको बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी बमवर्षक विमानमार्फत् इरानका तीन मुख्य आणविक स्थलमा आक्रमण गरेको दुई दिनपछि पुटिनले अराघ्चीलाई क्रेमलिनमा स्वागत गरेका थिए ।

टेलिभिजनमार्फत् प्रसारण गरिएको भेटमा पुटिनले भने, ‘इरानमाथि गरिएको यो उक्साहटपूर्ण आक्रमणको न कुनै आधार छ, न कुनै औचित्य नै छ ।’

उनले थपे, ‘हाम्रो तर्फबाट हामी इरानी जनतालाई सहायता पुर्‍याउने प्रयास गरिरहेका छौं । म खुसी छु कि तपाईं आज मस्कोमा हुनुहुन्छ । यसले हामीलाई यी गम्भीर विषयबारे छलफल गर्ने र हालको परिस्थिति कसरी समाधान गर्न सकिन्छ भन्नेबारे संयुक्त रूपमा सोच्ने अवसर दिएको छ ।’

इरानी विदेशमन्त्री अराघ्चीले पुटिनलाई इरान अहिले वैध आत्मरक्षामा रहेको बताउँदै अमेरिका विरोधी बयान दिएकोमा रूसलाई धन्यवाद दिएका थिए । उनले इरानका सर्वोच्च नेता र राष्ट्रपति तर्फबाट पुटिनलाई शुभकामना पनि दिएका थिए ।

अराघ्चीले भने, ‘आजको दिनमा रूस इतिहास र अन्तर्राष्ट्रिय कानूनको सही पक्षमा उभिएको छ ।’ तर, पुटिन नेतृत्वको रूसले इरानलाई कस्तो प्रकारले समर्थन गर्ने भन्ने विषय भने अझै स्पष्ट छैन । रूस र इरानबीच गत जनवरीमा हस्ताक्षर भएको रणनीतिक सहकार्य सम्झौतामा पारस्परिक रक्षाको प्रावधान छैन ।

शनिबारको अमेरिकी आक्रमणअघि नै रूसले चेतावनी दिँदै अमेरिकी सैन्य हस्तक्षेपले सम्पूर्ण क्षेत्रलाई अस्थिर पार्न सक्ने र यसले मध्यपूर्वलाई ‘अन्धकारको खाडलमा’ पुर्‍याउने बताएको थियो ।

रूस इरानलाई कस्तो सहायता गर्न तयार छ भन्ने प्रश्नमा क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, ‘सबै कुरा इरानलाई के आवश्यक छ भन्नेमा निर्भर गर्छ ।’

उनका अनुसार हाल मस्कोले संकट समाधानका लागि मध्यस्थता प्रस्ताव गर्नु नै एक प्रकारको समर्थन हो ।

पेस्कोभले अमेरिकी आक्रमणको कडा आलोचना गरे । उनले भने, ‘यस संघर्षमा संलग्न पक्षहरूको संख्या पहिले नै बढिसकेको छ । यस क्षेत्रमा तनाबको नयाँ चक्र शुरू भइसकेको छ ।’

उनले थपे, ‘हामी यसलाई स्पष्ट रूपमा भर्त्सना गर्छौं र यसप्रति गहिरो खेद प्रकट गर्छौं । साथै, अहिले सबैभन्दा महत्त्वपूर्ण कुरा इरानका आणविक संरचनामा के क्षति भयो र त्यहाँ कुनै रेडियसनको खतरा छ कि छैन भन्ने हो ।’

पेस्कोभका अनुसार इरानमाथिको आक्रमणअघि ट्रम्पले पुटिनलाई विस्तृत जानकारी दिएका थिएनन् । उनले भने, ‘इरानसम्बन्धी विषयहरू दुवै राष्ट्रपतिबीच पछिल्ला संवादमा पटक–पटक उठेका थिए । रूसले केही प्रस्ताव पनि राखेको थियो । तर, यो आक्रमणबारे सीधा र विस्तृत जानकारी भने दिइएको थिएन ।’

salt training

कमेन्ट गर्नुहोस्