
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबीच युद्धविरामको सहमति भएको दाबी गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथमा दुई देशबीच युद्धविराम सहमति भएको घोषणा गरेका हुन् ।
'म यो घोषणा गर्न पाउँदा खुसी छु कि इजरायल र इरानबीच पूर्ण युद्धविराम लागू हुनेछ। इरानले पहिलो १२ घण्टाको लागि आफ्नो हतियार राख्नेछ र इजरायलले अर्को १२ घण्टाको लागि आफ्नो हतियार राख्नेछ।'
१२ दिनको युद्ध अन्त्य गर्न मद्दत गर्ने दुवै देशका नेताहरूलाई उनले धन्यवाद दिएका छन् । 'यो धेरै वर्षसम्म चल्न सक्थ्यो र पहिले कहिल्यै नदेखिएको मृत्यु र विनाश ल्याउन सक्थ्यो,' उनले लेखेका छन्, 'मध्य पूर्वमा शान्ति चाहने प्रधानमन्त्री नेतान्याहू, इजरायल र इरानका जनतालाई बधाई छ। यो संसारको लागि एक महान दिन हो !'

ट्रम्पको घोषणापछि फक्स न्यूजसँगको अन्तर्वार्तामा बोल्दै उपराष्ट्रपति जेडी भान्सले ट्रम्पले सम्झौता अन्तिम विन्दुसम्म पुर्याएको भन्दै प्रशंसा गरेका छन् । 'हामीले त्यसमा काम गरिरहेका थियौँ र यो राम्रो समाचार हो । राष्ट्रपतिले त्यसलाई अन्तिम बिन्दुसम्म पुर्याउन सफल भए,' भान्सले भने ।
यद्यपि, इरान र इजरायलले युद्धविरामबारे अहिलेसम्म कुनै आधिकारिक बयान दिएका छैनन् । न्यूयोर्क टाइम्सका अनुसार, इजरायली सेनाका प्रवक्ताले युद्धविरामसम्बन्धी ट्रम्पको भनाइमा केही बोल्न अस्वीकार गरे।
ट्रम्पको घोषणाको केही घण्टाअघि इरानले कतारमा रहेको अमेरिकी अल-उदेइद हवाई सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार गरेको थियो ।