२८ असार २०८३, आइतबार
इरान-इजरायल संघर्ष नयाँ मोडमा

अमेरिकी सैन्य अड्डामा आक्रमणपछि इरान–इजरायल युद्धविराम सहमति !

असार १०, २०८२
काठमाडौं
अमेरिकी सैन्य अड्डामा आक्रमणपछि इरान–इजरायल युद्धविराम सहमति !

इरानले कतारको दोहामा रहेको अमेरिकी एयरबेसमा मिसाइल आक्रमण गरेसँगै इरान-इजरायल संघर्षले नयाँ मोड लिएको छ । इरानले दोहास्थित अमेरिकी अड्डामा आक्रमण गरेको केही समयपछि इरान-इजरायल युद्धविराम सहमति भएको विवरणहरू आएका हुन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायल पूर्ण युद्धविरामका लागि सहमत भएको दाबी गरेका छन् । जसले मध्यपूर्वको विस्तारित संघर्ष तत्कालको लागि अन्त्य हुने संकेत देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । 

इरानले आक्रमण रोक्ने सर्तमा युद्धविराम गर्न सहमत इजरायल भएको ह्वाइट हाउसका अधिकारीले बताएका छन् । इरानले आफ्नो देशमा आक्रमण रोक्ने सर्तमा युद्धविराम सम्झौतामा इजरायल सहमत भएको ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ । 

वार्ताको क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग प्रत्यक्ष कुराकानी गरेका थिए भने उपराष्ट्रपति जेडी भान्स, विदेशमन्त्री तथा राष्ट्रिय सुरक्षा सल्लाहकार मार्को रुबियो र विशेष दूत स्टिभ विटकफले इरानीहरूसँग प्रत्यक्ष र अप्रत्यक्ष माध्यमबाट सर्तहरू वार्ता गरेका थिए।

ट्रम्पले कतारका अमीर तमिम बिन हमद बिन खलिफा अल थानीसँग पनि प्रत्यक्ष कुराकानी गरेका थिए, जसको क्रममा उनले युद्धविराम सम्झौताको मध्यस्थतामा सहयोग गरेकोमा धन्यवाद दिएका थिए ।

कतारको मध्यस्थतामा भएको वार्तापछि इरान अमेरिकाले प्रस्ताव गरेको युद्धविराममा सहमत भएको कूटनीतिज्ञले बताएको समाचारमा उल्लेख छ । 

तर, इजरायली वा इरानी सरकारहरूले अहिलेसम्म आधिकारिरूपमा युद्धविराममा आफ्नो सम्झौता पुष्टि गरेका छैनन् ।

यसअघि इरानले कतारको अल-उदीद एयरबेस मध्यपूर्वमा रहेको अमेरिकाको सबैभन्दा ठूलो सैन्य अड्डामा मिसाइल आक्रमण गरेको थियो ।

जहाँ करिब ८,००० देखि १०,००० अमेरिकी सैनिक तैनाथ छन् । यो एयरबेस अमेरिकी सेनाको सेन्ट्रल कमान्ड अन्तर्गतको हवाई अभियानहरूको मुख्यालय हो ।

इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आइआरजीसी)सँग सम्बद्ध इरानको फार्स समाचार एजेन्सीले एक स्रोतलाई उद्धृत गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा पूर्ण रूपमा झूटो भएको दाबी गरेको बीबीसीले जनाएको छ । 

नाम नखुलाइएको स्रोतले फार्सलाई भनेको छ कि इरानले कुनै औपचारिक वा अनौपचारिक युद्धविराम प्रस्ताव प्राप्त गरेको छैन र इरानले चाँडै नै इजरायललाई घोषणा झूटो भएको देखाउनेछ।'

दोहामा रहेको आफ्नो अड्डामा इरानी आक्रमणपछि अमेरिकाले अपमानबाट जनताको ध्यान विचलित गर्न युद्धविरामको हल्ला चलाएको स्रोतको दाबी छ ।

salt training

कमेन्ट गर्नुहोस्